कारोबार


अर्थमन्त्रीको अनौठो तरिका : सबै समस्या मै ठीक गर्छु भन्छन्, दोष जति राष्ट्र बैंकलाई दिन्छन्

अर्थमन्त्रीको अनौठो तरिका : सबै समस्या मै ठीक गर्छु भन्छन्, दोष जति राष्ट्र बैंकलाई दिन्छन्

दीपक भट्ट
भदौ २७, २०८० बुधबार २१:२६, काठमाडौँ

चैत १७ गते अर्थ मन्त्रालयको कार्यभार सम्हालेयता अर्थमन्त्री प्रकाशशरण महत सबै समस्या सल्टाउँछु भनिरहेका छन्। समस्या समाधान गराउँछु भनेर लागेको दाबी उनले गरिरहे पनि अर्थतन्त्रले लय भने समात्न सकिरहेको छैन।

अर्थतन्त्र तंग्रिन लागेको संकेत कुनै पनि सूचकले दिएका छैनन्। मुख्य चाडबाड सुरु भैसकेको छ। तर पनि चहलपहल नभएको भन्दै उद्योगी, व्यापारीदेखि सम्पूर्ण आर्थिक क्षेत्र चिन्तित देखिन्छ। 

अर्थमन्त्री हरेक भाषणमा हरेक समस्या समाधान हुन्छ भन्न भ्याउँछन्। अब त समस्या समेत नरहेको उनले बताउन थालेका छन्। 

बजेट सार्वजनिक भएको मिति अर्थात् जेठ १५ पछिको हरेक भाषणमा अर्थमन्त्रीको मुखबाट यी विषयहरु निस्किरहेको छ। 

उनी अर्थमन्त्री भएको ५ महिना पूरा भयो। बजेट कार्यान्वयनमा आएको समेत करिब २ महिना बितिसक्यो। 

अर्थतन्त्र चलायमान भए/नभएको प्रमुख संकेत देखिने राजस्व संकलन गत वर्षजत्तिको पनि देखिँदैन। 

चालू आर्थिक वर्षमा अहिलेसम्म अहिले १ खर्ब ३३ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ।

तर गत आर्थिक वर्षको २ महिना अर्थात् यही अवधिमा १ खर्ब ३५ अर्ब रुपैयाँ संकलन भएको थियो। राजस्व संकलन गत आर्थिक वर्षको तुलनामा २ अर्ब पछि छ। गत आर्थिक वर्ष नकारात्मक इतिहास रचेको वर्ष हो। हरेक वर्ष राजस्व संकलन बढोत्तरी हुनेगरेकोमा अघिल्लो वर्षको तुलनामा गत वर्षको राजस्व घट्यो।

यो वर्षको संकलन त गत वर्षको भन्दा पनि निराशजनक हुने देखिन थालेको छ। 

तर अर्थतन्त्रको बागडोर सम्हालेका अर्थमन्त्री महतले जसले जे प्रसंग उठाए पनि समस्या समाधान गरिदिने आश्वासन दिइरहेका छन्। 

यो तरिका सबैभन्दा गलत भएको अर्थविद् तथा पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्री बताउँछन्। 

‘बाहिर सडकमा जे विषय उठ्छ, त्यसलाई छुमन्तर गरिदिन्छु भन्ने नेतृत्वले गर्दा अर्थतन्त्रमा धेरै कुराहरु बिग्रिएको देखिन्छ,’ उनले भने, ‘त्यो सबैभन्दा गलत नीति हो।’

‘अर्थ मन्त्रालयमा बस्नेले यो पनि गर्दिन्छौँ, त्यो पनि गर्दिन्छौँ भनिरहेको देखिन्छ। उनीहरुले सबैलाई जे पनि दिन सक्छन् जसरी बोलिरहेको देखिन्छ। त्यो गलत हो,’ क्षेत्री भन्छन्, ‘मेरो यस्तो समस्या पर्यो भनेर बोल्न नभ्याउँदै त्यसको समाधान भैहल्छ भन्न भएन। त्यसको फाइदा लिनेले लिइरहेका पनि छन्। तर समग्र अर्थतन्त्रमा कुनै फाइदा भएको छैन।’

गर्न सकिनेजति काम मात्र गर्छु भन्नुपर्ने उनको भनाइ छ। निजी क्षेत्रले धेरै आशा गरेर पर्खिरहेको देखिएको उनले बताए।

निर्वाचनयता अर्थ मन्त्रालय सम्हाल्ने महत दोस्रो मन्त्री हुन्। गत वर्ष निर्वाचन पछि नयाँ सरकार गठन भयो। नेकपा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन भयो। प्रमुख सत्ता साझेदार दल एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री बने।

पौडेलले मौद्रिक नीतिको नेतृत्व गर्ने नियामक निकाय नेपाल राष्ट्रबैंकसँग केही समन्वयात्मक भूमिका खेलेका थिए। अहिले त्यसको समेत कमी देखिएको छ। अर्थमन्त्री महत स्वयंले यसबारे विभिन्न टिप्पणी गरिरहेका छन्।

उनी समस्या छ भन्नेलाई समाधान भैहाल्छ भन्छन्। तर, दोष भने राष्ट्रबैंकतिर पन्छाइदिन्छन्।

बुधबार मात्रै अर्थ मन्त्रालयमै एक पत्रकार समूहसँगको भेटमा उनले विगतमा ब्याजदर घटेका बेला विचार गरेर लगानी नगर्दा अहिले अर्थतन्त्रमा समस्या आएको बताए।

उनले भने, ‘नेपाल राष्ट्र बैंकले माइक्रो लेबलमा यो गर, त्यो गर, यहाँ योभन्दा बढी गर्न पाउँदैनौं भन्दा पुँजीको मोबिलिटी हुन पाएको छैन। म यो क्षेत्रको सट्टा यहाँ गर्छु भन्न नसक्ने स्थिति छ। त्यसले निजी क्षेत्र हच्किएको छ।’ 

अर्थतन्त्र बिग्रनुको जिम्बेवार राष्ट्र बैंक रहको उनको भनाइ छ। मंगलबार नाडा अटो शोको उद्घाटन समारोहमा समेत अर्थतन्त्र बिग्रनुमा राष्ट्र बैंक दोषी रहेको बताएका थिए। उनले राष्ट्र बैंकको सूक्ष्म नियन्त्रणले नेपाली अर्थतन्त्रमा समस्या देखिएको बताएका थिए।

उनले भनेका थिए, ‘बैंकहरूमा प्रशस्त मात्रामा लगानीयोग्य रकम छ तर नियामकको नियन्त्रणका कारण लगानी हुन सकेन। जसको असर समग्र अर्थतन्त्रमा देखा परेको छ। नियामकले नियन्त्रण गर्नेभन्दा पनि नियमन गरेर बाँकी कहाँ र कति लगानी गर्ने भन्ने कुरा बैंकहरूलाई छाड्नुपर्छ। नियामक निकायको माइक्रोम्यानेजमेन्टले बैंकिङ क्षेत्रमा केही समस्या देखा परेको छ।’ 

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल भने नियमनकारी निकाय राष्ट्र बैंकले मौद्रिक नीति र सरकारले बजेटमा निजी क्षेत्रको माग सम्बोधन गर्न नसक्दा अर्थतन्त्रमा प्रभाव परेको बताउँछन्। 

उनी भन्छन्, ‘सरकारले उद्योगी, व्यवसायी र जनतालाई सकारात्मक बनाउने गरी नीति नल्याएसम्म अर्थतन्त्रमा समस्या समाधान हुँदैन।’

अर्थसचिव अर्जुनप्रसाद पोखरेलले समस्या देखाउने मात्रै धेरै भएको समाधान कसैले नदेखाएको बताए।

‘अर्थतन्त्र चलायन हुन सकेन भन्नेहरु धेरै छन्, माग राख्नेहरु धेरै छन् तर समाधान बताउँने कोही छैनन्,’ उनी भन्छन्, ‘त्यसको अपेक्षा अर्थ मन्त्रालयले गरेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .