कारोबार


शाकाहारी परिकार बेचेरै अर्बको कारोबार

शाकाहारी परिकार बेचेरै अर्बको कारोबार

सम्झना घिमिरे
साउन १३, २०८० शनिबार ६:५५, काठमाडौँ

काठमाडौँमा शाकाहारी रेन्टुरेन्ट चल्ला र? शाकाहारीलाई खुवाएर कति कमाउने? ४ वर्ष अघिसम्म महेन्द्रनगरका दीपक बोहोरा हरेक दिन प्रश्नहरु आउँथे। 

हस्पिटालिटी क्षेत्रमा स्नातक गरेका उनी चारतारे होटल भिभान्तामा कार्यरत थिए। ठूलो होटल ठूलै तलब। 

होटलमा रक्सी र मासु खाने ग्राहकले नै सर्वाधिक खर्च गर्ने गर्थे। अझ पार्टी, सेमिनार हुँदा मासुजन्य परिकार र मदिरा छ भने बढी खर्च हुन्थ्यो। 

दीपकले भनेजस्तै उपत्यकाका आम होटल व्यवसायीलाई सोध्ने हो भने शाकाहारी मात्रै बेचेर व्यापार गर्न उति सम्भव नहुने तर्क सुनिन्छ। त्यही भएर हुनसक्छ, शाकाहारी रेस्टुरेन्ट खोल्न खोज्दै गर्दा दीपकले यति धेरै प्रश्न सामना गर्नुपरेको थियो।

‘शाकाहारी मात्रै परिकार बेचेर व्यवसाय गर्न सकिन्छ कि सकिँदैन, मलाई अन्यौल नै थियो,’ उनी सुनाउँछन्। 

आफू शाकाहारी भए पनि मासुका थरीथरी परिकार पकाउनदेखि व्यवस्थापनमा समेत उनी खप्पिस छन्।  बौद्धमा रहेका ह्वाइट गुम्बाका गुरु केन्चेन यापी रिम्पोचेलाई भेटेपछि व्यावसायिक बाटो नै मोडिएको उनको भनाइ छ।

रिम्पोछे चाहन्थे, बौद्ध पर्यटकीय मात्रै नभई धार्मिक क्षेत्र पनि भएकाले यहाँ यहाँ धार्मिक आस्था बोकेर आउने तीर्थालु र बौद्ध धर्म शिक्षा लिन आउने विद्यार्थीले शाकाहारी भोजन गर्न पाऊन्।

‘यहाँका विद्यार्थीहरु सात्विक खानाको खोजी गर्दै भौँतारिएको ठिक लागेन। त्यसपछि हामीले सात्विक खाना खुवाउने गरी क्यान्टिन सुरु गरेका थियौँ,’ उनी भन्छन्।  

सन् २०१८ मा उनै रिम्पोछेले शाकाहारी परिकार सहितको क्याफे खोले। नाम थियो उत्पाला क्याफे। अर्थात नीलकमल। 

नीलकमल बौद्ध धर्ममा शुद्धताको प्रतीक मानिन्छ। शाकाहारी भोजनले पनि शरीरलाई शुद्ध पार्ने विश्वास गरिन्छ। त्यसैले रिम्पोछेले शुद्ध आहारा खुवाउन नीरकमलकै सहायता लिए। 

त्यही उत्पाला हाल दीपकले सञ्चालन गरिरहेका छन्। प्रबन्ध निर्देशक रहेका उनी संस्थापक भने होइनन्। उत्पाला पूर्ण रुपमा गुम्बाबाट सञ्चालित क्याफे हो। गुम्बा र काठमाडौँ विश्वविद्यालय अन्तर्गतको आईबीए (इन्टरनेसनल बुद्धिस्ट कलेज) का लागि निर्मित क्यान्टिनलाई दीपकले व्यावसायिक मोडलमा लगेका हुन्। 

जहाँ दैनिक २ सयभन्दा बढी ग्राहकहरु आइरहेका छन्।

तीन सय शाकाहारी परिकार
स्थापनाको ६ वर्षमा उत्पाला बौद्ध धर्मावलम्बी वा पर्यटक मात्रै नभएर स्थानीय बासिन्दामा पनि चर्चित भइसकेको छ। आधा दशकको अनुभवबाट उत्पालाले तीन सय प्रकारका शाकाहारी परिकार तथा पेय पदार्थ ग्राहकलाई पस्कँदै आएको छ। 

शाकाहारी परिकारमा पनि मासुका परिकारको स्वाद दुरुस्तै निकालिने हुनाले यहाँको क्याफे अन्यभन्दा फरक मान्छन् क्याफेमा आइपुग्ने ग्राहक।  

अनिला मास्के क्याफेकी नियमित ग्राहक हुन्। जन्मजात माछामासु नखाएकी उनी वनस्पतिबाटै पनि मिठो र स्वस्थ खानेखुरा पाइने हुँदा नियमित यहाँ आउने बताउँछिन्। त्यही भएर दुई वर्षदेखि उनी आइरहन्छिन्।

त्यसो त क्याफेको लोकप्रिय परिकारमा बुफे र भेगन मिट पर्ने बताउँछन् दीपक। 

‘विश्वमा भेजिटेरियनबाट भेगन बन्ने ट्रेन्ड मौलाउँदै गएको छ। हामीकहाँ भेगन अर्थात दूध दही, मह लगायतका वस्तु समेतको प्रयोग नगरि शुद्ध वनस्पतीबाट मात्रै बनेको परिकारको माग बढ्न थालेको छ,’ दीपक भन्छन्।

दीपक शाकाहारी रेस्टुरेन्टलाई पूर्ण रुपमा भेगन बनाउने सोचमा पनि छन्। 

‘सम्भवतः हामी आउदो एकदुई महिनाभित्रै भेगनमा लैजाँदै छौँ,’ उनले भने। 

उत्पालामा बन्ने सम्पूर्ण परिकार अर्गानिक उत्पादनबाट बन्ने गर्छन्। उत्पालामै हरेक शनिबार अर्गानिक हाटबजार लाग्ने हुँदा स्थानीय किसानबाटै ती उत्पादन खरिद गर्ने दीपक बताउँछन्। यससँगै ‘ओजोन प्युरिफाइ’ गरिने हुँदा शतप्रतिशत विषादीरहित परिकार पाइने दीपक बताउँछन्। 

सस्तो मूल्य, शान्त वातावरण 
७ रोपनी जग्गामा फैलिएको उत्पाला क्याफेमा गीतसंगीत बजाइँदैन। ध्वनि प्रदुषण नहोस् र शान्त वातावरण कायम रहोस् भनेर यसो गरिएको दीपक बताउँछन्। समयसमयमा ध्यान कार्यक्रम आयोजना गर्दै आएको उत्पालालेशसान्त वातावरणमा बसेर शाकाहारी खान चाहनेहरुलाई विशेष प्रथामिकतामा राख्दै आएको छ। 

मदिरा सहित कुनै पनि प्रकारका कोल्डड्रिंक्स प्रयोग नगरिने यस क्याफेमा ४० भन्दा धेरै पेय पदार्थ उपलब्ध छन्। जुन क्याफे आफैँले उत्पादन गर्दै आएको छ।  

गुम्बा अन्तर्गत सञ्चालित भएकै कारण पनि उत्पाला अन्य क्याफेका तुलनामा सस्तो छ। 

‘सस्तो मूल्य र सहज वातावरणमा गुणस्तरीय खानेकुरा खुवाउने गर्छौँ,’ उनले भने। 

अर्बमा कारोबार 
बाह्रै महिना ग्राहकको उपस्थिति उस्तै रहने उत्पाला क्याफेमा अधिकांश ग्राहक नियमित आइरहन्छन्। बौद्ध धर्म अध्ययनका लागि आउने विद्यार्थी, दर्शनार्थी र स्थानीयहरु क्याफेका ग्राहक हुन्। 

‘शुरुमा शाकाहारी खानाका लागि बौद्ध धर्मावलम्बी र विदेशीहरु मात्रै फाट्टफुट्ट आउने गर्थे तर अहिले ग्राहकहरुमा परिवर्तन आएको छ। अधिकांश नेपालीहरु शाकाहारी मात्र नभएर भेगन परिकार खोज्दै आइपुग्ने क्रम बढेको छ,’ उनले भने। 

दीपकका अनुसार उत्पालाले मासिक ८० लाखको कारोबार गर्दै आएको छ। पार्टी भेन्यु र रेस्टुरेन्ट गरेर कुल वार्षिक कारोबार भने अर्बमाथि छ। गत आर्थिक वर्षमा मात्रै उत्पालाले ९६ करोड रुपैयाँको कारोबार गरेको हो। 

यस क्याफेको भौतिक संरचनामा मात्रै करिब २ करोड रुपैयाँ लगानी गरिएको छ। उत्पालाले अहिले रेस्टुरेन्ट मात्रै नभएर गेस्ट हाउस, ट्राभल एजेन्सी, उत्पाला भिलेज र उत्पाला रिट्रिट लगायतका ९ वटा व्यवसायको सञ्चालन गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .