ad ad

कारोबार


नयाँ हवाई रूटबारे बोल्नै चाहेनन् मोदी, भएन सम्झौता

भैरहवा र पोखरा जान सिमराबाटै घुम्नुपर्ने बाध्यता यथावत
नयाँ हवाई रूटबारे बोल्नै चाहेनन् मोदी, भएन सम्झौता

वसन्त अर्याल
जेठ १८, २०८० बिहिबार १६:१८, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा नयाँ हवाई प्रवेश बिन्दुबारे सहमति हुन सकेन। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री दाहालबीच हवाई मार्गको विषयमा छलफल भए पनि सम्झौता हुन नसकेको हो। 

नेपालमा बनेका २ नयाँ विमानस्थलमा नियमित उडानका लागि नयाँ हवाई प्रवेश बिन्दु अनिवार्य जस्तै भएको छ। नेपालले सन् २०१० यता बारम्बार थप हवाई प्रवेशबिन्दु माग गरेपनि भारतले विभिन्न कारण देखाउँदै पछि हट्दै आएको छ। 

प्रधानमन्त्री दाहालले भ्रमणअघि नयाँ हवाई रूट दिने विषयमा भारत सकारात्मक भएको बताएका थिए। तर, बिहीबार मोदीसँग विभिन्न ७ बुँदे नयाँ सम्झौता भए पनि हवाई प्रवेश रुटको विषयमा भने सम्झौता हुन सकेन। 

छलफलपछि दुई देशका प्रधानमन्त्रीले गरेको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हवाई रूटको विषयमा एक शब्द पनि उच्चारण गरेनन्। मोदीले क्रसबोर्डर रेल, पुलको विषय भने आफ्नो सम्बोधनमा उल्लेख गरे। 

‘नेपाल र भारतको बोर्डर हाम्रो सम्बन्धमा अवरोध नबनुन्,’ ९ वर्षअघि  नेपाल भम्रणको सम्झना गर्दै मोदीले भने,‘अहिले पारवहन सम्झौता गर्दै फिजिकल कनेक्टिभीटी बढाउने निर्णय गरेका छौं।’

भौतिक र डिजिटल कनेक्टिभीटीको विषयमा बोलेका मोदी एयर कनेक्टिभीटीको विषयमा बोल्न नचाहेका हुन्। 

नेपालका प्रधानमन्त्री दाहालले भने हवाई रूटको विषयमा छलफल भएको संयुक्त पत्रकार सम्मेलनमार्फत नै बताए। भारतसँग थप हवाई रूट माग गरेको विषयमा छलफल भएको प्रधानमन्त्रीको भनाई छ। 

‘दुई देशबीच उडानको लागि भारत हवाई रूट दिने विषयमा सकारात्मक रहेको छ।

यसले एटीआर जहाज उडानका लागि सम्भव बनाउँछ,’ प्रधानमन्त्री दाहालले भने, ‘हामीले भारतसँग हाई अल्टिच्यूड उडानका लागि महेन्द्रनगरबाट अनुमति माग गरेका छौं।’

त्यस्तै, भारतका विदेशमा सचिव विनय क्वत्राले हवाई रुटको विषयमा दुई प्रधानमन्त्रीबीच छलफल भएको बताउँदै नेपाल र भारतका प्राविधिकले थप छलफल गरी निर्णयको लागि पठाउने बताए।

उनले भारतीय एयरफोर्सका केही विषय रहेकाले हवाई विज्ञबीच छलफल आवश्यक भएको बताए।

दुई देशबीच उडान गर्न सहयोग पुग्ने रुट दिन भारत सकरात्मक भए पनि अन्तर्राष्ट्रिय उडानका लागि तयार भएको छैन। नेपालले अन्तर्राष्ट्रिय उडानलाई सहज हुने करिब ३० हजार फिटबाट हवाई मार्गको माग गर्दै आएको छ। 

२०७५ असारमा भारतले नेपाललाई थप ४ हवाई रूट दिने सहमतिमा हस्ताक्षर गरेको थियो। महेन्द्रनगर, नेपालगञ्ज, विराटनगर र जनकपुरबाट नेपालमा प्रवेश बिन्दु दिने सहमति भएको थियो। सहमतिअनुसार नेपालले  चारवटै प्रस्तावित रूटको डिजाइन, अध्ययन तथा मूल्यांकनको रिपोर्ट भारतीय पक्षलाई बुझाउन सहमति थियो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा नेपाल भ्रमणमा आएका मोदीले नेपाललाई थप हवाई रूट दिन प्राविधिक तहलाई निर्देशन दिने सहमति गरेका थिए। राम्रोसँग अध्ययन नहुँदै सम्झौताको ३ महिनापछि पश्चिम क्षेत्रबाट हवाई रुट दिने सहमतिबाट पछि हट्यो।

नेपालगञ्जमाथि आर्मी ब्यारेक रहेको र महेन्द्रनगर व्यस्त रुट रहेका कारण देखाउँदै आएको छ।

अघिल्लो हप्तामात्रै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका हवाई महाशाखा प्रमुख बुद्धिसागर लामिछाने, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहितका टोली भारतीय उड्यन अधिकारीसँग हवाई प्रवेशबिन्दुबारे छलफल गरे पनि बिनानिष्कर्ष नेपाल फर्किएका थिए।

उड्डयन मन्त्रालयका अधिकारीले दुई देशका प्रधानमन्त्रीबीच छलफलपछि केही सहमति हुन सक्नेमा आशावादी रहेका थिए।

हाल नेपालमा प्रवेश पाउने जहाज सिमरा बिन्दुबाट मात्रै आउने गरेका छन्। नेपालको पश्चिम भागमा पर्ने भैरहवा र पोखरा विमानस्थलमा उडान भर्दा पूर्वमा रहेको सिमारा घुमेरै पश्चिम जानुपर्ने बाध्यता छ। 

भारतको दिल्ली तथा पश्चिम देशबाट आउजे जहाजलाई महेन्द्रनगर वा नेपालगञ्जबाट प्रवेश गर्ने अनुमति पाए सिमरा घुम्नुपर्ने बाध्यता हट्ने बताउँदै आएको छ।

दाहालको भारत भ्रमणमा कम्तिमा पनि महेन्द्रनगर हवाई प्रवेशबिन्दु पाउनु पर्ने विषय उठाएको थियो। तर सम्झौता नै हुन सकेन। 

पछिल्लो १ वर्षमा २ वटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपनि अन्तर्राष्ट्रिय उडान भने हुन सकेका छैनन्। भैरहवाबाट जजिरा एयरवेजले नियमित उडान गर्ने भनेपनि हुन सकेको छैन।

त्यस्तै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एयरले भारतमा नियमित उडान गर्ने प्रस्ताव गरेको छ। अहिलेसम्म उडान अनुमती पाएको छ। 

भारतले नेपालमा थप हवाई प्रवेशबिन्दु दिन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड हेन्डिलिङमा समेत अनौपचारिक रुपमा चसो राख्न थालेको छ। भारतले भैरहवा विमानस्थल चिनियाँ ठेकेदारले बनाएकोमा र पोखरा विमानस्थल चिनियाँ ऋण सहयोगमा बनेकोमा असन्तुष्टी जनाउँदै आएको छ।

नेपालले अन्तर्राष्ट्रिय अधिकार माग गर्दापनि भारत हवाई प्रवेशबिन्दुको सम्झौता गर्न अझै तयार छैन। छिट्टै हवाई प्रवेश विन्दु पाउनेमा आशावादी  प्रधानमन्त्री दाहालले नयाँ बनेका भैरहवा र पोखरा विमानस्थलबाट भारतका विभिन्न शहरमा नियमित उडान गर्न आग्रह गरेका छन्। 

यो पनि पढ्नुहोस्:

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .