ad ad

कारोबार


दर्जन वाणिज्य बैंकको लाभांश वितरण प्रभावित हुने, कर्जा प्रवाहमा पनि समस्या

दर्जन वाणिज्य बैंकको लाभांश वितरण प्रभावित हुने, कर्जा प्रवाहमा पनि समस्या

फाइल तस्बिर


केशर बोगटी
जेठ १८, २०८० बिहिबार १०:४२, काठमाडौँ

चालु आर्थिक वर्ष २०७९/८० को चैत मसान्तमा एक दर्जन वाणिज्य बैंकको प्राथमिक पुँजी अनुपात (सीसीएआर) १० प्रतिशतभन्दा कम देखिएको छ। 

यसले उनीहरूको लाभांश वितरण प्रभावित हुने देखिएको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको विवरणअनुसार चैत मसान्तमा प्रभु बैंक, एनआईसी एशिया बैंकसहित १२ वाणिज्य बैंकको प्राथमिक पुँजी १० प्रतिशतभन्दा कम छ।

सानिमा बैंक, प्रभु, सनराइज, सिटिजन्स, सिद्धार्थ, लक्ष्मी, कुमारी, माछापुच्छ्रे, एनआईसी एसिया, नेपाल एसबीआई र हिमालयन बैंक पनि यो सूचीमा छन्। 

राष्ट्र बैंकले बैंकहरूको सबै प्रकारका पुँजी र विश्लेषणका आधारमा प्राथमिक पुँजीको गणना गर्दै आएको छ। 

पुँजी कोषलाई राष्ट्र बैंकले प्राथमिक पुँजी (सीसीएआर) र पूरक पुँजी (सीएआर)लाई गणना गर्ने व्यवस्था छ।

केन्द्रीय बैंकले वाणिज्य बैंकहरूले ८.५ प्रतिशत प्राथमिक पुँजी र २.५ प्रतिशत पूरक पुँजी (क्यापिटल कन्जरभेसन बफर) गरी ११ प्रतिशत पुँजीकोष अनुपात कायम गर्नुपर्ने व्यवस्था गरेको छ। जसअन्तर्गत प्राथमिक पुँजी अनिवार्य व्यवस्था हो।

यस्तो अनुपात बैंकहरूले दैनिक रुपमै कायम गरेर व्यवसाय गर्नुपर्ने हुन्छ। यस्तै मासिक रूपमा राष्ट्र बैंकमा यसको रिपोर्टिङ गर्नुपर्ने हुन्छ।

त्यही व्यवस्थाअनुसार प्राथमिक पुँजी ८.५ प्रतिशत पुर्‍याउन नसकेका बैंकहरूलाई राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाउँदै आइरहेको छ।  

गत वर्षको नाफाबाट एनआईसी एशिया, लक्ष्मी, माछापुच्छ्रे र सनराइज बैंकको लाभांश वितरणमा राष्ट्र बैंकले रोक लगाएको थियो।  

गत वर्ष यी चार बैंकको सीसीएर ८.५ तल आएका कारण लाभांश वितरणमा रोक लगाइएको राष्ट्र बैंकले जनाएको छ।  

कुनै पनि त्रैमासिकसम्म सीसीएआर ८.५ प्रतिशत तल आए सो बैंकलाई राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाउने गरेको छ।

दैनिक तथा मासिक रूपमा पनि तोकिएको पुँजीकोष कायम नगर्ने बैंकहरू राष्ट्र बैंकको सुपरिवेक्षकीय कारबाहीमा समेत पर्ने व्यवस्था छ।

राष्ट्र बैंकको विवरणअनुसार यस वर्ष पनि बैंकहरूको लाभांश वितरणमा असर पर्ने देखिएको छ। गत आर्थिक वर्षमा पनि कतिपय बैंकहरूले प्राथमिक पुँजीको सीमा नभेट्दा लाभांश वितरण गर्न पाएका थिएनन्।

कुनको सीसीएआर कति? 
चैत मसान्तमा औसतमा वाणिज्य बैंकको सीसीएआर १० प्रतिशत छ। पुस मसान्तमा १३ प्रतिशत र असोजमा १३.४५ प्रतिशत थियो। 

२०७९ चैत मसान्तमा एनआईसी एशिया बैंकको सीसीएआर ८.८५ प्रतिशत छ। असोज र पुषको तुलनामा बैंकको सीसीएआर घटेको छ । 

यस्तै, नेपाल राष्ट्र बैंकले गत वर्षको नाफाबाट माछापुच्छ्रे बैंकको लाभांश वितरणमा पनि रोक लाग्ने भएको छ। चैत मुान्तमा माछापुच्छ्रे बैंकको सीसीएआर ८.७० प्रतिशत रहेको छ। 

लक्ष्मी बैंकको सीसीएआर ९.२७ प्रतिशत, सनराइज बैंकको सीसीएआर ९.५९ प्रतिशत, सिद्धार्थ बैंकको ८.९५ प्रतिशत, सानिमा बैंकको ९.४४ प्रतिशत र कुमारी बैंकको ९.०१ प्रशित छ। 

प्रभु बैंकको ९.६१ प्रतिशत, सिटिजन्सको ९.६७ प्रतिशत, कुमारी बैंकको ९.०१ प्रतिशत, नेपाल एसबीआईको ९.९९ प्रतिशत र हिमालयन बैंकको ९.५ प्रतिशत छ। अन्य वाणिज्य बैंकहरुको सीसीएआर १० प्रतिशतमाथि नै छ। 

प्राथमिक पुँजी कोष (सीसीएआर) टाइट भएका बैंकहरूलाई आगामी दिनमा कर्जा प्रवाहमा समस्या हुने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठ बताउँछन्। 

उनका अनुसार बैंकहरुले सीसीएआर सीमा नपुर्‍याए लाभांशसमेत रोक्का हुने व्यवस्था छ। 

‘गत वर्ष चार वाणिज्य बैंकले सीसीएआर सीमा पुर्‍याउन नसक्दा यो वर्ष लाभांश बाँड्न पाएका थिएनन्,' उनले भने, ‘यो वर्ष चैतसम्म सबै बैंकको सीसीएआर सीमामा छ। तर, केही बैंकको टाइट नै देखिन्छ।’

सीडी रेसियो कुनको कति? 
चैत मसान्तमा वाणिज्य बैंकको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो)  ८६.५२ प्रतिशत छ। 

पुस मसान्तमा वाणिज्य बैंकको औसत सीडी रेसियो ८६.५३ प्रतिशत छ। वाणिज्य बैंकहरुले सीडी रेसियो ९० प्रतिशत माथि पुर्‍याउन नहुने व्यवस्था छ। 

चालु आर्थिक वर्ष २०७९र०८० चैत मसान्तसम्म कुमारी बैंक र हिमालयन बैंकको सीडी रेसियो ९० प्रतिशत माथि पुगेको छ। अन्य सबै वाणिज्य बैंकको सीडी रेसियो ९० भन्दा तल छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .