कारोबार


राष्ट्रपति पौडेललाई भारतबाट हुने थप लगानीबारे ब्रिफिङ

राष्ट्रपति पौडेललाई भारतबाट हुने थप लगानीबारे ब्रिफिङ

राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्दै नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनिल केसी


नेपालखबर
चैत ११, २०७९ शनिबार १६:५६, काठमाडौँ

नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनिल केसीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरि भारतबाट नेपालमा हुने थप लगानीको सम्भावनाबारे ब्रिफिङ गरेका छन्। 

शनिबार बिहान शीतल निवासमा भएको शिष्टाचार भेटमा संघका तर्फबाट केसीले नेपाल र भारतबीच भइरहेको व्यापार र भारतबाट जलविद्युत लगायत नेपालमा हुन सक्ने थप लगानीका सम्भावनाबारे राष्ट्रपति पौडेललाई ब्रिफिङ गरेका हुन्।

भेटमा राष्ट्रपति पौडेलले दुई देशबीचका उद्योग वाणिज्य संघहरू आर्थिक कूटनीतिका संवाहक भएको बताए।

मुलुकको वैदेशिक व्यापार तथा लगानी र पर्यटन प्रवद्र्धनमा संघमार्फत भइरहेको प्रयासको सह्राना गर्दै पौडेलले यसलाई निरन्तरता दिन आग्रह गरे।

राष्ट्रपतिको कार्यभार सम्हालेको झण्डै दुई साता रामचन्द्र पौडेलले दैनिक शिष्टाचार भेटघाट गरिरहेका छन्। 

दैनिकी यस्ता भेटघाटमा राष्ट्रपतिसँग पार्टीका नेता, व्यवसायी, कलाकार र सर्वसाधारणले बधाई दिइरहेका छन्। पौडेलले तनहुँ जिल्लावासीहरूको टोलीसँग त दिनदिनै भेट गरिरहेका छन्। 

शनिबार बिहान नेपाल बार एसोसिएसनको प्रतिनिधिमण्डलसँग पनि राष्ट्रपति पौडेलले भेटवार्ता गरे। 

बारका पदाधिकारीहरूसँगको भेटमा राष्ट्रपति पौडेलले ‘संविधानको अक्षर र भावनाको मर्मअनुरुप’ काम गर्ने दोहोर्याए। 

भेटमा बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेलगायत पदाधिकारीले राष्ट्रपति पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए। 

शनिबार नै सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का पदाधिकारीसँग शीतल निवासमा भेटेर राष्ट्रपति पौडेलले ‘सामुदायिक रेडियोले श्रम संस्कृतिलाई प्रोत्साहन गर्ने खालका सामग्री प्रसारण गर्नुपर्ने’ सुझाव दिए। 

भेटमा अकोराबका अध्यक्ष अर्जुन गिरीले राष्ट्रपति पौडेललाई कार्यकाल सफलताको शुभकामना दिँदै सामुदायिक रेडियोहरूको अभिभावक बन्न आग्रह गरे। अध्यक्ष गिरीले राष्ट्रपति पौडेललाई रेडियो उपहार दिए। 

शीतल निवासमा शनिबार नेपाल चेम्बर अफ कमर्सका राजेशकाजी श्रेष्ठ लगायतले राष्ट्रपति पौडेललाई भेटेर बधाई दिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .