ad ad

कारोबार


एउटा मात्रै कम्पनीलाई अनुमति दिँदा नेपालमा फाइभजी भित्रिन ढिलाइ

एनसेल भन्छ– प्रतिस्पर्धी कम्पनीहरूलाई समान व्यवहार होस्
एउटा मात्रै कम्पनीलाई अनुमति दिँदा नेपालमा फाइभजी भित्रिन ढिलाइ

नेपालखबर
चैत ९, २०७९ बिहिबार १८:१४, काठमाडौँ

सरकारले एउटा टेलिकम सेवा प्रदायकलाई मात्रै फाइभजी परीक्षण अनुमति दिँदा नयाँ प्रविधि भित्रिन ढिलाइ भइरहेको छ। 

बजारमा मुख्यतः २ प्रतिस्पर्धी भए पनि एउटाले मात्रै अनुमति पाउँदा इन्टरनेटको पाँचौँ पुस्ता सञ्चालनमा ढिलाइ भएको हो। 

एनसेल आजियाटा र नेपाल टेलिकमले सरकारसँग फाइभजी परीक्षण गर्न अनुमति मागेका थिए। तर सरकारी स्वामित्वको नेपाल टेलिकमले मात्रै यसको परीक्षण अनुमति पाएको छ। 

एनसेलले भने हालसम्म अनुमति पाएको छैन। उसले एउटा मात्रै सेवा प्रदायकलाई दिँदा हालसम्म फाइभजी परीक्षण हुन नसकेको बताउँदै आएको छ। 

नेपाल सरकारलाई बराबर राजस्व तिरी सेवा प्रदान गरे पनि सरकारले आफूमाथि ‘सौतेनी छोरो’को व्यवहार गरेको एनसेलको भनाइ छ। 

एनसेल आजियाटाले नयाँ प्रविधि भित्र्याई ग्राहकहरुलाई सेवा प्रदान गर्न फाइभजी परीक्षणको अनुमति माग गरेको बताएको छ।  

‘हाम्रो मागका सम्बन्धमा प्रस्ताव रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिमा पुगेको भन्ने जानकारी छ। हामी अनुमतिको पर्खाइमा छौँ’, एनसेलले भनेको छ। 

नेपाल टेलिकमले परीक्षण अनुमति दिए पनि प्राविधिक परीक्षण गर्न थालेको छ। गत माघमा नेपाल टेलिकमले फाइभजी सञ्चालनमा ढिलाइ गरेकोमा नियामक नेपाल दूरसञ्चार प्राधिकरणले प्रश्न उठाएको थियो। 

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले निःशुल्क फ्रिक्वेन्सी दिएको लामो समय भइसक्दा फाइभजीमा अगाडि बढ्न नसकेको बताएका थिए। 

प्राधिकरणले २६ सय मेगाहर्ज ब्यान्डमा टेलिकमलाई फ्रिक्वेन्सी उपलब्ध गराएको छ।  

प्राधिकरणले नेपालमा फाइभजी परीक्षणसँगै व्यावसायिक रुपमा चल्न सक्छ÷सक्दैन भन्नेबारे पनि ध्यान दिनुपर्ने बताएको छ। 

यता सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका सहसचिव नेत्र सुवेदीले एनसेललाई फाइभजी परीक्षण गर्न दिने विषयमा नयाँ प्रगति कुनै नभएको बताएका छन्। 

‘नेपाल टेलिकमलाई अनुमति दिएर काम गरिराखेको छ’, सुवेदीले भने, ‘एनसेलको विषयमा अहिले थप केही छलफल भएको छैन।’

‘फाइभजीमा आजियाटाले ५ देशमा काम गरिसक्यो’
फाइभजी नयाँ प्रविधि भएका हुनाले बजारमा जानुपूर्व परीक्षण आवश्यक छ। 

आजियाटा समूहले अन्य देशहरुमा पनि यो प्रविधिमा काम गरिसकेकाले फाइभजीमा काम गर्न र यस प्रविधिले दिने लाभहरु उपलब्ध गराउन त्यति अप्ठ्यारो नहुने बताएको छ। 

‘हाम्रो आजियाटा गु्रपअन्तर्गत अन्य पाँच देशहरुमा फाइभजी प्रविधिका काम गरिसकेको अनुभव भएको हुनाले परीक्षणपश्चात् बजारको मागको अवस्था बुझेर यो सेवा व्यावसायिक रुपमा सञ्चालन गर्न सकिन्छ’, एनसेलको दाबी छ।   

नयाँ प्रविधि भित्र्याउने कार्यमा नेपाल पछि परेको छ। आजियाटा समूहअन्तर्गतका अन्य पाँच देशमा यो प्रविधि भित्रिसकेको छ। आजियाटाले मलेसिया, इन्डोनेसिया, श्रीलंका, बंगलादेश र कम्बोडियामा काम गरेको उल्लेख छ। 

अनुभवका हिसाबले पनि उसले नेपालमा फाइभजी परीक्षणको अनुमति मागेको देखिएको छ। तर नेपालमा प्रतिस्पर्धी कम्पनीहरुलाई समान व्यवहार गर्नुपर्ने एनसेलको भनाइ छ।  

‘प्रविधिको परीक्षण गर्नका लागि हामीलाई पनि समान व्यवहार गरिनुपथ्र्यो   त्यो भएन’, कम्पनी भन्छ, ‘फाइभजी प्रविधिमा पनि प्रतिस्पर्धाको वातावरण भएको भए तुलनात्मक रुपमा हामी अहिलेभन्दा विकसित अवस्था पुगिसक्ने थियौँ।’

फाइभजी भित्रिँदा उपभोक्तालाई के फाइदा?
फाइभजी प्रविधि भित्र्याउँदा नेपालमा तत्काल दिन सक्ने फाइदा  उच्चगतिको वायरलेस ब्रोडब्यान्ड सेवा हो। 

त्यसबाहेक बेस्ट युज केसहरु हेरेर स्वास्थ्य, शिक्षा, मनोरञ्जन, इन्टरनेट अफ थिङ्स, स्मार्ट सिटी आदि क्षेत्रहरुमा अगाडि बढ्न सकिने थुप्रै सम्भावना रहेको एनसेलले जनाएको छ।

वास्तवमा प्रविधिले आम उपभोक्तालाई प्रदान गर्ने भनेको हालभन्दा उच्चगतिको मोबाइल ब्रोडब्यान्ड सेवा हो। कम्पनीका अनुसार फाइभजी नेपालमा सञ्चालनमा आउँदा धेरै महंगो पनि हुनेछैन। 

‘मुल्यमा धेरै महंगो नपर्न सक्छ किनकि जब जब नयाँ प्रविधि आउँछ डेटा सेवाको मूल्य अझै घट्छ’, एनसेल भन्छ, ‘यसबाहेक के कस्ता युज केसहरु सञ्चालनमा ल्याइन्छन्, त्यसका आधारमा उपभोक्तालाई फाइदा र मूल्य तय हुन्छ।’ 

हालको व्यवस्थाअनुसार पूर्वाधारहरु टेलिकम सेवा प्रदायक आफैँले विस्तार गर्नुपर्दछ। प्रविधिको लाभ जतिसक्दो चाँडो आम उपभोक्तामाझ पुर्याउन सरकारले अनुमति प्रक्रिया, फ्रिक्वेन्सी वितरण, पूर्वाधार विस्तारजस्ता महत्वपूर्ण कार्यहरु सहज र सरल बनाउनुपर्ने कम्पनीले बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .