ad ad

कारोबार


रातारात अर्बपतिबाट सडकमा पुगेका १० धनाढ्य

रातारात अर्बपतिबाट सडकमा पुगेका १० धनाढ्य

जेमिमा म्याक इभोय
मंसिर १८, २०७९ आइतबार १७:१०, काठमाडौँ

सम्पत्ति कमाएर मात्रै होइन गुमाएर पनि उत्तिकै चर्चामा आउँछन् धनाढ्यहरु।

केही हप्ताअघि मात्र क्रिप्टोकरेन्सी एक्सचेन्ज एफटीएक्सका पूर्वप्रमुख कार्यकारी तथा ३० वर्षीय संस्थापक साम ब्यान्कम्यान फ्रेडले केही दिनको अन्तरालमा श्रीसम्पत्ति गुमाएको संसारले देख्यो। अमेरिकामा ५० उच्च धनाढ्यभित्र रहेका उनी क्रिप्टो दुर्घटनाको ‘पोस्टर ब्वाई’का रुपमा देखापरे। 

१७ अर्ब डलरका मालिक रहेका उनको सम्पत्ति दुई दिनको अन्तरालमा १ अर्ब डलरमा झरेको थियो। यो गत नोभेम्बर दोस्रो साताको कुरा थियो। यसरी हिरोबाट जिरोमा जाने उनी एक्ला होइनन्। जर्मनीका कुनै बेलाका धनी लगानीकर्ता एडोल्फ मर्कल सन् २००८ को वित्तीय संकटमा यही हालतमा पुगेका थिए। अहिले अमेरिकी गायन र व्यवसाय क्षेत्रका कान्ये वेस्ट पनि यही हालतमा पुगेका छन्। 

यसरी सम्पत्ति गुमाउनेमा फोर्ब्सको सूचीमा नपरेका अर्बपतिहरु पनि रहेका छन्। तिनमा इतिहासमै ठूलो पोन्जी स्किम चलाएका बदनाम ठग बर्नी म्याडफ, आर्किगोस क्यापिटल म्यानेजमेन्टका बिल ह्वाङ पनि आउँछन्। आफ्नो लगानी कम्पनी डुब्दा बिलले पनि रातारात १० अर्ब डलर गुमाउनुपरेको थियो।

यसरी सम्पत्ति गुमाउनेहरु धेरै रहेका छन्। तिनमा कतिपय ठगी, धोखाधडीमा जेलसम्म जानुपरेको छ। यहाँ भर्खरै धेरै सम्पत्ति गुमाएका १० अर्बपति र अहिले उनीहरुको अवस्थाबारे उल्लेख गरिएको छ– 

कान्ये वेस्ट 
उच्च सम्पत्ति : २०२२ अप्रिलमा २ अर्ब डलर 
अहिलेको सम्पत्ति : ४० करोड डलर 
सम्पत्ति क्षय : अक्टोबर २०२२
 

जब उनले जिविस मानिसहरुमाथि विभेदपूर्ण टिप्पणी गर्नथाले, षड्यन्त्रको सिद्धान्त र अन्य विवादित व्यवहार प्रदर्शन गर्नथाले ¥यापर तथा डिजाइनर रहेका ‘ये’ले चर्चित उनलाई अक्टोबरमा उनको व्यावसायिक साझेदार एडिडासले साथ छोड्यो। त्योसँगै कपडा रिटेलर ग्यापसँगको १० वर्षे सम्झौता रद्द भयो।

फ्रान्सको फेसन हाउस ब्यालेसियागा, रिटेलर फुट लकर, ट्यालेन्ट एजेन्सी सीएए र बैंक जेपी मोर्गानले समेत सहकार्यबाट हात झिके। यी सबैका बाबजुद हाल उनी ४० करोड डलरका मालिक छन्। घरजग्गा, संगीत, क्यास पैसा र स्किम्समा रहेको ५ प्रतिशत सेयर उनीसँग छ। 

निरव मोदी 
उच्च सम्पत्ति : सन् २०१५ मा १.८ अर्ब डलर 
हालको सम्पत्ति : 
सम्पत्ति क्षय : २०१८
 

कुनै बेलाका गरगहना व्यवसायी जो कहलिएका कलाकारलाई उच्च मूल्यका बबल्स (सिसाका साना र रंगीन हलुका बलहरु) उपलब्ध गराउँथे। केट विन्सलेट, डाकोटा जोन्सन र प्रियंका चोपडा जोनससम्म उनका ग्राहक थिए। गत महिनामात्र उनी आफैँ भने दक्षिण पश्चिम लण्डनमा रहेको वान्डस्वर्थ जेलमा भारत सुपुर्दगीका लागि लडिरहेका थिए। उनीविरुद्ध पञ्जाव नेशनल बैंकको १.८ अर्ब डलर आफ्नो अहिले बैंकको ऋणमा डुबेको कम्पनी फायर स्टार इन्टरनेशनलमा लैजान ठगी गरेको आरोप छ। 

उक्त स्क्यान्डल खुल्नुअघि मोदीले सन् २०१८ मा भारत छोडेका थिए। र त्यसको एक वर्षपछि लण्डनमा देखिएका थिए। त्यसपछि उनी पक्राउ परेका थिए। भारतीय अधिकारीहरुले मोदीले तिर्न बाँकी रहेको रकम उनका सम्पत्ति जफत गरेर भरिरहेका थिए। त्यसमा उनका बहुमूल्य कलाकृतिहरुसमेत थिए। पढ्दापढ्दै स्कुल छाडेका उनी गरगहना व्यापारीको परिवारमा बेल्जियममा जन्मिएका थिए। पारिवारिक व्यवसायको सिलसिलामा उनी सन् १९९९ मा भारत गएका थिए। 

ऋषि शाह 
उच्च सम्पत्ति : सन् २०१७ मा ३.६ अर्ब डलर 
हालको सम्पत्ति : ० डलर 
सम्पत्ति क्षय : २०१८ 

ऋषि शाह स्वास्थ्यसेवासम्बन्धी मिडिया स्टार्टअप आउटकम हेल्थका संस्थापक हुन्। आउटकमले सन् २०१७ मे महिनामा ५.६ अर्ब डलर मूल्यांकनसहित ६० करोड डलर उठाएको थियो।

त्यसको दुई वर्षमा शाह अर्बपति वरीयतामा सूचीकृत भएका थिए। तर दुई उच्च कार्यकारीसहित उनी कम्पनीको वित्तीय अवस्था र यसका प्रोडक्टहरु सफल रहेको भन्दै ढाँटेर ग्राहक, ऋणदाता र लगानीकर्ताको १ अर्ब डलर चोरेको आरोपमा अभियोजनमा परे। उनीविरुद्ध अहिले पनि मुद्दा चलिरहेको छ। उनीहरुले सन् २०१९ मा अभियोग लागेयता अपराध स्वीकारेका भने छैनन्। 

जोन कपुर 
उच्च सम्पत्ति : सन् २०१५ मा ३.३ अर्ब डलर 
हालको सम्पत्ति : 
सम्पत्ति क्षय : सन् २०१७
 

औषधि उद्यमी तथा लगानीकर्ता जोन कपुर इन्साइस थेराप्युटिक्सका संस्थापक, प्रमुख कार्यकारी र प्रमुख थिए। सन् २०१७ अक्टोवरमा उनी पक्राउ परेका थिए। कम्पनीको फेन्टानिल स्प्रे सब्सिज सिफारिस गर्न डाक्टरलाई घुस दिएको आरोप उनीमाथि लाग्यो।

त्यो औषधि क्यान्सर दुःखाइ कम गर्नका लागि डिजाइन गरिएको थियो। तर नचाहिने बिरामीलाई पनि उक्त औषधि सिफारिस गराएको पाइएको थियो। इन्साइसले ऋणमा डुबेको भन्दै सन् २०१९ मा व्यावसायिक सञ्चालन बन्द गरेको थियो। उनी पक्राउ परेलगत्तै फोर्ब्सको अर्बपति वरीयताबाट हटेका थिए।

दोषी पाइएपछि सन् २०२० मा उनीविरुद्ध साढे ५ वर्षको जेल सजाय भएको थियो। उनी सन् २०२४ अगस्टमा छुट्नेछन्। 

एलिजाबेथ होम्स 
उच्च सम्पत्ति : सन् २०१५ मा साढे ४ अर्ब डलर 
हालको सम्पत्ति : ० डलर 
सम्पत्ति क्षय : सन् २०१६
 

थेरानोसकी सहसंस्थापक एलिजाबेथ होम्सलाई कुनै बेला प्रविधि संसारकै गहना मानिन्थ्यो। उनले त्यस्तो डिभाइस विकास गरेको भनियो जसले कुनै व्यक्तिको औँठाबाट १÷२ थोपा रगत निकालकै भरमा रक्तपरीक्षण सम्भव हुने भयो। सन् २०१५ मा स्ट्यान्फोर्ड युनिभर्सिटी कलेज छाडेकी उनी अमेरिकामा आफ्नै बलबुतामा धनी बनेकी महिला बनिन्।

तर उक्त प्रविधि भर पर्दो नपाइएपछि र कम्पनीले सरकारबाट विभिन्न अनुसन्धानको सामना गरेसँगै त्यसको एक वर्षपछि फोर्ब्सले उनको सम्पत्ति केही नरहेको बतायो। सन् २०१८ मा उनीविरुद्ध ठगी मुद्दा लाग्यो। त्यसको सुनुवाइ सन् २०२१ मा भयो। त्यस दौडान उनले आफ्नो पूर्वकेटा साथी र थेरानोसका पूर्वअध्यक्ष तथा सीओओ रमेश सनी बलवानीलाई आरोपित गरिन्।

तर न्यायाधीशहरुले उनको कुरा मानेनन् र चार आरोपमा दोषी पाउँदै सन् २०२२ जनवरीमा सजाय पाइन्। सन् २०२२ नोभेम्बरमा उनले ११ वर्ष बढी समयको जेल सजाय पाएकी थिइन्। बलवानी पनि दोषी पाइएका थिए। उनलाई २० वर्ष जेल सजाय राखिएको छ। 

आइक बाटिस्टा 
उच्च सम्पत्ति : सन् २०१२ मा ३० अर्ब डलर 
हालको सम्पत्ति : 
सम्पत्ति क्षय : सन् २०१३
 
असाध्यै महत्वाकांक्षी ब्राजिलका तेल र ग्यास उद्यमी आइक बाटिस्टाले फोर्ब्सलाई कुनै बेला आफू संसारकै धनी व्यक्ति बन्ने भनेका थिए। झट्ट सुन्दा उनको कुरा पत्यारिलै देखियो। सन् २०१२ को सुरुतिर बाटिस्टासँग अनुमानित ३० अर्ब डलर सम्पत्ति थियो। तर एकै वर्षमा उनको कम्पनीले उत्पादन बढाउन र वित्तीय लक्ष्य भेट्टाउन सकेन।

त्यसपछि कम्पनी कमजोर बन्यो। उनको ओजीएक्स कम्पनीले तेलको ठूलो भण्डारण रहेको ढाँटेको थियो। सन् २०१३ मा कम्पनी टाट पल्टियो। उसले ४५ अर्ब डलर ऋणपत्र भुक्तानी गर्न सकेन। बाटिस्टाले सन् २०१८ मा ३० वर्ष जेल सजाय पाए। उनले सरकारी सम्झौतामा समेत तत्कालीन रियो दि जनेरियोका गभर्नर सर्जेई क्याब्रललाई १ करोड ६५ लाख डलर घुस दिएको खुलेको थियो। 

विजय माल्या 
उच्च सम्पत्ति : सन् २००७ मा १.६ अर्ब डलर 
हालको सम्पत्ति : 
सम्पत्ति क्षय : सन् २०१२
 
जीवनशैलीका कारण ‘असल समयको राजा (द किंग अफ गुड टाइम्स)’ले परिचित विजय माल्याले भारतकै ठूलोमध्येको लिक्योर कम्पनी युनाइटेड स्प्रिट्स सञ्चालन गरेका थिए भने अहिले निष्क्रिय किंगफिसर एयरलाइन पनि चलाउँथे। सन् २००५ मा हवाइ क्षेत्रमा प्रवेश गरेयता पेयपदार्थ व्यवसायका चर्चित यी धनाढ्य १ अर्ब डलरभन्दा धेरै ऋणमा डुबे।

उनको किंगफिसर एयरलाइन पनि कमजोर हुँदै गयो। कुनै बेला यो भारतको दोस्रो ठूलो आन्तरिक हवाइ सेवा प्रदायक थियो। तर थेग्नै नसकेपछि सन् २०१२ मा बन्द भयो। यसका पाइलट र कर्मचारीले महिनौँसम्म तलब पाएनन्। यति हुँदा पनि माल्याले भने खर्चालु पार्टी दिन छाडेनन्। त्यसपछि उनी सन् २०१६ मा भारतबाट भागेर बेलायत पुगे। उनी अहिले पनि बेलायतमै रहेको बताइन्छ। बेलायती अदालतले गत जुलाईमा माल्या टाट पल्टिएको बताउँदै उनीसँग पैसा उठाउन भारतीय बैंकहरुलाई बाटो खोलिदिइसकेको छ। 

एलेन स्ट्यानफोर्ड 
उच्च सम्पत्ति : सन् २००८ मा २.२ अर्ब डलर 
हालको सम्पत्ति : ० डलर 
सम्पत्ति क्षय : सन् २००९
 

स्ट्यानफोर्ड पनि सन् २०१२ मा ७ अर्ब डलरको पोन्जी स्किम चलाएको आरोपमा जेल परेका थिए। उनले स्ट्यानफोर्ड फाइनान्सियल ग्रुपको माध्यमबाट ठगी गरेका थिए। पूर्वअर्बपतिले एन्टिगामा रहेको स्ट्याफोर्ड इन्टरनेशनल बैंक र शंकास्पद लगानीका लागि कोष परिचालनमार्फत नक्कली डिपोजिट सर्टिफिकेट बिक्री गरेर दुई दशक टारेका थिए।

निकै विलासी जीवनशैलीका उनी सन् २०१२ मा ११० वर्षका लागि जेल सजाय पाएका थिए। हाल उनी फ्लोरिडा कोलम्यानको उच्च सुरक्षा भएको जेलमा सजाय काटिरहेका छन्। स्ट्यानफोर्डको स्किममा डुबेकाहरुले विस्तारै भुक्तानी पाइरहेका छन्। हालसम्म १ अर्ब डलरमात्रै उठेको बताइन्छ। 

एडल्फ मर्कल 
उच्च सम्पत्ति : सन् २००७ मा १२.८ अर्ब डलर 
हालको सम्पत्ति : 
सम्पत्ति क्षय : सन् २००८
 

मर्कल एक जर्मन उद्योगी थिए जसको लगानीलाई सन् २००८ को वित्तीय संकटले असर ग¥यो। स्थिति त तब बिग्रियो जब उनले फक्सवागन एजीविरुद्ध लगाएको बाजी त्यही वर्षको अक्टोबरमा उल्टो निस्कियो।

त्यतिखेर युरोपेली कार कम्पनी पोर्स्कीले कम्पनी लिन खोजिरहेको थियो। त्योसँगै फक्सवागनको सेयर मूल्य आकाशिएको थियो। उनको आफ्नो वर्मोइजन्सवरवाल्टंग समूहको ऋण तिर्न मर्कलले १ अर्ब डलरभन्दा बढीको ब्रिज लोन (छोटो अवधिको ऋण) लिए। तर उनले सोचेजस्तो भएन। उनको व्यवसाय क्षयीकरणतर्फ अघि बढ्यो। त्योसँगै मर्कलले सन् २००९ मा जर्मनीको ब्लाउबारेनस्थित घरनजिकै रेल अगाडि आफ्नै जीवन त्याग्नुपर्यो। 

उनको मृत्युपछि छोरा लडविगले व्यवसाय सम्हालेका थिए। उनले केही सम्पत्ति बेचेर ऋणबाट मुक्त भए। हाल उनी ५ अर्ब डलरभन्दा धेरै सम्पत्तिका मालिक छन्। 

मिखाइल खोदोर्कोव्स्की 
उच्च सम्पत्ति : सन् २००४ मा १५ अर्ब डलर
हालको सम्पत्ति : 
सम्पत्ति क्षय : सन् २००६
 

मिखाइल चर्चित रुसी ग्यास तथा तेल कम्पनी युकोसका पूर्वप्रमुख थिए। उनी कुनै बेला रुसकै सबैभन्दा धनी व्यक्ति थिए। उनीसँग सन् २००४ मा १५ अर्ब डलर सम्पत्ति थियो। तर राष्ट्रपति भ्लादिमिर पुटिनसँगको छेडखानी उनलाई महँगो साबित भयो।

उनलाई करछलीको आरोपमा जेल सजाय गरिएको थियो। उनीविरुद्ध अन्य धेरै आरोपहरु पनि लगाइएका थिए यद्यपि उनले ती आरोप अस्वीकार गर्दै आएका थिए। युकोस कुनै बेला रुसकै ठूलो तेल कम्पनी बनेको थियो तर पछि छिन्नभिन्न भएसँगै सन् २००६ मा बैंकको ऋणमा डुब्यो। यसका अधिकांश सम्पत्ति सरकारी स्वामित्वको रोसनेफ्टले लियो।

उनलाई सन् २०१२३ मा माफी दिइएको थियो। त्यसयता उनी बेलायती सहर लण्डनमा बस्दै आएका छन् भने पुटिनको कट्टर आलोचना पनि गर्दै आएका छन्।  फोर्ब्सबाट भावानुदित

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .