कारोबार


महानगरले मातहतका सहकारीलाई भन्यो– तोकिएका क्षेत्रबाहिर कारोबार नगर (निर्देशन)

बचतकर्तालाई ८ विषयमा निगरानी गर्न आग्रह ​
महानगरले मातहतका सहकारीलाई भन्यो– तोकिएका क्षेत्रबाहिर कारोबार नगर (निर्देशन)

नेपालखबर
मंसिर ९, २०७९ शुक्रबार १६:३४, काठमाडौँ

सहकारी संस्थाहरुमा गम्भीर असर परेको भन्दै काठमाडौं महानगरपालिकाले १२ बुँदे निर्देशन जारी गरेको छ। 

महानगरअन्तर्गतको सहकारी विभागले सहकारी संस्थाहरुलाई तोकिएका क्षेत्रभन्दा बाहिर नजान र नीतिसंगत रुपमा मात्रै अघि बढ्न निर्देशन दिएको हो। 

महानगरले कोभिड महामारी तथा ठूला राष्ट्रहरुबीच भएको युद्धका कारण विश्वमा आएको आर्थिक मन्दीको कारण सहकारी क्षेत्रमा गम्भीर असर गर्न थालेको बताएको छ। त्यस्तै वस्तु तथा सेवाको मूल्यवृद्धि, वित्तीय क्षेत्रको तरलता अभावका करण सहकारीमा असर भइरहेको देखिएको बताएको हो। 

सहकारीमा पछिल्लो समय देखिएको समस्याले सर्वसाधारण र लगानीकर्ता, सेयरधनी, बचतकर्ताहरु सबैलाई असर पुगिसकेको महानगरको भनाइ छ। 

उनीहरुलाई परेको असरबारे महानगरमा धेरै उजुरी समेत आएको बताइएको छ। 

महानगरले शुक्रबार जारी गरेको सूचनामा भनेको छ, ‘कार्यालयमा दिनहुँ मौखिक तथा लिखित उजुरीहरु आउने गरेको छ अर्थात् अहिले उजुरीको चाप धेरै बढिरहेको छ।’

महानगरले जारी गरेको १२ बुँदे निर्देशन के–के छन्?

  • १. सहकारी संस्थाहरूले यथाशीघ्र सबै सेयर सदस्यहरूलाई उपस्थित गराई साधारण सभा सम्पन्न गरी संस्थाको यथार्थ स्थिति र कारोवारबारे जानकारी गराउने विश्वसनीयता र अपनत्व ग्रहण गराउनका लागि नियमित रूपले सेयर सदस्यहरूसँग सम्पर्क र संवाद बढाउने।
  • २. तोकिएको कार्य क्षेत्रभन्दा बाहिर गएर कुनै पनि कारोबार र लगानी नगर्ने।
  • ३. वित्तीय जोखिमको विश्लेषण गरी बढीभन्दा बढी तरलता कायम राख्ने ।
  • ४. परिस्थितिको आँकलन गरी अनुत्पादक क्षेत्रहरूमा लगानी नगर्ने।
  • ५. सेयर सदस्यहरूलाई बढी ब्याजदरको लोभ देखाई लामो अवधिको निक्षेप सङ्कलन नगर्ने।
  • ६. सञ्चालक समिति परिवर्तन गर्दा सहकारीको ज्ञान भएको नियमित रूपले संस्थासँग कारोबार भएको व्यक्तिहरूलाई मात्र संस्थाको जिम्मेवारी दिने।
  • ७. कानुनी प्रक्रिया पूरा नगरी तथा कसैको इच्छा बेगर कुनै पनि व्यक्तिलाई सञ्चालक तथा लेखा समितिमा निर्वाचित नगर्ने।
  • ८. कार्यपद्धतिमा सुशासन र निर्णय प्रक्रियामा पारदर्शिता कायम राखी तोकिएको समयभित्र प्रगति विवरण नियमनकारी निकायमा पेस गर्ने।
  • ९.ऋण प्रवाह गर्दा ऋणीको पारिवारिक विवरण र एकाघर परिवारको सनाखत गराएर मात्र तोकिएको ढाँचामा ब्याज र सेवा शुल्क सहितको फाराम भराई अवधि तोकेर मात्र प्रवाह गर्ने।
  • १०. जोखिम विश्लेषण गरेर मात्र सुरक्षित ऋण प्रवाह गर्ने र जोखिम न्यूनीकरणका योजना बनाएर प्रभावकारी ऋण असुली गर्ने।
  • ११. राष्ट्रिय सहकारी महासङ्घ, विषयगत सङ्घहरूबाट सहकारी अभियानको सफलताका लागि जारी गरिएका अपिल अध्ययन गरी लागू गर्ने।
  • १२. आफ्ना सेयर सदस्य र बचतकर्ताहरूलाई नियमित सहकारी शिक्षा प्रदान गर्ने। 

महानगरले आज जारी गरेको सूचनामा संवेदनशील समयमा सहकारीका सदस्य अर्थात् बचतकर्ताहरुलाई समेत निगरानी गर्न अनुरोध गरेको छ। 

महानगरले जारी गरेको सूचनामा भनेको छ, ‘सहकारीसंस्थाहरु बैंक होइनन्। यी संस्थाहरु सदस्यहरुद्वारा प्रजातान्त्रिक नियन्त्रण हुन्छन्। सहकरी सुशासनका लागि सदस्यहरुको निरन्तर निगरानी आवशयक छ।’

बचतकर्तालाई ८ विषयमा निगरानी गर्न आग्रह
महागनरले ८ विषयहरु बचतकर्ताहरुले निगरानी गर्नुपर्ने बताएको हो।

त्यसमा सहकारी संस्थाको साधारणसभामा अनिवार्य उपस्थित हुने, संस्थाको कारोबारबारे नियमित रूपले जानकारी लिने, नियमित साधारणसभा नगर्ने सहकारीहरूका बारेमा विभागमा जानकारी गराउने, सञ्चालक समितिका पदाधिकारीहरूको आनीबानी र इमानदारिताका बारेमा नियमित जानकारी लिने, बढी ब्याजको लोभमा लामो अवधिको अत्यधिक बचत नगर्ने, सहकारी संस्थाका बारेमा अतिरञ्जित हल्लाका पछाडि मात्र नलागी यथार्थ अवस्थाबारे जानकारी लिनेलगायत छन्। 

त्यस्तै कार्य क्षेत्रभन्दा बाहिर गएर कार्य गर्ने संस्थासँग कारोबार नगर्ने, सञ्चालक समितिका पदाधिकारीहरूको पहिचान गरेर मात्र संस्थासँग कारोबार गर्ने, नियमित संवाद र सम्पर्क राख्ने, आवधिक बचत जम्मा गर्दा जिम्मेवार पदाधिकारीको हस्ताक्षरयुक्त कागजात सहित निक्षेप निस्सा लिने, ऋण लिँदा सेवा शुल्क र ब्याज रकम यकिन गरी सम्झौता गरेर मात्र ऋण लिने र समयमा नै तिर्ने जस्ता काम गर्न अनुरोध गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .