ad ad

कारोबार


महाकाली सिँचाइ मूलनहर निर्माणको काम सकिँदै, भारतले छोडेन पानी

महाकाली सिँचाइ मूलनहर निर्माणको काम सकिँदै, भारतले छोडेन पानी

नेपालखबर
असोज ३०, २०७९ आइतबार १४:८, काठमाडौँ

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव क्षेत्रदेखि शुक्लाफाँटा नगरपालिकाको टोटी फुलेली क्षेत्रसम्म महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत २८ किलोमिटर मूलनहर निर्माणको काम सकिँदैछ। 

कञ्चनपुरमा पूर्व–पश्चिम राजमार्गको उत्तर र चुरे क्षेत्रको दक्षिण क्षेत्रबाट निर्माण भइरहेको राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहलमा पानी बग्ने एकिन छैन।

गत असारमा महाकाली नदीबाट भारतीय पक्षले पानीको परीक्षणका साथै कञ्चनपुरलाई धान दिवस मनाउन पानी उपलब्ध गराए पनि त्यसयता भारतले नियमित पानी छाड्न मानेको छैन। महाकाली सिँचाइ आयोजना मूलनहर निर्माणसँगै शाखा नहर निर्माणको प्रक्रिया अघि बढाइरहेका बेला सुदूरपश्चिम प्रदेश सरकारले भने सिँचाइ आयोजनाले शाखा नहर बनाउने क्षेत्र र वरपर गरी कराडौँका ट्युबेल सिँचाइका लागि भनेर स्थानीयलाई बितरण गरेको छ।

ब्रह्मदेवदेखि चुरे फेद र सिँचाइको मूल नहर दक्षिण लगायतका क्षेत्रमा बितेको चार वर्षमा सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा तीन सय ५० ठाउँमा सिँचाइ सुविधाका लागि ट्युवेल जडान गरिएको छ। 

उक्त क्षेत्रमा चालू आर्थिक वर्षमा रु १४ करोड ट्युवेल जडानका लागि बजेट विनियोजन भएको छ। महाकाली सिँचाइको मूल नहरको उत्तरतर्फ करिब ८० प्रतिशत ट्युबवेल जडानको काम सकिएको छ। राजमार्गबाट उत्तर भीमदत्त नगरपालिकाका– ८ वटा र बेदकोट नगरपालिका–८ मा गरी साढे तीन सय ट्युबवेल जडान गरिएको हो।

त्यसैगरी प्रदेश सभाको उक्त क्षेत्रमा पर्ने भीमदत्त नगरपालिका– २, १७ र १९ मा २ सय ट्युबवेल जडान गरिएका छन्। राजमार्गबाट माथिल्लो क्षेत्रमा जडान गरिएका ट्युबवेलमा जडानमा प्रति ट्युबवेल रु दुईदेखि सात लाखसम्म खर्च भएको र साथै ६० बिघा क्षेत्रलाई सिँचाइ पुग्ने ठूला ट्युबवेल तीन वटा समेत जडान भएका छन्।

सोही स्तरका चार वटा ट्युबवेल बोर गराउन बजेट आइसकेको छ। ठूला ट्युबवेल बोर जडान गर्न प्रति ट्युबवेल रु ७० लाखदेखि एक करोडसम्म लागन लाग्ने गरेको छ। महाकाली सिँचाइ आयोजानाअन्तर्गत दोस्रो चरणमा सम्पन्न भएका नहरबाट यहाँ सिँचाइ सुविधा किसानले उपभोग गर्न पाएको भए पनि तेस्रो चरणको गति भने सुस्त छ।

महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सिनियर डिभिजन इन्जिनियर शम्भु पण्डितले शाखा नहर निर्माणको तयारी भइरहेको बताए।

‘यो वर्ष तीन किलोमिटर जति शाखा नहर बनाउनुपर्ने कार्यक्रम छ’, उनले भने, ‘शाखा नहर निर्माण क्षेत्रका नागरिकबाट पनि ट्युबवेल जडान भएकाले नहर आवश्यक छैन भन्ने आवाज पनि आइरहन्छन्।’

उनले प्रदेश सरकारले मूल नहरभन्दा उत्तरको क्षेत्रमा सिँचाइका लागि जडान गरेको ट्युवेलले किसान लाभान्वित हुने बताए। 

‘हाम्रो मूल नहरभन्दा माथिको भेगमा सिँचाइ सुविधा पुग्दैन’, उनले भने, ‘हाम्रो लक्षित क्षेत्रमा पनि धेरै ट्युबवेलबाट सिँचाइ पुगेको भन्ने छ।’

त्यसैगरी शुक्लाफाँटा नगरपालिकासम्म मूल नहर निर्माणको अन्तिम तयारी रहेको बताउँदै उनले २८ देखि ४८ किलोमिटरसम्म मूल नहर निर्माणका लागि सिँचाइ विभागमा लागत अनुमान पेस गर्ने तयारी रहेको जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .