ad ad

कारोबार


नेपालले अहिलेभन्दा आठगुणा बढी निर्यात गर्न सक्ने सम्भावना छ : विश्व बैंक

नेपालले अहिलेभन्दा आठगुणा बढी निर्यात गर्न सक्ने सम्भावना छ : विश्व बैंक

नेपालखबर
असोज १४, २०७९ शुक्रबार १३:२४, काठमाडौँ

नेपालले हालको भन्दा आठगुणा बढी निर्यात गर्न सक्ने सम्भावना गुमाइरहेको एक अध्ययनले देखाएको छ। विश्व बैंकले गत वर्ष सार्वजनिक गरेको प्रतिवेदनले अध्ययनमा समावेश झन्डै ५० मुलुकमध्ये सबैभन्दा सम्भावना खेर फालिरहेको देश नेपाल रहेको देखाएको छ।

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा विश्व बैंकका वरिष्ठ अर्थशास्त्री गोन्जालो भरेलाले अझै सम्भावना रहेको प्रस्तुति गरेका थिए। उनले भने, ‘नेपालसँग ९ अर्ब २ करोड डलर निर्यात गर्न सक्ने क्षमता छ’, उनले भने।  

यसलाई गत आर्थिक वर्षको निर्यातसँग तुलना गर्ने हो भने आठ गुणा बढी  सम्भावना देखिएको छ। व्यापार घाटा निरन्तर बढिरहेका बेला यो अध्ययनले सम्भावना देखाएको छ। 

नेपालको निर्यात सम्भाव्यता विषयक कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अर्थशास्त्री भरेलाले नेपालसँग एकै दिन विश्व व्यापार संगठनको सदस्य भएको अतिकम विकसित मुलुक क्याम्बोडिया, लाओसजस्ता देशले निर्यात बढाउन सकेको हुँदा नेपालको सम्भावना रहेको बताए। 

उनका अनुसार एउटै खालको भौगोलिक अवस्था भएको लाओसको सन् १९९९ अगाडिसम्म निर्यातमा लगभग आधा कृषि उत्पादनहरू, आधा कपडा र बाँकी थोरै अंश, केही खनिज र अन्य उत्पादनहरू थिए तर सन् २०१९ कोभिड पूर्व ठूलो परिवर्तनका साथ निर्यातमा कृषि र कपडालाई जारी राख्दै इलेक्ट्रोनिक्स, रबर र रसायनमा आधारित वस्तुुहरू, विद्युतीय ऊर्जा थप्न सफल भयो। जसले लाओको अर्थतन्त्रलाई निकै माथि लान सफलता मिल्यो। 

‘सोही समयमा नेपाललाई हेर्दा कपडा निर्यात पहिलो नम्बरमा थियो, तत्पश्चात् कृषि र अन्य रसायनमा आधारित वस्तु थिए। त्यसको २० वर्ष पछिसम्म पनि नेपालको निर्यातयोग्य वस्तु विविधीकरण हुन सकेनन्। धेरै कृषि, थोरै कपडा, तर ती दुई समूहले नै निर्यातमा वर्चस्व राखेको पाइयो’, अर्थशास्त्री गोन्जालोले भने। 

नेपालको वृद्धि उत्पादकत्वका आधारमा देखिँदैन। नेपाली उद्योग व्यवसायले तीव्र निर्यातमार्फत लाभ लिन सकेको पाइँदैन। न्यून परिणामको निर्यात, सीमित देशहरूमा मात्र केन्द्रित र छोटो समयको निर्यात र न्यून बाह्य लगानी नै नेपालको मुख्य चुनौतीका रूपमा देखिएको कुरा उनले बताए। 

‘न्यून बाह्य लगानी प्रवाहले वृद्धिका अवसर र उत्पादकत्व फैलाउने सम्भावनालाई समेत थप सीमित बनाइदियो’, उनले भने, ‘किनभने लाओस क्याम्बोडियाजस्ता मुलुकहरूले धेरै विदेशी लगानी आकर्षित गर्न सके, जसले देशको उत्पादन र उत्पदकत्व दुवै बढ्यो। नेपालले भने लगानी र निर्यात दुवै बढाउन सकेन।’ 

नेपालका सम्भावनालाई यथार्थतामा रुपान्तरण गर्न उद्योग व्यवसायलाई उनीहरुको उत्पादन तथा सेवा अधिक राम्रो बनाउन, उत्पादित वस्तुुहरूलाई सफलतापूर्वक अन्तर्राष्ट्रिय बजारमा ल्याउन र त्यसलाई प्रोत्साहन गर्न सरकारले निजी क्षेत्रसँग प्रभावकारी रूपमा सहकार्य गर्नुपर्ने उनको सुझाव छ। 

महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र विप्रेषणरूपी एउटा मात्र इन्जिनबाट चलेकाले सावधानीपूर्वक समग्र निर्यात प्रवर्द्धनमा काम गर्नुपर्नेमा जोड दिए। हामीले हाम्रो अर्थतन्त्रको आधार बलियो बनाउन सकेनौं भने जतिबेला पनि इन्जिन फेल हुन सक्ने खतरा रहेको उनको भनाइ छ। 

‘हामीले हाम्रै स्रोतमा आधारित वस्तुह निर्यात गर्ने क्षमता राख्नुपर्छ’, अध्यक्ष गोल्छाले भने, ‘यसमा सरकारले निजी क्षेत्रले दिएका सुुझावहरूको कार्यान्वयनमा विशेष ध्यान दिनुपर्नेमा हाम्रो जोड छ।’ 

उद्योग सचिव डा. तोयानारायण ज्ञवालीले मुलुकभित्र भित्रिएको विप्रेषण हामीले देशभित्रै बचाएर राख्न नसकेको यथार्थता राख्दै यसका लागि थुप्रै काम गर्नुपर्ने आवश्यकता रहेको बताए।

निजी क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यमा आफ्नो मन्त्रालय निरन्तर लागिरहेको र महासंघले अर्थतन्त्रको विस्तार, रोजगारी सिर्जना, व्यापार घाटा न्यून गर्ने उद्देश्यले ल्याएको भिजन पेपरको कार्यान्वयनका लागि सहकार्य भएको जानकारी पनि गराए। 

विश्व बैंकका अर्थशास्त्री गोन्जालोले प्रस्तुत गरेको तथ्य–तथ्यांक र सुुझाव सरकारका लागि निकै महत्त्वपूर्ण रहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .