ad ad

कारोबार


सहुलियत दरमा खसी-बोका बिक्री गर्दै खाद्य कम्पनी, ४१ जिल्लामा सहुलियत पसल

सहुलियत दरमा खसी-बोका बिक्री गर्दै खाद्य कम्पनी, ४१ जिल्लामा सहुलियत पसल

नेपालखबर
असोज १३, २०७९ बिहिबार १५:३१, काठमाडौँ

बडा दसैँको अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्थापना गरेको सुपथ मूल्य पसलबाट खसी–बोकाको बिक्री वितरण सुरु गरेको छ। 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको काठमाडौं थापाथलीमा अवस्थित वागमती प्रादेशिक कार्यालयबाट बुधवारदेखि खसी, बोका र च्याङ्ग्राको बिक्री वितरण सुरु भएको हो।

कम्पनीसँग एक हजार वटा खसी, बोका र दुई सय वटा च्याङ्ग्रा रहेकोमा बिहीवार दिउँसो सम्ममा तीन सय वटा खसी बोका र सय वटा च्याङ्ग्रा बिक्री भइसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वागमती प्रादेशिक कार्यालयकी प्रमुख ज्ञानु थापाले जानकारी दिए।

प्रमुख थापाले खसी, बोका बिक्री वितरण गर्दा पशु चिकित्सकले चेकजाँच गरेर मात्रै स्वस्थ खसी, बोका बिक्री वितरण गरिरहेको बताए।

उनले खसी, बोका तथा च्याङ्ग्रा बजार मूल्य भन्दा सस्तो गरी बिक्री भइरहेको पनि उल्लेख गरे। थापाथलीस्थित प्रादेशिक कार्यालयमा उपभोक्ताको चाप रहेको उनको भनाई छ।

उनले कम्पनीले असोज १ गतेदेखि ४१ जिल्लाका ४५ स्थानबाट सहुलियत मूल्य पसल सञ्चालन गरिरहेको बताए। बिक्री कक्षमा नपुगेका उपभोक्ताहरुका लागि सहकारी डिलर लगायतका माध्यमबाट उपभोक्ताका घर घरमा उपभोग्य सामग्री पुर्याएको उनको भनाई छ।

प्रमुख थापाले थापाथली बिक्री कक्षमा दैनिक ४ सय देखि ५ सय जनासम्म उपभोक्ताले सेवा लिइरहेको बताए।

ललितपुर सातदोबाटोबाट खसी किन्नका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयमा पुगेका प्रदीपजंग कार्कीले खसी, बोकाको भाउ चित्तबुझ्दो भएपनि च्याङ्ग्राको भाउ धेरै महंगो भएको प्रतिक्रिया दिए।

विभागले १० रुपैयाँ छुटसहित जिउँदो खसी प्रतिकेजी ६७० रुपैयाँ, जिउँदो बोका प्रतिकेजी ६७० रुपैयाँ र जिउँदो च्याङ्ग्रा १ हजार २५० रुपैयाँमा बिक्री वितरण गरिरहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .