ad ad

कारोबार


गाडी आयात निषेध गरेको सरकार आफैँ अर्ब बढीको सवारी किन्दै

चुरोट र तास खुल्दा थोरै सीसीका गाडी पनि खुलेनन्
गाडी आयात निषेध गरेको सरकार आफैँ अर्ब बढीको सवारी  किन्दै

फाइल तस्बिर


वसन्त अर्याल
भदौ १६, २०७९ बिहिबार ९:१, काठमाडौँ

सरकारले गाडी आयात प्रतिबन्ध लगाएर आफू भने गाडी खरिद गर्ने निर्णय गरेको छ। 

असोज २८ सम्म गाडी आयातको प्रतिबन्ध लम्ब्याएको सरकारले डेढ सय बढी गाडी खरिद गर्न बजेट स्वीकृत गरेको हो। 

चालू आर्थिक वर्षको बजेटमा गाडी खरिद नगर्ने घोषणा गरेको सरकारले सवा अर्बको बजेट स्वीकृत गरेको छ। अर्थ मन्त्रालयले गाडी खरिदका लागि १ अर्ब १२ करोड ५० लाख रुपैयाँ स्वीकृति दिएको छ। 

विदेशी मुद्रा सञ्चिति कम भएको बताउँदै सरकारले वैशाखदेखि डिजेल पेट्रोलका सबै गाडीको आयात प्रतिबन्ध लगाएको छ। 

यसअघि भदौ १४ गतेसम्म आयात प्रतिबन्ध रहेकोमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले सवारी साधनसहितका विलासिताका वस्तु आयातमा असोज २८ गतेसम्म प्रतिबन्ध लम्ब्याएको छ।

अर्थ मन्त्रालय स्रोतका अनुसार ५० लाख रुपैयाँका दरले गाडी खरिद गर्न   बजेट स्वीकृत भएको छ। उक्त बजेटबाटै नेपाल प्रहरी, सशस्त्र प्रहरी, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयका लागि गाडी खरिद गरिनेछ। 

यी निकायका लागि गाडी खरिद गर्न गृह मन्त्रालयले ५ अर्ब ८४ करोड ७ लाख रुपैयाँ माग गरेको थियो। गाडी खरिदका लागि ३ अर्ब ४७ करोड ३५ लाख रुपैयाँ माग गरेको नेपाल प्रहरीले ७५ करोड रुपैयाँ मात्रै पाउने भएको छ।

सशस्त्र प्रहरीले पनि १ अर्ब ८२ करोड ७२ लाख रुपैयाँ गाडी किन्न माग गरेको थियो। गृह मन्त्रालय, जिल्ला प्रशासन र इलाका प्रशासनका लागि ५४ करोड मागिएको थियो।

सरकारले छुट्टाएको बजेटले डेढ सयवटा गाडी खरिद गर्न सकिने प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले बताए। 

गाडी किन्न आवश्यक बजेट नपाएसँगै प्रहरीले निर्वाचनमा भाडाका गाडी प्रयोग गर्नुपर्ने अवस्था आएको उनी बताउँछन्। 

‘प्रहरीलाई आवश्यक ड्युटीका लागि गाडी पुग्दैन’, डीआईजी राईले नेपालखबरसँग भने, ‘यसअघि स्थानीय तहको निर्वाचनमा पनि भाडाका गाडी प्रयोग गरेका थियौँ आगामी चुनावमा पनि भाडामा लिएर काम चलाउनुपर्ने हुन्छ।’

बजारमा कमर्सियल गाडी छन्, कार/जिप छैनन्
सरकारले राजपत्रमा सूचना प्रकाशित गरी पेट्रोल डिजेलका सम्पूर्ण जिप, कार, भ्यानहरु प्रतिबन्ध लागेको छ। एम्बुलेन्स र शववाहनबाहेकका सवारी नेपाल आयात गर्न पाइँदैन। पिकअपसहितका कमर्सियल गाडी आयातमा भने प्रतिबन्ध गरेको छैन। 

सरकारले सवारीसाधन आयात प्रतिबन्ध लगाएर कसरी सवारीसाधन खरिद गर्न सक्छ भन्ने प्रश्न उब्जिएको छ। महिन्द्राको आधिकारिक बिक्रेता अग्नी इन्कर्पोरेटले कमर्सियल गाडी बजारमा रहे पनि कार÷जिप÷भ्यान उपलब्ध नरहेको जनाएको छ। 

‘सरकारले कमर्सियल गाडी खरिद गर्दा उपलब्ध गराउन व्यवसायीलाई कुनै समस्या हुँदैन,’ अग्नी इन्कर्पोरेट प्रा.लिका महाप्रबन्धक वरदान बस्नेतले भने,‘तर जिप÷कार÷भ्यान आयात भने ४ महिनादेखि बन्द छ। बजारमा गाडी पाउनै मुश्किल रहेको छ।’

सरकारले वैशाख १३ गतेभन्दाअघि बैंकिङ माक्यमबाट पैठारीको प्रक्रिया सम्पन्न भइसकेका जिप कार, भ्यान, मोटरसाइकलमा पनि उक्त व्यवस्था लागू नहुने राजपत्रमा उल्लेख रहेको छ। 

अटो व्यवसायीका अनुसार बजारमा उपलब्ध भएका गाडी पनि दशैं तिहारको लागि बुकिङ भइसकेकाले सरकारले कसरी खरिद गर्छ भन्ने जानकारी नभएको बताउँछन्। 

‘सरकारले चाह्यो भने त जसरी पनि ल्याउन सक्ला। अहिले बजारबाट कार, जिप, भ्यान खरिद गर्न समस्या हुन्छ’, बस्नेतले भने। 
 
चुरोट र तास खुल्दा थोरै सीसीका गाडी पनि खुलेनन्
अटो व्यवसायीको छाता संगठन नाडा अटो मोबाइल्स एसोसिएसनले चुरोट र तासको आयात खुल्दा थोरै सीसीका गाडीको आयात नखुलेकोमा आक्रोस व्यक्त गरेका छन्। 

नाडा अध्यक्ष ध्रुव थापाले सरकारसँग कम सीसीका गाडी आयात खुलाउन माग गरे पनि सुनुवाइ नभएको बताए। 

‘हामीले १५ सय सीसीम्मका गाडी आयात गर्न दिन माग गरेका थियौँ’, ध्रुव थापाले भने, ‘चुरोट र तास आयात खुलाउँदा अत्यावश्यक भएका सवारी साधनको प्रतिबन्ध राखिएको छ।’

नाडा कार्यसमिति सदस्य तथा नाडा एक्स्पो संयोजक अनुप कुमार बरालले आक्रोश व्यक्त गरे। बरालले सौदाबाजी गरेर चुरोट तास र हिराको आयात खुल्ला गरेको बताए। 

‘सौदाबाजीमा बाँडफाँट गरियो, चुरोट, तास र हिराको आयात खुल्ला गरे’, बराल भन्छन्, ‘विकास र आवश्यकतासँग सिधा जोडिएको गाडी र मोटरसाइकल विलासिताको वस्तु भन्दै आयातमा प्रतिबन्ध लगाए।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .