नेपाल–भारत उद्योग वाणिज्य संघले नेपाल सरकारसँग वर्तमान समय सान्दर्भिक बौद्धिक सम्पत्ति सम्बन्धी कानून ल्याउन माग गरेको छ।
संघले ‘नेपालमा वैदेशिक लगानी आउनमा बाधक बौद्धिक सम्पत्ति सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर सो कुराको माग गरेको हो ।
कार्यक्रममा संघका कार्यबाहक अध्यक्ष सुनिल केसीले वर्तमान परिप्रेक्षमा बौद्धिक सम्पत्तिको अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे। उनले विश्वब्यापी डिजिटल परिवर्तन हुँदै गरेको समयमा यो अत्यन्त महत्वपूर्ण तथा समसामयिक विषय रहेको र यस सम्बन्धी हाम्रो कानूनमा पनि समय सापेक्ष सुधार हुनु आवश्यक रहेको बताए।
सो विषयमा प्रभावकारी कानूनको अभावमा नेपालमा विदेशी लगानको आगमनलाई सुनिश्चित गर्न चुकेको बताए। यसैको अभावमा नेपालमा सञ्चालित स्थापित विदेशी लगानीका कम्पनीहरुले पनि समस्या भोग्नुपरेको तथा यस बौद्धिक सम्पत्तिको कानूनको प्रभावकारी कार्यान्वयनको अभावमा हामीले विदेशी लगानी आकर्षित गर्न नसकिरहेको उनको भनाई छ। उनले सो सम्बन्धी प्रभावकारी कानून ल्याउन माग गरे।
बौद्धिक सम्पत्ति भन्दा यसभित्र ट्रेडमार्क, कपीराइट, पेटेन्ट डिजाइन लगायतका विषयहरु समेत समेटिएर आउने तथा यो एक बृहत बिषय भएकोले यो सम्बन्धी कानून विश्व बौद्धिक सम्पत्ति संगठन तथा अन्य संस्थाहरुले तय गरेका मापदण्ड अनुरुप गर्न आवश्यक रहेकोमा जोड दिए।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीको सम्भावना र अवसर हुँदा हुँदै पनि बौद्धिक सम्पत्तिको संरक्षणका लागी समय सापेक्ष कानूनको अभावमा लगानी भित्रिन नसकेको बताउँदै पछिल्लो समय तयार भएको बौद्धिक सम्पत्ति संरक्षण सम्बन्धी विधेयकको मस्यौदामा सरकारले सरोकारवाला निकायसँग छलफल गर्नुपर्ने बताए।
कार्यक्रममा नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्ण प्रसाद अधिकारीले बौद्धिक सम्पत्ति संरक्षण सम्बन्धी कानून भए पनि समय अनुसार त्यसमा परिमार्जन हुन नसक्दा हाल देखा परेका बौद्धिक सम्पत्ति सम्बन्धी समस्या समाधान हुन नसकेको विचार व्यक्त्त गरे।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पनि व्यापार घाटा कम गर्नको लागी सरकार तथा निजी क्षेत्रका समन्वयमा काम गर्न सकिने भएकोले सरकारले निर्यातमूखी नीतिमा जोड दिनुपर्ने भन्दै बौद्धिक सम्पत्ति सम्बन्धी कानून समय सापेक्ष हुनुपर्नेमा जोड दिए।
छलफलमा लामो समयदेखि बौद्धिक सम्पत्ति सम्बन्धी कानूनी पैरवी गरिरहेका वरिष्ठ अधिवक्ता सज्जनवरसिंह थापाले नेपालमा ५७ वर्ष पुरानो कानूनको अभ्यास भइरहेकोले पछिल्लो समय उत्पन्न भएका बौद्धिक सम्पत्तिका मुद्दाहरुको निराकरण तथा समाधान हुन नसकेको बताए। विश्वमा सूचना तथा प्रविधिको विकासमा तिब्रता आएसँगै बौद्धिक सम्पत्तिको महत्व बढेर गएको भएपनि नेपालमा भने समय सापेक्ष कानूनको निर्माणमा सरोकारवाला निकायले गम्भीर नभएको कारण पुरानै कानून कार्यान्वयनमा रहेको बताए।
नेपालमा रहेको बहुराष्ट्रिय कम्पनीहरुको प्रतिनिधित्व गर्दै सूर्य नेपालका प्रबन्ध निर्देशक रविकुमार रायभरमले विश्वमा कूल अर्थतन्त्रको एक तिहाई भाग बौद्धिक सम्पत्तिमा आधारित भएपनि नेपालमा भने समय सापेक्ष कानून तर्जुमा हुन नसक्दा यो क्षेत्रले गति लिन नसकेको बताए।
Shares
प्रतिक्रिया