ad ad

कारोबार


‘धितोपत्र बजार सम्बद्ध निकायले लगानीकर्ताको विश्वास बढाउन जोड दिनुपर्छ’

‘धितोपत्र बजार सम्बद्ध निकायले लगानीकर्ताको विश्वास बढाउन जोड दिनुपर्छ’

नेपालखबर
साउन १९, २०७९ बिहिबार २१:१८, काठमाडौँ

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले धितोपत्र बजारको भविष्य राम्रो बनाउनका लागि लगानीकर्ताहरूको हितमा काम गर्नुपर्ने बताएका छन्।

बिहीवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पुँजीबजारको वर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष हमालले लगानीकर्ताको विश्वास कायम रहे मात्र धितोपत्र बजारको विकास हुने बताएका हुन्। 

‘लगानीकर्ता छन् र त धितोपत्र बजार छ’ उनले भने, ‘लगानीकर्ताको हित सोच्ने हो भन्दै मात्रै सुरक्षित ठाउँमा पुग्न सकिन्छ।’

धितोपत्र बजारमा समस्या र चुनौति धेरै रहेको उल्लेख गर्दै उनले चुनौतिभित्र नै सम्भावना रहेको बताए। बोर्डमा अध्यक्षको जिम्मेवारी पाएको पाँच महिना पुरा भएको अवस्थामा बजारका सम्बन्धमा यस अघि भएका कमिकमजोरीलाई औँल्याउँदै समाधानको बाटो पहिल्याउन अग्रसर रहेको हमालको भनाई छ।

बजारमा सन्तुलन कायम गर्न वास्तविक क्षेत्रका कम्पनीहरूलाई भित्र्याउनुपर्ने अहिलेको आवश्यकतालाई औँल्याउँदै उनले बुक बिल्डिङ विधिलाई प्रभावकारी रुपमा अघि बढाउन सरोकारवाला सबैले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए।

बजारको अहिलेको आवश्यकतालाई ध्यानमा राखी क्यापिटल मार्केट इन्टिच्युट यहि वर्ष स्थापना गर्ने लक्ष्य समेत हमालले लिएका छन्। एसएमई प्लेटफर्म आगामी दुई महिनाभित्र निर्माण गरिसक्ने लक्ष्य पनि हमालको छ। 

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाश कुमार श्रेष्ठले धितोपत्र बजारमा सबैको भन्दा बजारको जोखिमलाई बुझेर लगानी गर्न सक्नेको लगानी हुनुपर्ने बताएका छन्। 

‘पछिल्लो समय बजारमा लगानीकर्ताको सहभागिता उत्साहजनक देखिन्छ। यो बजारको लागि राम्रो हो। तर, सबै क्षेत्र सबै मानिसका लागि उपयुक्त नहुन सक्छ’ उनले भने, ‘यसर्थ कम्पनी विश्लेषण गर्ने र बजारको जोखिम विश्लेषण गर्न सक्ने लगानीकर्ता मात्र बजारका लागि उपयुक्त हुन सक्छ।’

मर्चेण्ट बैंकर एसोसिएसन अफ नेपालका अध्यक्ष मेख बहादुर थापाले धितोपत्र बजार विकासका लागि नयाँ नीतिहरू ल्याउनुको सट्टा पुरानै बजारका लागि आवश्यक नीति कार्यन्यनका लागि सम्बन्धीत सबैले ध्यान दिनुपर्नेमा जोड दिए।

कार्यक्रममा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र स्टक ब्रोकर एसोसिएसन अफ नेपालको तर्फबाट कार्यपत्र प्रस्तुत भएको थियो। नेपाल धितोपत्र बोर्डको तर्फबाट कार्यवहाक उप–कार्यकारी निर्देशक नारायण प्रसाद शर्माले कार्यपत्र प्रस्तुत गरेका थिए भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को तर्फबाट प्रबन्धक निरञ्जन फुयाल र स्टक ब्रोकर एशोसिएशनको तर्फबाट अध्यक्ष सन्तोष मैनालीले कार्यपत्र प्रस्तुत गरेका थिए। 

कार्यपत्र प्रस्तुत गर्दै स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले ब्रोकरको पूँजी नभई नेटवर्थलाई हेरेर नीति बनाउँनुपर्ने बताए। ब्रोकरको संचरनाका लागि चुक्तापूँजी भन्दा पनि नेटवर्कको धारणा हुनुपर्नेमा जोड दिए। 

उनले अहिले भइरहेको कारोबार मध्ये ७० प्रतिशत उधारो कारोबार हुने र सेटलमेन्टमा ५ रूपैयाँ ब्रोकरबाट उपलब्ध नहुँदा सेटलमेन्ट नभई ब्रोकर कारबाहीमा पर्ने उनले बताए। उधारो कारोबार गर्ने लगानीकर्ताको शेयर बेचेर सेटलमेन्ट गर्न नसकिने धारणा समेत उनले राखे। 

सबैको नजर ब्रोकर कमिसनमा हुने तर व्यवसाय गर्ने नेप्से भन्दा बढी कमिशन नियामक धितोपत्र बोर्डको रहेकोमा कसैको ध्यान नगएको प्रति चिन्ता व्यक्त गरे। दक्षिण एशियामा नेपालको ब्रोकर कमिसन तुलनात्मक रूपमा कम रहेको समेत उनले बताए।

त्यस्तै नेप्सेका प्रबन्धक निरञ्जन फुयाँलले धितोपत्र बजारमा ८० प्रतिशत फाइनान्सियल सेक्टरको सहभागिता रहेको भन्दै वास्तविक क्षेत्रको प्रतिनिधित्व बढाउनुपर्ने बताए। 

नेपाल धितोपत्र बोर्डको तर्फबाट कार्यपत्र प्रस्तुत गर्दै उप–कार्यकारी निर्देशक नारायण प्रसाद शर्माले बजारमा सबै विज्ञ हुनुभन्दा पनि बजारप्रतिको जोखिम र प्रतिफल सम्बन्धी धारणा बनाउनुपर्ने बताए। नियामक निकाय बोर्डलाई जवाफदेही सहितको स्वायत्तता हुनुपर्ने धारणा पनि उनले राखे। बजार विकासका लागि नेप्सेको कारोबार प्रणाली थप प्रविधियुक्त हुनुपर्ने र क्षमता बढाउनुपर्नेमा समेत उनले जोड दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .