अर्थ मन्त्रालयमा बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गरेको सन्दर्भमा सूचनाको हक प्रयोग गरी सीसीटीभी फुटेज माग गरिएको छ।
उपभोक्ता हित संरक्षण मञ्चले मन्त्रालयसँग सीसीटीभी फुटेजको प्रतिलिपि माग गरेको हो।
मञ्चले सोमबार मन्त्रालयका सूचना अधिकारीलाई पत्र लेखि २०७८ जेठ २४ गते बेलुका ६ बजेदेखि २५ गते बिहान ६ बजेसम्मको प्रतिस्थापन विधेयक र जेठ १४ गते बेलुकी ६ बजेदेखि मिति १५ गते बिहान ६ बजेसम्म आर्थिक विधेयक तर्जुमा गर्दाका बखत अर्थ मन्त्रालय रहेको भवन भित्र कस्ता मानिसहरुको आगमन भएको थियो, सो सम्बन्धमा तथ्यगत जानकारी सहित अध्ययन गर्न उक्त समयको सीसीटीभी फुटेजको प्रतिलिपी माग गरेको हो।
उक्त समयमा मानिसहरुको आवतजावत भएको सम्पूर्ण दृश्य देखिने सीसीटीभीको फुटेजको प्रतिलिपी पाउन सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ३ र ७ बमोजिम निवेदन गरिएको मञ्चले जनाएको छ।
अर्थमन्त्री जनार्दन शर्मालाई बोधार्थ दिइएको सो पत्रमा भनिएको छ, ‘माग भए बमोजिमको सीसीटीभी सम्पूर्ण फुटेज त्यस मन्त्रालयबाट यस मञ्चलाई प्राप्त हुन नसकेमा हाल सार्वजनिक भए जस्तै प्रतिस्थापन विधेयक र अर्थ विधेयक मस्यौदाको क्रममा अनाधिकृत व्यक्तिहरुको प्रवेश गराई विधेयक तर्जुमा भएको तथ्य स्वतः पुष्टी हुने व्यहोरा समेत अनुरोध छ।’
उपभोक्ता हित संरक्षण मञ्चको तर्फबाट सचिव जय प्रसाद पौडेलले सो निवेदन दर्ता गराएका हुन्।
अर्थ मन्त्रालयमा बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएकाे भन्दै सदनदेखि सडकसम्म अर्थमन्त्री शर्माकाे आलाेचना भएकाे छ।
मन्त्रालयले भने साे आराेप अस्वीकार गर्दै आएको छ।
Shares
प्रतिक्रिया