ad ad

कारोबार


सवारी आयात प्रतिबन्ध खुलाउन नाडाको माग, साउनदेखि खुल्ने आपूर्तिमन्त्रीको आश्वासन

सवारी आयात प्रतिबन्ध खुलाउन नाडाको माग, साउनदेखि खुल्ने आपूर्तिमन्त्रीको आश्वासन

नेपालखबर
असार ७, २०७९ मंगलबार १७:१७, काठमाडौँ

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले हाल कायम सवारीसाधन आयातमाथिको प्रतिबन्ध हटाउन सरकारसँग माग गरेको छ। 

अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले सोमबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसँग भेट गरी कार, जिप र भ्यानजस्ता निजी प्रयोजनका सवारीसाधनहरुको आयातमा लगाइएको प्रतिबन्ध खुला गर्न माग गरेको हो। 

उक्त भेटघाट तथा छलफलमा अध्यक्ष थापाले सरकारले देशको बर्तमान विदेशी मुद्रा सञ्चितिमा सुधार ल्याउन भन्दै निजी प्रयोजनका कार, जिप र भ्यानलाई यही असार मसान्तसम्मको लागि यस उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक सूचना प्रकाशित गरी आयातमा लगाइएको प्रतिबन्ध तत्काल खारेज गरी अटोमोबाइल व्यवसायीहरुलाई आफनो व्यवसाय गर्ने वातावरण सिर्जना गर्न अनुरोध गरेका थिए। 

बैंक तथा वित्तीय निकायहरुमा फाइनान्सको असहजता, एलसी मार्जिनमा गरिएका वृद्धि, जोखिम भार व्यवस्थापनमा दोब्बरले गरिएका वृद्धिजस्ता विषयहरुले विगत ८ महिनादेखि अटोमोबाइल व्यवसायमा ८० प्रतिशतभन्दा बढीले ह्रास आएको अध्यक्ष थापाले अवगत गराएको नाडाले जनाएको छ। 

सोही भेटघाटको क्रममा अध्यक्ष थापाले देशलाई भन्सार विन्दुमा उठने परल मूल्यभन्दा दोब्बर राजस्व बुझाउदै देशको कूल कर राजश्वमा झण्डै २५ प्रतिशत योगदान पु¥याएको नेपालको अटोमोवाइल क्षेत्रमा खर्बोको लगानी तथा लाखौलाई रोजगारी प्रदान गरेका व्यवसायीहरु अहिले धरासायी हुने अवस्थामा पुगेकोले यसलाई तत्काल सम्बोधन गर्न पनि आयात प्रतिबन्ध खुलाउनुपर्ने बताए। 

यसै छलफलका क्रममा अध्यक्ष थापाले अन्तर्राष्ट्रियक्षेत्रमा समेत प्रतिष्ठा आर्जन गर्दे आएको तथा देशकै सबैभन्दा ठूलो र भव्य रुपमा सम्पन्न हुदै आएको नाडा अटो एक्सपो २०२२ यही २०७९ सालको भाद्र ७ गते देखि १२ गतेसम्म काठमाण्डौको भृकुटी मण्डपमा सम्पन्न गर्ने निर्णय भइसकेको र यस किसिमको प्रदर्शनीले राष्ट्रिय अर्थतन्त्रमा समेत सहयोग पु¥याउने भएकोले त्यसको सहजताको लागि समेत निजी प्रयोजनका सवारी साधनहरुको आयातमा लागेको प्रतिवन्ध खुल्न जरुरी रहेको बताएका थिए। 

सो भेटघाटको क्रममा मन्त्री दिलेन्द्रप्रसाद बडूले कार जीप र भ्यान जस्ता निजी सवारीसाधनहरुको आयातमा लागेको प्रतिबन्ध यो आषाढ मसान्तसम्मको लागि मात्र भएकोले धैर्य गर्न अनुरोध गरेको नाडाले जनाएको छ। 

मन्त्री बडूले आउदो श्रावण १ गते देखि सो प्रतिबन्ध फुकुवा हुने आश्वासन दिएका थिए। उक्त भेटघाट तथा छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती, कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्य आकाश गोल्छा तथा एसोसिएसन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .