ad ad

कारोबार


नेपाली वस्तु बंगलादेश निर्यातमा सहजीकरण गरिदिन राजदूत चौधरीसँग आग्रह

नेपाली वस्तु बंगलादेश निर्यातमा सहजीकरण गरिदिन राजदूत चौधरीसँग आग्रह

नेपालखबर
बैशाख १६, २०७९ शुक्रबार १८:२७, काठमाडौँ

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसँग नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्धीन नोमन चौधरीले शिष्टाचार भेटवार्ता गरेका छन्। 

मन्त्रालयमा भएको भेटघाटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

छलफलमा राजदूतले दुई देशबीचको सम्बन्धलाई ऊर्जा विकास, व्यापार सहजीकरण तथा पर्यटन प्रवर्द्धनका क्षेत्रमा सहकार्यमार्फत थप सुदृढ गर्न सकिने विचार व्यक्त गरे।

नेपाल बंगलादेश बीचको सौविध्यपूर्ण व्यापार सम्झौताको छलफललाई अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै नेपाली वस्तुहरुको बंगलादेश निर्यातमा सहजीकरण गर्न बंगलादेश सरकार तत्पर रहेको कुरा उल्लेख गरे।

राजदूतले गत वर्ष नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको बंगलादेश भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयनका पक्षबारे चासो राख्नुहुँदै ऊर्जा विकास, व्यापार, पर्यटनलगायतका क्षेत्रमा बंगलादेशले नेपालमा लगानी गर्न चाहेकोले त्यसका लागि लगानीमैत्री वातावरण र लगानी सुरक्षाको विषयमा मन्त्रीबाट नेतृत्वदायी भूमिका निर्वाह हुने विश्वास व्यक्त गरे।  

मन्त्री बडुले कोभिड—१९ महामारीमा बंगलादेशले स्वास्थ्य क्षेत्रमा गरेको सहयोगका लागि विशेष धन्यवाद व्यक्त गरे। 

उनले नेपाल र बंगालदेशबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ५० औं वर्ष प्रवेशको अवसरमा राजदूत चौधरीमार्फत बंगलादेश सरकार र त्यहाँका जनतालाई हार्दिक शुभकामना व्यक्त  गर्दै आगामी दिनमा दुई देशबीच वाणिज्य, पर्यटन, ऊर्जालगायतका क्षेत्रमा थप सहकार्य हुने  बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .