ad ad

कारोबार


चम्पादेवी केबलकारः ६ अर्बको परियोजना २१ वर्षदेखि म्याद थप्दै डाँडा ओगट्दै

चम्पादेवी केबलकारः ६ अर्बको परियोजना २१ वर्षदेखि म्याद थप्दै डाँडा ओगट्दै

दीपक भट्ट
बैशाख १, २०७९ बिहिबार ८:४६, काठमाडौँ

दक्षिणकाली नगरपालिका वडा नं १ को चाल्नाखेल, वोसनमा सञ्चालनमा आउने भनिएको चम्पादेवी केबलकारको २१ वर्षदेखि ठाउँ मात्रै ओगटेर बसेको देखिएको छ। 

२१ वर्षमा २५ पटक दर्ताको म्याद थप हुँदा समेत यस परियोजनाको काम सुरु हुन नसकेको हो। उद्योग विभागमा २०५७ साल कात्तिकमा दर्ता भएको यस परियोजनाको अहिलेसम्म म्याद थप मात्रै भइरहेको छ। यसको प्रगति भने अहिलेसम्म शून्य नै छ। 

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश कुमार अग्रवालसहितको टिमले निर्माण गर्ने भनिएको चम्पादेवी इको फ्रेन्डली कम्पनी प्रालि नामबाट दर्ता भएको यस केबलकार परियोजनाले हरेक पटक म्याद थप हुने समयमा निर्माणकार्य अब सुरु भइहाल्छ भन्ने तर कामचाहिँ अघि नबढाउने गरेको देखिएको हो। 

२५ पटक म्याद थप भएकोमा २०७६ मा अन्तिम पटकलाई भन्दै ६ महिनाको लागि उद्योग विभागले म्याद थप गरेको थियो। त्यसपछि अहिले यस केबलकार कम्पनी म्याद गुज्रिएर बसेको छ। अहिले पनि म्याद थप गर्नको लागि भन्दै उद्योग विभागमा आवेदन आएको छ। गत जेठमा आएको आवेदन अहिलेसम्म उद्योग विभागले सदर गरेको भने छैन। 

करिब २ वर्षअघि नै अन्तिम पटकलाई भन्दै म्याद थप भएको यसमा पुनः म्याद थप गर्न उद्योग विभागले आँट गरेको छैन। उद्योग विभागलाई दबाब दिन गत हप्ता यस केबलकार कम्पनीले आफ्नो लगानी गर्ने योजना र निर्माण भएपछि हुने फाइदाबारे जानकारी गराएको थियो। पत्रकार सम्मेलन नै गरेर यही अंग्रेजी वर्षको अन्तिमबाट काम सुरु हुने जानकारी गराएको थियो। यसमा ६ अर्ब रुपैयाँ लगानी हुने समेत बताइएको थियो। यसले उपत्यकाको एक महत्वपूर्ण पर्यटकीय स्थलको रुपमा परिचित गराउने जानकारी गराइएको थियो। पत्रकार सम्मेलनमा गराइएको जानकारीअनुसार आवश्यक प्राविधिक कार्य पूरा भएको र अब निर्माण प्रक्रिया सुरु हुने भनिएको छ।

तीन वर्षमा निर्माणकार्य सम्पन्न भई सो केबलकार सञ्चालनमा आउने दाबी अहिले फेरि गरिएको छ। कम्पनीका अनुसार चम्पादेवी माताको मन्दिर रहेको डाँडा समेत करिब २२ हेक्टर वन क्षेत्र नेपाल सरकारबाट प्राप्त भएको छ। केही प्राविधिक एवं कानुनी अवरोधहरुको निकास समेत आएकोले परियोजनाको कार्य तीव्रगतिले प्रारम्भ गरिएको कम्पनीको दाबी छ। 

कम्पनीले भनेको छ, ‘हामीलाई आवश्यक पर्ने जग्गाका जग्गाधनीहरु नेपाल तथा नेपालबाहिर विभिन्न देशमा बस्ने भएको हुँदा निज जग्गाधनीहरुलाई सम्पर्क गरी निवेदक कम्पनीलाई आवश्यक पर्ने बेस स्टेसन, रोप वेका जग्गाहरु खरिद गर्ने काम सम्पन्न गरिएको छ।’

कम्पनीले उक्त कार्य गर्दागर्दै कोभिड–१९ को महामारी देशैभर फैलिई देशै बन्द रहेको अवस्था भएकोमा ६ महिना काम गर्न नसकी सोपश्चात् उक्त क्षेत्रको खहरे चोकदेखि चाल्नाखेल वोसनमा रहेको कम्पनीको बेस स्टेसनसम्मको बाटोको सर्भे गरिएको, कम्पनीलाई आवश्यक पार्किङ एरिया सर्भे गरिएको, रोप वेको सर्भे गरिएको चम्पादेवी माताको मन्दिर एरिया, माउन्टेन–१ र २ सर्भेको काम भएको छ। 

कम्पनीले उक्त केबलकार सञ्चालनका लागि डिजाइन अष्ट्रियन कम्पनीबाट तयार गरिएको जनाएको छ। कम्पनीका अनुसार यहाँ ल्याइने केबलकार युरोपियन केबलकार हुनेछ। सन् २०२५ सम्म निर्माण नै सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ। 

हल्ला चलाउने, काम नगर्ने 
यो कम्पनीले ‘अब निर्माण सुरु हुनै लाग्यो’ भनेर वर्षौंदेखि भन्दै आएकाले उसको पछिल्लो भनाइमा पनि कसैलाई विश्वास छैन। सबै काम पूरा भइसकेको भनेर कम्पनीले भन्दै आएको करिब ३/४ वर्ष बितिसकको छ। 

यो पटक भने उद्योग विभागले सोचेर मात्रै म्याद थप गर्ने विषयमा निर्णय लिइने बताएपछि कम्पनीले काम सुरु हुनलागेको भन्दै पत्रकार सम्मेलन नै गरेको हो। म्याद थपको लागि आवेदन परेपछि ३ महिनाअघि उद्योग विभागका अधिकारीहरूले स्थलगत भ्रमण गरेका थिए। जसमा प्रगति शून्य पाइएको थियो। 

उद्योग विभागका निर्देशक भुक्तराज जोशीका अनुसार त्यस परियोजनाको प्रगतिको जानकारी अहिले विभागले मागिरहेको छ। 

उनले भने, ‘३ महिनाअघि मात्रै उद्योग विभागको एक टोली स्थलगत निरीक्षणको लागि गएको थियो। त्यस समयमा समेत प्रगति शून्य देखिएको थियो।’ 

त्यसपछि अहिले उद्योग विभागले लगानीकर्तासँग नै एक पटक बसेर छलफल गर्ने र आवश्यक निर्णय लिने मनसाय बनाएको तर लगानीकर्ताहरु तयार नदेखिएको जोशीले बताए। 

नेपालमा जलविद्युतका परियोजनाहरु लामो समय होल्ड हुने गरेका छन्। त्यही हिसाबमा चम्पादेवीको यो डाँडा पनि होल्ड भएर मात्रै बसेको हो कि भन्ने आशंका विभागको छ। 

निर्देशक जोशीले भने, ‘उद्योगहरुलाई प्रवर्द्धन गर्ने त उद्योग विभागकै काम हो। तर उद्योगीहरुले पनि दिएको अवधिमा केही काम त गर्नुपर्छ। यसको लागि उद्योगीले चासो भने देखाएको देखिँदैन। उद्योगीलाई हामीले आउनुस् त भनेको नै हो। तपाईंहरुको प्रगति विवरणहरु हेरौँ भनेका छौँ।’ 

जोशीले थपे, ‘कुनै उद्योगको दर्ता खारेजी गरेर उद्योग विभाग तथा राज्यले केही पनि पाउँदैन तर यस परियोजना साँच्चिकै अगाडि बढाउन खोजिएका हो वा होइन भन्ने विषयमा चाहिँ स्पष्ट हुन चाहेका छौँ।’

परियोजना किन अघि बढेन?
कम्पनीका सञ्चालकहरु लामो समययता परियोजना अघि बढाउन नसकेको स्वीकार गर्छन्। तर अब भने काम सुरु हुने उनीहरुले बताएका छन्।

कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले भने, ‘हामीले समयमा नै सञ्चालन गर्न नसक्नुमा धेरै कारणहरु छन्। पहिलो कुरा हामी काम सुरु गर्ने तयारीमा थियौँ। त्यही बेला भूकम्प आयो। अहिले कोरोनाका कारण पनि काम अघि बढ्नसकेको थिएन। तर हामी विस्तारै अघि बढ्दै छौँ।’ 

केही दिनअघि मात्रै यही अंग्रेजी वर्षको अन्त्यबाट भौतिक कार्य सुरु हुने बताएको र त्यहीअनुसार लागिपरेको उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .