ad ad

कारोबार


जसले ‘वेद’ सफ्टवेयरबाट ८०० विद्यालय जोडे, विदेशमा फैलिने तयारी थाले

जसले ‘वेद’ सफ्टवेयरबाट ८०० विद्यालय जोडे, विदेशमा फैलिने तयारी थाले

वेदाका संस्थापकत्रय निर्देश द्वा, सुजित पाठक र सञ्जन पिया।


वसन्त अर्याल
चैत १३, २०७८ आइतबार ९:५६, काठमाडौँ

७ वर्षअघि विद्यालयका प्रशासनिक कामसम्म कम्प्युटरबाट हुनथालेका थिए। विद्यालयहरु आफैँ वेबसाइट र फेसबुक पेज चलाउँथे। तर विद्यालय र अभिभावकलाई नियमित र सिधा सञ्चार गर्ने विशेष माध्यम थिएन।   

अभिभावक विद्यालय जान नभ्याउने, विद्यालयले चिठी लेखेर जानकारी दिनुपर्ने। यसो हुँदा आफ्ना सन्तानको पढाइबारे थाहा पाउन मुस्किल थियो। घरमै गाइड गर्न पनि उस्तै अप्ठ्यारो। 

विद्यालयमा डेक्सटप कम्प्युटर र इन्टरनेट, अभिभावकको हात–हातमा स्मार्टफोन। प्रविधि र साधन उपलब्ध भएर के गर्नु! परस्परमा जोडिनसकेका थिएनन्। यी दुईलाई जोड्ने माध्यम भएन।

त्यही माध्यम बन्न तयार भए तीन युवा– निर्देश द्वा, सुजित पाठक र सन्जन पिया। 

पछिल्लो समय उनीहरुले विकास गरेको सफ्टवेयर प्रणाली ‘वेद’ विद्यालय क्षेत्रमा लोकप्रिय बनिरहेको छ। 

वेदः डिजिटल समाजको ऐना 
तीन सिर्जनशील युवाले जन्माएको वेद आफैँमा एउटा सफ्टवेयर प्रणाली हो। जसले विद्यार्थी, अभिभावक र विद्यालयलाई जोड्ने पुलको काम गरिरहेको छ। विद्यालयले विद्यार्थीलाई दिएका गृहकार्य अभिभावकले घरमै चेक गर्नसक्ने व्यवस्था वेदले मिलाइदिएको छ।  

कोभिड अघिसम्म वेदको टिमलाई नेपालमा डिजिटल सिकाइ व्यवस्था तत्काल काम छैन भन्ने लागेको थियो। अनलाइन बसेर पढ्न नेपालमा इन्टरनेट नहुने, डिभाइस नहुँदा इ–लर्निङमा वेदले ध्यान दिएको थिएन। कोभिड महामारीसँगै विद्यालयको अनलाइन आवश्यकता बढ्दै गयो। 

प्रशासनिक कामलाई एपबाट सहज बनाएको वेद कोभिडपछि सिकाइ व्यवस्थापन तर्फ पनि लाग्यो। विद्यालयको एपलाई जुम र माइक्रोसफ्टसँग वेदले लिंक गराइदियो। योसँगै दैनिक लिंक र पासवर्ड सबैलाई छुट्टै पठाउनुपरेन।

विद्यालय प्रशासनलाई चाहिने सबै कुरा वेदले उपलब्ध गराएको बताउँछन् यसका संस्थापकत्रय।  

कोभिडका बेला अनलाइनबाट कक्षा सुरु भएसँगै होमवर्क चेक गर्न शिक्षकलाई समस्या थियो। त्यसको समाधान वेदले गरिदियो। वेदबाटै विद्यार्थीले होमवर्क पठाउनसक्ने र यसमै शिक्षकले चेक गर्न सकिने भयो। होमवर्कको नम्बर पनि वेदबाटै दिनसक्ने व्यवस्था गर्यो। कोभिडको कारण नेपालमा इ–लर्निङको पूरा प्याकेज वेदले तयार पारेको थियो। 

‘चैतमा लकडाउन भयो। वैशाख १ गतेसम्म वेदले अनलाइनबाटै अध्ययन गर्नसक्ने व्यवस्था मिलायौँ’, सुजितले भने, ‘पढ्ने सामग्री वेदमै राख्न सक्ने। अनलाइन पढ्दा अटोमेटिक एटेन्डेन्स। शिक्षकको रिपोर्ट पनि यहीँ आउने।’ 

यसले विद्यालयलाई सहज भयो। पहिला बुझाउँदै हिँड्नुपर्ने विद्यालय आफैँ खोज्दै आउन थाले। २०१५ मा सुरु गर्दा ५–६ महिनामा १५ वटा विद्यालय मात्रै वेदमा आबद्ध भएका थिए। १ वर्षमा ४५ विद्यालय, २ वर्षमा १५०, ३०० हुँदै अहिले ८०० बढी शैक्षिक संस्था वेदमा आबद्ध भएका छन्। 

कोभिडअघि वेदमा आबद्ध ४०० विद्यालय रहेका थिए। २ वर्षमा त्यसको संख्या बढेर ८०० पुगेको छ। कोभिडअघि १५ जना मात्रै कर्मचारी रहेको वेदमा एकै पटक ६० जना पुगे। अहिले ७० जना कार्यरत छन्। 

नेपालमा डिजिटल पूर्वाधार कमी छ। विद्यार्थीलाई घरमै राखेर अध्ययन गराउन अझै समस्या छ। धेरै विद्यालय कोभिडपछि हाइब्रिड मोडलमा चलिरहेका छन्।

कुनै कारणले विद्यालय बन्द हुने अवस्थामा पनि विद्यालयले अनलाइनबाटै कक्षा लिन थालेका छन्। केही समयअघि बढी प्रदूषण हुँदा होस् वा नेपाल बन्द हुँदा विद्यालयको लागि विकल्प स्थापित भइसकेको छ।

सेन्ट जेभियर्सबाट ‘ब्रेक थ्रु’
वेदमा यत्तिकै विद्यालयहरु आउनथालेका होइनन्। तीनै जनाले यसलाई बनाएपछि उनीहरुलाई आफ्नो कन्सेप्ट बुझाउन समय लाग्यो। विभिन्न विद्यालय धाए। सिस्टम राखेको २ महिनामै छाडेर जानसक्ने भन्दै विद्यालयहरु अविश्वास गर्थे। 

सूचना प्रविधि (आईटी)मा राम्रो गर्नेहरु अमेरिका, अस्ट्रेलिया जान्थे। डराउनु स्वाभाविक थियो। तर उनीहरु वेदले सेवालाई निरन्तरता दिन्छ भन्ने विश्वास दिलाउन सफल भए। यसो गर्नै महिनौँ लागेको बताउँछन् सुजित। 

नेपालमा डिजिटल सेवाको रुपमा विद्यालय व्यवस्थापनको कन्सेप्ट विकास भइसकेको थिएन। नाम चलेका ७–८ वटा विद्यालयमा ‘कन्सेप्ट’ बुझाइरहेका थिए। वेदको पहिलो ग्राहक बन्यो सेन्ट जेभियर्स स्कुल। सेन्ट जेभियर्सले विश्वास गरेरभन्दा पनि युवाहरुको सोच परीक्षण गर्ने अवसर दियो। 

‘सबै स्कुलमा जाँदा तपाईंहरु युवा हुनुहुन्छ। आईटीमा राम्रै गर्न सक्नुहुन्छ। राम्रो गर्नेबित्तिकै बाहिर जानुहुन्छ’, वेदका सहसंस्थापक रहेका सुजितले थपे, ‘केही समयको लागि मात्रै किन सिस्टम खरिद गर्ने भन्ने प्रश्न हुन्थ्यो।’

सेन्ट जेभियर्सको आवश्यकता पनि कुनै सूचना एक क्लिकमा हरेक अभिभावककहाँ पुर्याउनुपर्थ्यो। विद्यालयले आफ्नै नाममा एप खोजिरहेको थियो। वेदले विद्यालयको आवश्यकता यसकै सिस्टमबाट पूरा गरिदियो। वेदले अभिभावक र शिक्षकको सुझाव र प्रतिक्रिया एपबाटै दिनसक्ने व्यवस्था गर्यो।  

‘सुरुमा पेमेन्ट नै नलिई विद्यालयको आवश्यकताका आधारमा काम गर्यौँ’, अनुभव सुनाउँदै सुजितले भने, ‘बजार यो सिस्टम चाहिन्छ भन्ने अवस्थामा थिएन।’

डिजिटल स्कुल भने पनि ‘डेक्सटपमा आधारित सिस्टम’मै निर्भर थिए। जहाँ डेक्स्टप बेस सिस्टममा शिक्षकले कपि चेक गरेर नम्बर दिन्छन्। रिजल्ट निकाल्ने समयमा एक जनाले दिन/रात कप्युटरमा नम्बर इन्ट्री गरेर रिजल्ट निकाल्थे।

अहिले सेन्ट जेभियर्समा हरेक विषयका शिक्षकले आफैँ इन्ट्री गर्छन्। रिजल्ट निकाल्ने समयमा रातभर डाटा इन्ट्री गर्नु पर्दैन। हरेक अभिभावकको मोबाइलमा रिजल्ट आउँछ। सेन्ट जेभियर्समा जहिले पनि भर्नाको समयका एकदम भीड हुन्छ। वेदको सिस्टमबाट भर्ना हुन्छ। जहाँ घरबाटै फर्म भर्छन्। त्यहीँबाट पैसा तिर्छन्। 

सेन्ट जेभियर्समा राम्रो सेवा प्रदानसँगै वेदलाई फैलाउन सहज भयो। विद्यालयको संख्या बढ्दै गयो। वेद सञ्चार एपको रुपमा विकास गरे पछि विद्यालयका माग बढ्दै गए। उनीहरुले पनि वेदमा सेवा थप्दै गए। 

प्ले ग्रुपदेखि कलेजसम्म, ७ लाख विद्यार्थी जोडिए वेदमा 
वेदमा मन्टेश्वरी ८० को हाराहारीमा छन्। कलेज १०० वटाजति छन्। ६०० भन्दा बढी विद्यालय १ देखि १० कक्षा अध्ययन हुने विद्यालय छन्। काठमाडौंका सेन्ट जेभियर्स, रातोबंगलादेखि सरकारी विद्यालयसम्म जोडिएका छन्। वेदमा सरकारी विद्यालय करिब ७० बढी छन्। 

यसरी वेदमा धादिङको दुर्गमदेखि स्याङ्जासम्मका ७ लाख विद्यार्थी जोडिएका छन्।  पूर्वको दमक नगरपालिकाअन्तर्गतका सबै विद्यालय वेदमा आबद्ध छन्। समता विद्यालयलाई वेदले निःशुल्क सेवा प्रदान गरिरहेको छ। 

वेदले जस्तोसुकै शैक्षिक संस्थालाई मिल्नसक्ने प्रणाली विकास गरेको छ। विद्यालय तहमा अभिभावक र विद्यालयबीच बढी सञ्चारको काम हुन्छ भने कलेजस्तरमा विद्यार्थी र कलेजबीच बढी सञ्चार हुन्छ। 

वेदले किन्डर गार्डेनका रिजल्ट देखाउन स्टार, इमोजीदेखि त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालयको सिस्टमअनुसार रिजल्ट आउने व्यवस्था गरेको छ। शैक्षिक संस्थाको मागअनुसार काम गर्दै अघि बढेका छन्। 

अहिले २४ वटा जिल्लामा वेदको सेवा सुरु भएको छ। सर्भिस सुरु गर्दा धेरैलाई बुझाउनुपर्थ्यो। अहिले धेरै शैक्षिक संस्थालाई वेद के हो भन्ने थाहा छ। अहिले बुझाउन धेरै समस्या छैन। 

‘वेद राखेपछि विद्यालय ढुक्क भएका छन्। विद्यालयको सबै डेटा वेदको सपोर्ट टिमले अनबोर्ड गर्छ’, वेदका सीईओ तथा सहसंस्थापक निर्देश द्वा भन्छन्, ‘केही शिक्षक तथा कर्मचारीलाई तालिम दिन्छौँ। विद्यालयमा आईटी कर्मचारी हुँदैनन्। सफ्टवेयर चलाउन वेदले नै सिकाउँछ।’

वेदले विद्यालयमा सिस्टम सेटअप गर्दा चार्ज लाग्दैन। विद्यार्थीको रजिस्ट्रेसनका आधारमा वेदले आम्दानी गर्दै आएको छ। प्रतिविद्यार्थी वार्षिक २ सयको हाराहारीमा विद्यालयबाट शुल्क लिने गरेको छ। विद्यालयले सेवाको आधारमा विद्यार्थीसँग शुल्क उठाउँछन्।

विद्यालय डिजिटल सिस्टम हुनुपर्छ। सबै विद्यालयको मनिटरिङ वेदको सिस्टमले हेरिरहेको हुन्छ। कुनै समस्या देखिए आफैँ समस्या समाधान गर्छ। ७ वर्षको अन्तरालमा वेदमा जोडिएका ९९ प्रतिशत विद्यालय वार्षिक नवीकरण गरिरहेका छन्।   

‘सफ्टवेयर डेभलपमेन्ट गर्ने सबै थिए तर विद्यालयले चाहेको सेवा दिनसकेका थिएनन्’, सीईओ द्वा भन्छन्, ‘डेभलपमेन्ट जसले पनि गर्न सक्छ विद्यालयले चाहेको सेवा दिनसक्नु ठूलो कुरा हो।’ 

सन् २०२३ सम्म २० हजार विद्यालय वेदमा आबद्ध गर्ने उनीहरुको योजना छ। नेपाल र नेपालबाहिर गरी उक्त संख्यामा विद्यालय यस प्रणालीमा जोड्ने उनीहरु बताउँछन्। 

एउटा कोठाबाट सुरु भएर विदेशसम्म फैलिँदै  
एक आईटी कम्पनीमा सँगै काम गर्ने ३ साथी मिलेर वेद सुरु भएको थियो। निर्देश, सुजित र सन्जन यसका संस्थापकहरु हुन्। 

सीईओ निर्देश वेदको बिजनेस डेभलप्मेन्ट हेर्छन्। म्यानेजिङ डाइरेक्टर सुजित कम्पनीको आईटी मोनिटरिङ गर्छन् भने सीओओ सन्जन सर्भिस सपोर्ट र अप्रेसन हेर्छन्।

वेद जन्माउनुअघि तीनै जना आईटी कम्पनीमा अरुका सफ्टवेयर बनाउँथे। आफ्नै नयाँ सोच लागू गर्नसक्ने अवस्था थिएन। शिक्षा क्षेत्रमा केही गरौँ भन्ने सोचिरहेका थिए। भूकम्पपछिको खाली समय भयो। यसैलाई अवसरमा बदल्दा वेद जन्मियो।  

यसको नाम भने सुजितले जुराए। लोगो निर्देशले बनाए। आईटी अध्ययन गरेका ३ जनाले सिस्टमको डिजाइन, कोडिङ आफैँ गरे। 

३ जनाले ५०–५० हजार राखेर सुरु गरेका थिए। आफैँ सिस्टम डेभलप गरे। वेद सुरु भएको केही समय फ्रिलेन्सरको रुपमा काम गरे पनि २०१७ देखि पूर्ण रुपमा वेदमै निर्भर छन्।

अहिले त चितवनमा आफ्नै शाखा खोलिसकेका छन्। पोखरामा कमिसन बेसमा डिलरसिप हस्तान्तरण गरिएको उनीहरु बताउँछन्। नेपालभर फैलाउन केही ठाउँमा आफ्नै शाखा खोल्ने र बाँकीमा डिलरसिप दिने योजना छ। 

योबीचमा उनीहरु विदेशमा अनलाइनबाट शैक्षिक संस्था कसरी चलिरहेका छन् भनेर अवलोकन गरे। अस्ट्रेलिया, फिनल्यान्ड, अमेरिका, चीनका विद्यालयमा रहेको डिजिटल सिस्टम बुझे। यसले नेपालको प्रविधि क्षेत्रले पनि विदेशमा प्रतिस्पर्धा गर्नसक्ने देखे। वेदलाई विदेशमा फैलाउन छलफल सुरु गरे। 

अहिले ब्रुनाईमा वेदको सिस्टम चल्न सुरु गरेको छ। केही विद्यालय वेदमा आबद्ध भइसकेका छन्। दर्जन विद्यालयसँग सम्झौता हुँदै छ। 

‘सुरुवातदेखि नै वि ह्याभ ग्लोबल एम्बिसन भन्थ्यौँ’, निर्देश भन्छन्, ‘कतिले हावा कुरा हो गर्न सक्दैनन् भन्थे। एउटा देशमा गएर भए पनि प्रमाणित गयौँ।’

३ जना युवालाई मेन्टरको रुपमा वल्र्डलिंकका दिलिप अग्रवालले सहयोग गरिरहेका छन्। अग्रवालको पनि थोरै लगानी छ।   

‘दिलिप अग्रवाल हाम्रो इन्भेस्टरभन्दा पनि मेन्टर हो। उहाँको गाइडले वेदलाई ठूलो बनाउन सहयोग गरेको छ’, निर्देश भन्छन्, ‘विदेशमा वेदको सेवा फैलाउँदै छौँ। त्यसको लागि ठूलो विदेशी लगानी भित्रिने विश्वासमा छौँ।’

वेदलाई विदेशमा फैलाउन नेपाल सरकारको नीतिले अप्ठ्यारो परिरहेको छ। सरकारले १ रुपैयाँ पनि बाहिर लगानी गर्न दिँदैन। 

‘बाहिर देशमा वेद फैलाउन विदेशी नै खोज्नुपर्ने अवस्था छ। सरकार आफैँ विदेशमा सेवा फैलाउन एनआरएन बन्न प्रेरित गरिरहेको छ’, एमडी पाठक गुनासो पोख्छन्। 

वेदले शैक्षिक संस्थामा सेवा दिइरहेको छ। अब उनीहरु शैक्षिक क्षेत्रकै व्यवस्थापन पूर्वाधार बनाउन खोजिरहेका छन्। 

इ–लर्निङको इको सिस्टमको रुपमा विकास गर्ने उनीहरुको सोच छ। विस्तारै अरुले बनाएको कन्टेन्ट वेदको सिस्टममा राख्नसक्ने प्लेटफर्म बनाउँदै छन्। 

‘वेदको सञ्चालन सिस्टममा होस् भन्ने चाहन्छौँ। हामी नभए पनि वेद कम्पनी चल्ने व्यवस्था गर्दै छौँ’, निर्देश भन्छन्, ‘इन्जिन जस्तै चल्नुपर्यो।’

वेदका सबै को–फाउन्डर प्राविधिक क्षेत्रबाट आएकाले आउटसोर्स गर्नुपर्दैन। वेदमा ७० जनामा आधा आईटी डेभलपमेन्टमा काम गर्छन्। ८ जनाको मार्केटिङ टिम छ भने बाँकी सपोर्ट टिम छ।

वेदको आम्दानी वार्षिक ३ गुणाले बढ्दै गइरहेको छ। विदेशमा वेदलाई फैलाएर वार्षिक १० गुणाले आम्दानी बढाउने योजनामा उनीहरु छन्।

कोभिडअघि वेदले एक–डेढ करोडको कारोबार गथ्र्यो। अहिले ३ गुणासम्म वृद्धि भइरहेको छ।

(तस्बिरहरु : विजय सिंह/नेपालखबर)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .