ग्लोबल स्टुडेन्ट आन्ट्रप्रेनर्स अवार्ड अर्बान नेपालका सबिल खानले जितेका छन्।
आन्ट्रप्रेनर्स अर्गनाइजेसनले गरेको प्रतिस्पर्धा कार्यक्रममा खानले प्रथम स्थान हासिल गरेका हुन्।
फाइनलमा पुगेका कलकी आईओटी सलुसनका शिशिर पन्थ फस्ट रनरअप भए भने बिहे नेपालकी कोफाउन्डर श्रद्धा कटुवाल सेकेन्ड रनरअप भएकी छिन्।
ग्लोबल स्टुडेन्ट आन्ट्रप्रेनर्स अवार्डमा ४ जना निर्णायक (जज) रहेका थिए। जसमा मर्कन्टाइल ग्रुपका अमोद राजभण्डारी, भायनेटकी सेवा पाठक, नेपाली पैसाका अजय श्रेष्ठ र विभिन्न व्यवसायमा संलग्न रहेका ऋषि अग्रवाल रहेका थिए।
पहिलो हुनेले १ लाख ५० हजार पाएका छन् भने फर्स्ट रनरअप कलकी आईओटी ५० हजार र सेकेन्ड रनरअपले २५ हजार पुरस्कार प्राप्त गरेका छन्।
आन्ट्रप्रेनर्स अर्गनाइजेसनले हरेक वर्ष स्टार्टअर्प सुरु गरेका विद्यार्थीलाई प्रतिस्पर्धा गराई अन्तर्राष्ट्रिय फोरममा प्रतिस्पर्धाको लागि उपस्थित गराउँछ।
अवार्ड हासिल गरेको अर्बान नेपाल सहरी क्षेत्रमा आइपर्ने इलेक्ट्रिसियन, प्लम्बरलगायत होम सोलुसनको काम गर्दै आएको छ।
कोभिड महामारीको बीचमा सुरु भएको अर्बान नेपालले छोटो समयमै २५ लाख रूपैयाँ आम्दानी गरिसकेको खानले जानकारी दिए।
२०२३ सम्म अष्ट्रेलियामा आफ्नो व्यवसाय विस्तार गर्ने योजनामा रहेको उनको भनाइ छ। फस्ट रनरअप भएका कलकोटआईटी सलुसनका शिशिर पन्थले नेपालको च्याउ बजारमा प्रविधिको प्रयोगसम्बन्धी आईडिया प्रस्तुत गरेका थिए। उनले आफ्नो प्रोडक्ट बजारमा लैजान काम गरिरहेका छन्।
सेकेन्ड रनरअप भएकी श्रद्धा न्युजिल्यान्डमा इन्जिनियिङ गरी फर्किएकी विद्यार्थी हुन्। कोभिड महामारीकै बीच उनले बिहे नेपाल खोलेकोमा हालसम्म ३ हजार सेवाग्राही आबद्ध भएका छन्।
उनले बिहे नेपाल नेपालबाहेक भारतसहित विश्व बजारमा नै लैजाने आफ्नो आइडिया प्रस्तुत गरेकी थिइन्।
इन्टरपेनर्स अर्गनाइजेसन नेपालका अध्यक्ष तरूण प्रताप शाहले नेपालमा नयाँ व्यावसायिक वातावरण सिर्जना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिरहेको बताए।
प्रतिक्रिया