ad ad

कारोबार


प्राधिकरणको नीति, डेरावालसँग बढी महसुल लिनेको लाइन काटिन्छ

प्राधिकरणको नीति, डेरावालसँग बढी महसुल लिनेको लाइन काटिन्छ

फाइल तस्बिर


रासस
माघ ५, २०७८ बुधबार १५:३६, काठमाडौँ

के तपाईँ अब विद्युतीय सवारीसाधन प्रयोग गर्ने सोंचमा हुनुहुन्छ? त्यसका लागि चार्जिङ सिष्टम कसरी जडान गर्ने, बिल कसरी तिर्ने जिज्ञासा पनि स्वभाविक हो। 

नेपाल विद्युत् प्राधिकरणले अब  विद्युतीय गाडी प्रयोग गर्ने व्यक्तिका लागि आफ्नै घरमा छुट्टै मिटर राखेर गाडी चार्ज गर्न पाउने व्यवस्था गरेको छ। 

घरायसी प्रयोजनका लागि स्वीकृत लोडले नधानेर गाडी चार्ज गर्न नसकिएमा ग्राहकले आफ्नो घरको कम्पाण्डमा ठूलो क्षमताको छुट्टै मिटर राखी गाडी चार्ज गर्न पाउने छन्। 

प्राधिकरणले विद्युत वितरण विनियमावली, २०७८ मार्फत घरमै विद्युतीय गाडी चार्ज गर्न छुट्टै मिटर माग गरेमा ग्राहकलाई मिटर दिने व्यवस्था गरेको हो। 

प्राधिकरण सञ्चालक समितिको गत २० पुसको ८९२औँ बैठकबाट पारित भएको विनियमावली कार्यान्वयनमा आइसकेको छ। 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् सेवा छिटो, सर्वसुलभ एवं सहज रुपमा उपलब्ध गराउन र विद्युत् खपत बढाउने गरी ग्राहकमैत्री नयाँ विद्युत् वितरण विनियमावली कार्यान्वयमा ल्याइएको जानकारी दिए।

'विगतमा लोडसेडिङको अवस्थामा हरेक कुरामा प्रतिबन्ध लगाउन खोजिएको थियो, अहिले लोडसेडिङ अन्त्य भई मुलुकभित्र उत्पादित विद्युत् यही खपत बढाउनुपर्ने बाध्यात्मक अवस्था छ', उनले भने, 'यसलाई ध्यान दिई ग्राहकलाई माग बमोजिम छिटोभन्दा छिटो भरपर्दो तथा गुणस्तरीय सेवा उपलब्ध गराउने र विद्युत् खपत बढाउने गरी नयाँ विनियमावली कार्यान्वयनमा ल्याएका छौ।' 

बिजुलीको खपत बढाउन विद्युत् महसुल घटाउँदै लगेको छ। सेवालाई पनि सहजीकरण गरी ग्राहकमैत्री बनाउन अधिकतम प्रयास गरिरहेको छ। 

विनियमावलीमार्फत प्राधिकरणले विद्युतीय सवारी साधनका लागि  चार्जिङ पूर्वाधार निर्माण तथा सञ्चालनका नीति कार्यान्वयनमा ल्याएको छ। 

निजी आवास, कार्यालय, फर्म-कम्पनी-संस्थामा निजी र सार्वजनिकस्थल, निजी घरजग्गामा सार्वजनिक चार्जिङ स्टेसन स्थापना गर्न स्वीकृत प्राप्त निकाय-फर्म-व्यक्ति-कम्पनीलाई अनुमति दिने छ। 

मुख्य–मुख्य सहरी क्षेत्रमा सार्वजनिक चार्जिङ स्टेसन सञ्चालन गर्ने संस्थालाई प्राथमिकता दिइनेछ। 

सरकार, सार्वजनिक संस्थान र स्थानीय तहले सार्वजनिक चार्जिङ स्टेसन सञ्चालन गर्न चाहेमा प्राथमिकता दिइने व्यवस्था गरिएको छ। 

सरकारबाट स्वीकृत लिएर सार्वजनिक जग्गामा सार्वजनिक विद्युतीय सवारी चार्जिङ स्टेसन स्थापना गर्न चाहेमा पनि स्वीकृति दिने व्यवस्था गरिएको छ। 
विनियमावलीमार्फत सार्वजनिक चार्जिङ स्टेसनको प्रवद्र्धनका लागि विशेष व्यवस्था गरिएको कार्यकारी निर्देशक घिसिङले बताएका छन्। 

'दुई सय केभिएसम्मको विद्युत् डिमाण्ड भएका चार्जिङ स्टेसन स्थापना गर्ने सेवा प्रदायकलाई प्राधिकरणले ट्रान्सफरर्मरसहितको विद्युत् सेवा प्रवाह गर्नेछ', उनले  भने, 'त्योभन्दा माथिल्लो डिमाण्ड हुने चार्जिङ स्टेसनको हकमा भने एचटी लाइनको काम प्राधिकरणले गर्नेछ तर ट्रान्सफरमर जडान लगायतका बाँकी काम सेवाप्रदायकले नै गर्नुपर्नेछ।'

चार्जिङ स्टेसनका लागि छुट्टै विद्युत् महसुल समेत लागू भइसकेको छ। 

चिस्यान केन्द्र, खानेपानी र सिंचाइलाई सुविधा
प्राधिकरणले सहकारी संस्थाले सञ्चालन गरेका दुग्ध चिस्यान केन्द्र तथा शित भण्डार र सहकारी संस्था वा समुदायमार्फत सञ्चालित खानेपानी तथा सिंचाइलाई पनि सुविधा दिएको छ। 

दुई सय केभीएसम्म डिमाण्ड भएका त्यस्ता ग्राहकलाई प्राधिकरणले आफ्नै ट्रान्सफर्मरबाट विद्युत् आपूर्ति दिनेछ।

 यसबाट त्यस्ता ग्राहकको ट्रान्सफर्मर खरिदमा हुने खर्च कटौती भई यो सुविधाबाट लाभान्वित हुने कार्यकारी निर्देशक घिसिङले उल्लेख गरे। 

'यसअघि ग्राहकले प्राधिकरणको ट्रान्सफर्मरबाट ५० केभिएसम्मको मात्र र त्यसभन्दा बढीको लोड लिनुपरे आफ्नै खर्चमा ट्रान्सफर्मर खरिद गर्नुपर्ने व्यवस्था थियो', उनले भने, 'अब यसलाई हटाएर एक सय केभिएसम्म लोड लिने उद्योगलाई प्राधिकरणकै ट्रान्सफर्मरबाट विद्युत् आपूर्ति दिने व्यवस्था गरी ग्राहकलाई राहत दिन खोजेका छौं।' 

एकसय केभीएभन्दा बढी लोड चाहिएमा भने ग्राहक आफैंले ट्रान्सफर्मर किन्नुपर्ने छ। 

यसअघि उपलब्ध ट्रान्सफर्मरको क्षमताको ५० प्रतिशत मात्रै विद्युत् आपूर्ति दिने गरिएको थियो। अब यस्तो सिलिङ हटाइएर ग्राहकलाई सुविधा दिन खोजिएको छ। 

डेरावालसँग बढी महसुल असुले लाइन काटिने

घरधनीले घरभाडामा बस्ने व्यत्तिसँग प्राधिकरणले तोकेको महसुलभन्दा बढी रकम असुल गरेमा लाइन काट्न सकिने व्यवस्था गरेको छ। 

घरधनीले डेरावालसँग महँगो विद्युत्को महसुल असुल गरेको गुनासो आएपछि प्राधिकरणले तोकिएको भन्दा बढी महसुल लिएको पाइएमा त्यस्ता घरधनीको लाइन काट्ने व्यवस्था गरेको हो। यसबाट घरभाडामा बस्ने उपभोक्तालाई सर्वसुलभ विद्युत् सेवाको प्रत्याभूति हुनेछ। 

भाडामा बस्ने व्यक्तिले तोकिएका निश्चित शर्त पूरा गरी छुट्टै मिटर राखी विद्युत् सेवा लिन सकिने व्यवस्था गरिएको छ। यस्तो व्यवस्थाबाट घरभाडामा बस्ने उपभोक्ताले समेत अन्य ग्राहक सरह सर्वसुलभ विद्युत् सेवा उपभोग गर्न पाउने छन्।

बक्यौता भुक्तानी गर्ने प्रतिबद्धतासहित छुट्टै मिटर राख्न घरधनीको लिखित सहमति, घरधनी र बहालमा बस्नेबीच कम्तीमा एक वर्षका लागि गरिएको घरबहाल सम्झौता, घरबहालमा बस्ने व्यक्तिलाई छुट्टै मिटर दिन प्राविधिक दृष्टिकोणबाट उपयुक्त भएमा, घरधनीको बाँकी बक्यौता नभएमा र बहालमा बस्नेको मिटरसमेत एउटै स्थानमा राख्न सकिने गरी वायरिङको व्यवस्था गरिएका शर्त पूरा गर्नुपर्ने छ।  

अपार्टमेन्टमा बस्नेले सिधै विद्युत् लिनसक्ने

अपार्टमेन्ट, बहुतले आवासीय भवन, कोलोनीमा बसोबास गर्ने उपभोक्तालाई तोकिएका शर्त पूरा भएमा अन्य ग्राहकसरह विद्युत् सेवा उपलब्ध गराउने व्यवस्था विनियमावलीमा गरिएको छ। 

अहिले अर्पाटमेन्टहहरुले आफूले प्राधिकरणबाट विद्युत् लिएर त्यहाँभित्र बस्नेलाई महँगो शुल्क लिएर आपूर्ति दिँदै आएका छन्।
 
अब अपार्टमेन्टमा बस्नेले प्राधिकरणबाट मिटर लिएर सिधैँ विद्युत् लिनसक्ने हुँदा महसुल सस्तो पर्ने भएकोले विद्युतीय उपकरणको प्रयोगमा वृद्धि भई विद्युत् खपत बढ्ने घिसिङले उल्लेख गरे।

एउटै उद्योग परिसरभित्र फरक–फरक विद्युत् महसुल दर आकर्षित हुने उद्योग सञ्चालन हुने अवस्थामा अलग–अलक मिटर राख्न पाउने छन्। 

वक्यौता किस्ताबन्दीमा

विद्यु्त महसुलको वक्यौता रहेका ग्राहकले किस्ताबन्दीमा तिर्न पाउने भएका छन्। विद्युत् महसुल नतिरेर कालोसूचीमा परेका ग्राहकले पुनःविद्युत् लाइन जोड्नु पर्दा वक्यौता रकम एकमुष्ट बुझाउन नसकेमा नियमानुसार थप दस्तुर लिई बढीमा १२ किस्तासम्म रकम तिर्न सक्नेछन्। 

ग्राहकले साविकको वितरण केन्द्रबाट लगत खारेज गराई अर्को केन्द्रमा ठाउँसारी गर्न चाहेमा साविकको केन्द्रमा तत्कालीन सयममा प्रयोग भएका विद्युतीय सामग्री उल्लेख भई आएमा त्यसको पुनः प्रयोगशाला परीक्षण गर्नुनपर्ने व्यवस्था गरी सहजीकरण गरिएको छ। 

ग्रिड कोड, निर्माण मापदण्ड आदिको व्यवस्था विनियमावलीमा गरी भरपर्दो विद्युत सेवा प्रवाहमा जोड दिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .