ad ad

कारोबार


मस्कको एक ट्विटपछि भारतीय राज्यहरुले भन्नथाले– प्लान्ट खोल्न हाम्रोमा आऊ

मस्कको एक ट्विटपछि भारतीय राज्यहरुले भन्नथाले– प्लान्ट खोल्न हाम्रोमा आऊ

नेपालखबर
माघ २, २०७८ आइतबार २२:२०, काठमाडौँ

विश्वका धनाढ्य तथा चर्चित अमेरिकी विद्युतीय कार निर्माता इलोन मस्कलाई तेलंगानापछि अब महाराष्ट्र र पश्चिम बंगालले पनि ठूलो अफर गरेका छन्। 

महाराष्ट्रका जलसंसाधनमन्त्री जयन्त पाटिलले आइतबार एक ट्विट गर्दै मस्कलाई महाराष्ट्रमा टेस्लाको कारखाना स्थापनाको लागि आमन्त्रित गरेका हुन्। 

नवभारत टाइम्सका अनुसार जयन्त आर पाटिलले आफ्नो ट्विटमा लेखेका छन्, ‘महाराष्ट्र भारतको सबैभन्दा प्रगतिशीलमध्ये एक राज्य हो। भारतमा स्थापित हुन हामी महाराष्ट्रको तर्फबाट तपाईंलाई सबै आवश्यक सहयोग गर्छौँ। हामी तपाईंलाई महाराष्ट्रमा आफ्नो उत्पादन कारखाना स्थापना गर्न आमन्त्रित गर्छौँ।’ 

महाराष्ट्रबाहेक तेलंगानाले पनि इलोन मस्कलाई कारखाना स्थापनाको लागि निम्तो दिएको छ। तेलंगानाका उद्योग तथा वाणिज्यमन्त्री केटी रामारावले भनेका छन् कि भारतमा कम्पनी जुन चुनौतीहरुको सामना गरिरहेको छ, त्यसको लागि टेस्लासँग साझेदारी गर्दा राज्यलाई खुसी मिल्नेछ। उनले भनेका छन्, ‘म भारतमा तेलंगाना राज्यको उद्योग वाणिज्यमन्त्री हुँ। भारत÷तेलंगानामा व्यवसाय स्थापित गर्नको लागि आइपर्ने चुनौतीलाई लिएर काम गर्न टेस्लासँग साझेदारी गर्न पाउँदा खुसी हुनेछु। हाम्रो राज्य दिगो सुरुवातमा विजेता रहँदै आएको छ र भारतकै राम्रो लगानी गन्तव्य पनि रहेको छ।’

त्यस्तै पश्चिम बंगालले पनि टेस्ला मालिक मस्कलाई आफ्नो कारखाना खोल्न आग्रह गरेको छ। पश्चिम बंगालका मन्त्री मोहम्मद गुलाम रब्बानीले मस्कलाई पश्चिम बंगाउन आउनसक्ने भन्दै यहाँ पूर्वाधार राम्रो रहेको र नेत्री ममता बनर्जीको भिजन पनि राम्रो रहेको उल्लेख गरेका छन्। उनले बंगालको अर्थ नै व्यवसाय भएको खुलाएका छन्। 

खास कुरा के हो ? 
विश्वकै ठूलो मूल्यवान् अटो कम्पनी टेस्ला लामो समययता भारतमा आफ्नो कार लन्च गर्ने कोशिसमा छ। ट्विटरमा एक प्रयोगकर्ताले मस्कलाई भारतमा टेस्ला लन्चको बारेमा सोधेका थिए। कम्पनीको कार एकदमै राम्रो रहेको र कम्पनी दुनियाँको सबै कुनामा हुनुपर्ने बताएका थिए। यसको जवाफमा मस्कले अहिले धेरै चुनौती रहेको र अब भारत सरकारसँग मिलेर काम गरिरहेको बताएका थिए। 

कर घटाउने माग 
टेस्लाले भारत सरकारसँग विद्युतीय गाडीको आयात शुल्क कटौती गर्न अनुरोध गरेको थियो। तर केही घरेलु अटो कम्पनीले यसको विरोध गरिरहेका छन्। उनीहरुले यसबाट घरेलु उत्पादनमा हुने लगानीमा असर पुग्ने बताइरहेका छन्। टेस्ला यही वर्ष भारतमा आयातित विद्युतीय कार बेच्ने योजनामा छ। तर उसले भारतमा विश्वकै धेरै कर रहेको गुनासो गरिरहेको छ। 

के भन्छ सरकार ? 
सरकारी स्रोतले भने कुनै पनि गाडी निर्माता कम्पनीलाई सरकारले यसप्रकारले करछुट नदिएको र टेस्लालाई करसम्बन्धी लाभ दिँदा भारतमा अर्बौँ डलरको लगानी गर्ने दोस्रो कम्पनीको लागि राम्रो सन्देश नजाने बतायो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .