ad ad

कारोबार


नेपाल भित्रियो विद्युतीय मोटरसाइकल ‘याक’

नेपाल भित्रियो विद्युतीय मोटरसाइकल ‘याक’

नेपालखबर
माघ २, २०७८ आइतबार २२:७, काठमाडौँ

अटोमोटिभ कम्पनी जैष्णवी ग्रुपले नेपाली बजारमा ‘याक बाइक्स’ नामक इलेक्ट्रिक बाइक ल्याएको छ । 

कम्पनीले ‘स्मार्ट सिटी, स्मार्ट राइड’ भन्ने नाराका साथ चिनियाँ विद्युतीय दुई पांग्रे सवारी उत्पादक कम्पनी बेन्ल्गसँगको साझेदारीमा याक बाइकहरू नेपाल भित्र्याएको हो । 

अनेकौँ आकर्षक विशेषतासहितको यो बाइक नेपालमा सार्वजनिक गरिएको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार अन्य बाइकको तुलनामा यसले निकै कम ऊर्जा खपत गर्छ । यसले नेपालको पर्यावरणमैत्री सवारी बनाउने लक्ष्यमा थप योगदान गर्ने कम्पनीको विश्वास छ । 

यो बाइक वातावरण संरक्षणमा मात्र केन्द्रित नभएर नेपाली पूर्वाधारअनुसार निर्माण र डिजाइन गरिएको छ । ‘याक बाइक्स’को अद्वितीय ब्रान्डिङ पनि इलेक्ट्रोनिक बाइक पारखीहरूको लागि रोजाइको महत्वपूर्ण कारक हुनसक्ने कम्पनीको दाबी छ । 

बाइक सार्वजनिक कार्यक्रममा जैष्णवी ग्रुपकी अध्यक्ष स्मृति पालिखेले विद्युतीय बाइक नेपाली बजारमा ल्याउने यस पहलले अर्थतन्त्रलाई टेवा पुग्ने मात्र नभई वातावरण संरक्षणमा समेत सहयोग पुग्ने बताइन् । उनले नेपालले अहिले सामना गरिरहेको दुई प्रकारका वातावरणीय चुनौतीहरू प्राकृतिक स्रोतसाधनमाथिको दबाबबाट उत्पन्न हुने समस्या र जलवायु परिवर्तनबाट उत्पन्न हुने समस्याप्रति आफ्नो चासो देखाएकी थिइन् ।  

यस्तै जैष्णवी ग्रुपका सीईओ जोन खड्काले सरकार र नेपाली जनताले लामो समयदेखि खोज्दै आएको किफायती र दिगोपन प्रदान गर्ने उत्कृष्ट वैकल्पिक समाधान प्रदान गर्न ‘याक बाइक्स’ सार्वजनिक गरिएको बताए । 

नेपालको आर्थिक अवस्थाका हिसाबले पनि विद्युतीय बाइक उपयुक्त विकल्प हुने उनको भनाइ थियो । वर्षेनी बढ्दै गएको आयातका कारण नेपालले भोग्दै आएको आर्थिक दबाबलाई विद्युतीय सवारीसाधनको प्रयोगबाट कम गर्न सकिने जैष्णवी ग्रुपको विश्वास छ । आयातित इन्धनमा नेपालको निर्भरता कम गर्न यसले ठूलो भूमिका खेल्नसक्ने कम्पनीको दाबी छ । 

यस्तै कम्पनीले पाँच सयभन्दा बढी न्यून आय भएका र बेरोजगारहरूका लागि रोजगारी सृजना गर्नलागेको जानकारी दिएको छ । यसले बेरोजगारीको समस्या कम गर्न मद्दत मिल्ने कम्पनीको भनाइ छ । कम्पनीले काठमाडौँ उपत्यकाका प्रमुख भागमा विद्युतीय चार्जिङ हब स्थापना गर्नेछ, जसले सवारी यात्रु र सर्वसाधारण दुवैलाई फाइदा पुग्नेछ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .