कारोबार


हात्ती लुक्ने झाडी मासेर तरुल खेती, लाखौँ कमाउँदै किसान

हात्ती लुक्ने झाडी मासेर तरुल खेती, लाखौँ कमाउँदै किसान

कृष्ण बहाब
माघ १

सुनसरीको बराहक्षेत्र नगरपालिका ९ प्रकाशपुर र राजावास क्षेत्रको मुख्य खाद्यान्न वाली धान र मकै हो। तर, कोशीटप्पु वन्यजन्तु आरक्ष छेउमा भएकैले स्थानीयहरूलाई हात्तीबाट धान र मकै जोगाउन हम्मे पर्छ । कोसी किनारमै भएकाले यो क्षेत्रमा सिचाई सुविधा उति विघ्न छैन। 

आरक्षबाट निस्किने जङ्गली जनावरले बालीलाई घर भित्र्याउन गाह्रो पर्छ यहाँ । तर, केही वर्ष देखि खाद्यान्न वाली सँगै यो क्षेत्रमा तरुल रोप्ने चलन बढ्यो । ५ वर्ष अगाडी स्थानीय एक किसानले सानो क्षेत्रमा तरुल लगाएका थिए । त्यहाँबाट ती किसानले तरुलबाटै लाख भन्दा बढी आम्दानी गरे । त्यहीबाट गाउँमा सुरु भयो तरुल रोप्ने चलन।

कोसी किनारमै रहेको बलौटे फुको माटोमा तरुल खेती राम्रै हुन थाल्यो । अहिले त्यही तरुलले वर्षभरि धान र मकै रोपेर कमाउने रकम भन्दा बढी आम्दानी दिने गरेको छ। 

देशकै ठूलो नदीको किनारमा रहेको सो ठाउँको भूमि सुख्खा र चिसो छ । बलौटे माटो भएको ठाउँमा सजिलै उम्रिने गर्छ सिसौ । बलौटे माटोमा सिसौ उम्रिएर कुनै समय हात्ती लुक्ने झाडीमा अहिले लाखौँको तरुल उत्पादन हुन्छ । अर्थात् हात्ती लुक्ने अनुत्पादक झाडी अहिले त्यहाँको आम्दानीको स्रोत बनेको छ।

दैनिकी रूपमा सिटी सफारी चलाउँछन् महेन्द्र लिम्बू । सफारी चलाएसँगै उनको पार्ट टाइम काम हो तरुल खेती । ४ वर्ष अगाडिदेखि सुख्खा बलौटे माटोमा तरुल खेती गर्न थाले लिम्बुले पनि । पहिलो पटक नै धान खेती भन्दा राम्रो उत्पादन हुने थाहा पाएपछि महेन्द्रले तरुल खेतीलाई निरन्तरता दिए।

‘धेरै समय दिनु पर्दैन, वर्षमा २(३ पटक मजाले खटेपछि हुन्छ’ लिम्बु भन्छन्, ‘केही नहुने ठाउँमा पनि कमाइ भएकै छ।’

लिम्बुजस्तै तरुल खेती गर्नेहरू गाउँमा अहिले दर्जनौँ छन् । वार्षिक २ करोड भन्दा बढीको तरुल ठुला सहरहरूमा प्रकाशपुर क्षेत्रबाट निकासी हुने गरेको छ। 

अरू अन्नबाली जस्तो धेरै स्याहार गर्न नपर्नै तरुल खेती गर्नेहरू मध्ये अधिकांशले तरुल खेती गरेर वार्षिक २ लाख बढी कमाउनेहरू धेरै छन् । घर वरिपरिको थोरै ठाउँमा लगाएको तरुलले नै ३० देखि ४० हजार माथिको कमाइ गर्नेहरूको सङ्ख्या पनि गाउँमा धेरै छ।

माघे सङ्क्रान्ति आउनु धेरै अघिदेखि नै काठमाडौँ, पोखरा, वीरगन्ज, जनकपुर, बुटवल, धरान, इटहरी लगायतका तरुल व्यापारीहरूले खेत बारीमै बैना मारिसकेका छन् । प्रतिकेजी ५० रुपैयाँका दरले व्यापारीहरू बारीमै आएर लैजाने गर्छन्।

‘अस्ति खेतबाट तरुल नै ननिकाली सुरुमै पैसा दिएर गइसकेका छन्,’ स्थानीय किसान नारद लिम्बूले भने, ‘यो तरुल अर्ग्यानिक छ न गोबर मल न त रासायनिक मल नै हालेको छ । त्यै भएर खेत खेतमै बैना दिएर व्यापारीले लग्ने गरेका छन्।’

तरुल रोपेपछि एक वर्षमा मात्रै उत्पादन हुन्छ । कम चिस्यानले पनि हुने र अन्य खेतीजस्तो गोडमेल गर्नु नपर्ने भएकाले पछिल्लो समय किसानहरू तरुल खेतीमा व्यावसायिक रुपमै लागिपरेका छन्।

तरुलको उत्पादन बढे पनि उपभोक्ताको माग अनुसार उत्पादन र आपूर्ति भने हुन सकेको छैन । प्रकाशपुरकै अर्का किसान बागवीर लिम्बूले भने, ‘अहिले पनि धेरै किसानले थोरै थोरै मात्र रोपेका छन् । जति उत्पादन गरे पनि व्यापारीले लाने गरेका छन् । तर अझै पनि जति उत्पादन हुनुपर्ने हो त्यति भएको छैन।’

माघ १, २०७८, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .