ad ad

कारोबार


ॐ हस्पिटल र नबिल बैंकबीच ग्राहकलाई सहुलियत सेवा दिने सम्झौता

ॐ हस्पिटल र नबिल बैंकबीच ग्राहकलाई सहुलियत सेवा दिने सम्झौता

नेपालखबर
पुस ३०, २०७८ शुक्रबार १२:३४, काठमाडौँ

काठमाडौंको चाबहिलमा अवस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र नबिल बैंक लिमिटेडबीच सहुलियत दरमा उपचार सेवा प्रदान गर्ने विषयमा सम्झौता भएको छ।

नबिल बैंकको प्रधान कार्यालयमा बिहीबार आयोजित एक संक्षिप्त कार्यक्रममा बैंकका ग्राहक कर्मचारी तथा परिवारजनलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सो सम्झौता भएको हो।

सम्झौतापत्रमा ॐ अस्पतालका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हस्ताक्षर गरेका हुन्। 

सम्झौताअनुसार अब नबिल बैंकका ग्राहक, कर्मचारी तथा परिवारजनले ॐ हस्पिटलमा उपलब्ध सम्पूर्ण सेवाहरुमा विशेष छुट पाउनेछन्।

बैंकका ग्राहकले सो छुट बैंकको प्रिपेड, डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी अस्पतालको सेवाको बिल भुक्तानी गर्दा पाउन सक्नेछन्। 

त्यसैगरी नबिल बैंकले हस्पिटलका चिकित्साकर्मी तथा कर्मचारीहरुकालागि आफ्नो बैंकिङ सेवा सहज र सरल रुपमा उपलब्ध गराउनेछ। 

नबिल बैंकले आफ्ना १३५ वटा शाखाबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ । बैंकको देशभर १८७ वटा एटीएम सञ्चालनमा छन्। 

नेपालमा निजी क्षेत्रबाट सञ्चालित अग्रणी अस्पतालका रुपमा परिचित ॐ हस्पिटलले वि.सं. २०४६ सालदेखि निरन्तर रुपमा विशिष्टीकृत स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको छ।

३६ वटा विभिन्न विभागहरुमार्फत १०० जना विशेषज्ञ चिकित्सक, २५० जनाभन्दा बढी नर्सिङ स्टाफ तथा प्राविधिक तथा प्रशासनिक जनशक्ति २२५ जनाभन्दा बढी कर्मचारीहरुसहितको विश्वस्तरिय उपचार सेवा प्रदान गर्दै आएको छ।

विश्वस्तरीय उपचार सेवाका लागि गुणात्मक तथा सर्वसुलभ स्वास्थ्य उपचार सेवा उपलब्ध गराउँदै आएको तथा आधुनिक उपकरणहरु समेत उपलब्ध रहेको ॐ हस्पिटलमा एकै छानामुनि सबै किसिमका उपचार सेवा उपलब्ध रहेका छन्।

नेपालमा सन्तान्विहीन दम्पतीहरुका लागि आईभीएफ सेवा (टेष्ट ट्युव बेबी) सुरु गर्ने पहिलो अस्पतालका रुपमा स्थापित यस अस्पतालबाट एक हजारभन्दा बढी दम्पतीहरुले वात्सल्य सुख प्राप्त गरिससकेका छन्।

पछिल्लो पटक ॐ अस्पताल सघन उपचारको सुलभ र सहज गन्तव्यका रुपमा समेत परिचय बनाउन सफल भएको छ। 

क्रिटिकल केयर मेडिसिनमा डिएम गरेका विशेषज्ञ चिकित्सक तथा सघन उपचार नर्सिङमा विशेष तालिम प्राप्त नर्सिङ स्टाफहरुको संलग्नतामा उपचार सेवा प्रदान गरिने यस अस्पतालमा २० शय्यासहितको लेभल थ्री आइसियू सेवा सञ्चालनमा रहेको छ।

इमर्जेन्सी मेडिसिनमा डीएम गरेका विशेषज्ञ चिकित्सकको नेतृत्वमा आकस्मिक उपचार सेवा उपलब्ध छ। जसले इएमएस भ्यानसहित पेसेन्ट ट्रान्सफर तथा हवाइ एम्बुलेन्स (मेडिकल हेली रेस्क्यु) सेवा समेत सञ्चालनमा छ।

ॐ हस्पिटलले पछिल्लो समयमा कोभिड १९ को महामारीको विशेष परिस्थितिलाई मध्यनजर गरी छुट्टै कोभिड इमर्जेन्सी सेवा, अलग्गै कोभिड आइसोलेसन वार्ड तथा कोभिड आइसियू समेत सञ्चालन गरेको छ। 

जसअन्तर्गत हजारौं कोभिड संक्रमितले उपचार पाइसकेका छन्। त्यसैगरी आगामी दिनमा आउनसक्ने नयाँ लहरहरुमा पनि पूर्ववत रुपमा सेवा प्रदान गर्ने प्रतिवद्धता अस्पतालले गरेको छ।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .