ad ad

कारोबार


जटिल अवस्थामा विदेशी मुद्रा सञ्चिति, अब ६.८ महिनाको आयात मात्रै धान्ने

जटिल अवस्थामा विदेशी मुद्रा सञ्चिति, अब ६.८ महिनाको आयात मात्रै धान्ने

नेपालखबर
पुस २९, २०७८ बिहिबार १६:२८, काठमाडौँ

नेपालको विदेशी मुद्रा सञ्चिति जटिल अवस्थामा पुग्नलागेको ताजा तथ्यांकले देखाएको छ। 

राष्ट्र बैंकको पछिल्लो ५ महिनाको तथ्यांकअनुसार अब नेपालसँग वस्तु तथा सेवा आयात ६ दशमलव ८ महिनालाई मात्रै पुग्ने देखिएको हो। 

६ महिनाभन्दा कम समयको आयात धान्ने अवस्था पुगेको खण्डमा त्यसलाई ‘नेगेटिभ’ मान्ने गरिन्छ।  नेपाल त्यही विन्दुमा पुग्नलागेको देखिएको छ। 

गत वर्षको तुलनामा नेपालको वस्तु आयात मात्रै झण्डै ६० प्रतिशतले वृद्धि भएको छ। 

त्यस्तै वैदेशिक मुद्राको आय हुने रेमिट्यान्समा ६ दशमलव ८ प्रतिशतले गिरावट आएको छ। जसको प्रत्यक्ष प्रभाव वैदेशिक मुद्रा सञ्चितिमा देखिएको हो।

नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३.२ प्रतिशतले कमी आई २०७८ मंसिर मसान्तमा १२ खर्ब १४ अर्ब ३ करोड रुपैयाँ कायम भएको छ। 

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ मंसिर मसान्तमा १४.७ प्रतिशतले कमी आई १० अर्ब ३ करोड कायम भएको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७८ मंसिर मसान्तमा १२.९ प्रतिशतले कमी आई १० खर्ब ८४ अर्ब ६४ करोड कायम भएको छ। 

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा १ खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७८ मंसिर मसान्तमा १६.२ प्रतिशतले कमी आई १ खर्ब २९ अर्ब ४० करोड कायम भएको छ। 

२०७८ मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २५.१ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ।  

आर्थिक वर्ष २०७८÷७९ को पाँच महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.५ महिनाको वस्तु आयात र ६.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .