अटो व्यवसायीले अवैध स्पेयर पार्ट्सको आयात बढेको बताएका छन्। केही महिनायता अवैध रुपमा स्पेयर पार्ट्स आयात बढेको उनीहरुको दाबी छ।
भारतसँग खुल्ला सिमानाका कारण अवैध आयात बढ्दा सरकारको राजस्व समेत असर पर्ने देखिएको छ।
अटो व्यवसायीले सुनौली नाकाबाट अवैध रुपमा ठूलो मात्रामा गाडीमा लाग्ने पार्ट्स भित्रिने गरेको बताएका छन्।
आधिकारिक रुपमा गाडीमा लाग्ने पार्ट्स भित्र्याउँदा मूल्यअभिवृद्धि करसहित ४३ प्रतिशतसम्म राजस्व बुझाउनुपर्ने हुन्छ तर यी सामान अवैध तवरबाट भित्रिँदा सरकारलाई दैनिक लाखौँको राजस्व नोक्सानी हुँदै आइरहेको व्यवसायीले बताएका छन्।
भैरहवा क्षेत्रमा अटो पार्ट्स व्यवसाय गरी बसेका जमुना एण्ड सन्सका सञ्चालकले सम्बन्धित निकायले कुनै चासो नदिँदा दैनिक खपतको ६० प्रतिशत बढी पार्ट्सहरु अवैध तवरले आयात भइरहेको बताएका छन्।
सुरु–सुरुमा सिमाना आसपासमा मात्र यस्ता गतिविधि भए पनि हाल आएर यस्तो अवैध आयात रुपन्देही, कपिलवस्तु एवं नवलपरासीका सम्पूर्ण क्षेत्रसम्म विस्तार भएको व्यवसायी बताउँछन्।
बुटवल मैनावगरमा अटो पार्टसको व्यवसाय गरिरहेका कृष अटोमोबाइलका सञ्चालक सुरज रेश्मी मगरले अवैध आयातलाई निरुत्साहित गर्ने कुनै ठोस पहल नगरेको बताएका छन्।
बुटवल इन्जिनियारिङ एसोसिएसनका उपाध्यक्ष बाबुराम आचार्यले सरकारलाई दैनिक लाखौँका नोक्सानी हुँदा चुप लागेर बस्नु आश्चर्यको विषय भएको बताए।
स्थानीय व्यापारीका अनुसार गाडी धनी स्वयंले सीमापारिका व्यापारीलाई सम्पर्क गर्ने र एजेन्टको सहयोगमा विभिन्न किसिमको सेटिङ्गमा ग्यारेजसम्म माल सामान उपलब्ध हुने गरेको छ।
अवैध आयात नियन्त्रण गर्न नसक्दा राज्यलाई कर तिरेर व्यवसाय सञ्चालन गरिरहेका स्थानीय व्यापारीहरु विस्थापित हुनुपर्ने अवस्था आएको बताएका छन्। सस्तो मूल्यको लोभमा नक्कली पार्टसको प्रयोग पनि व्यापक रुपमा बढ्दै गएको व्यवसायी बताउँछन्।
Shares
प्रतिक्रिया