ad ad

कारोबार


प्यासेन्जर भेहिकल बिक्रीमा एकपछि अर्को कोशेढुंगा पार गर्दै टाटा

प्यासेन्जर भेहिकल बिक्रीमा एकपछि अर्को कोशेढुंगा पार गर्दै टाटा

नेपालखबर
पुस २६, २०७८ सोमबार १६:१२, काठमाडौँ

कुनै पनि कम्पनीको सफलतामा त्यसका उत्पादनको हात हुन्छ। टाटाका गाडीहरुलाई ग्राहकले अत्यधिक रुचाउँदा भारतीय कम्पनी टाटा मोटर्स अहिले लोकप्रियतामात्रै होइन कीर्तिमानकै संघारमा छ। 

डिसेम्बरमा टाटा मोटर्सको कार बिक्री ५० प्रतिशतले बढेको छ। योसँगै भारतीय बजारमा कमर्सियल भेहिकलमा एक नम्बर रहँदै आएको कम्पनी सर्वाधिक कार बिक्रीमा पनि दोस्रो नम्बरमा उक्लिएको हो। 

टाटाका नयाँ मोडलका कार ल्याएसँगै भारतीय बजारमा पछिल्ला वर्षमा उछाल मारिरहेको छ। डिसेम्बर महिनामा मात्रै टाटाले ३५ हजार २९९ कार बिक्री गरेको छ। टाटाले अघिल्लो डिसेम्बरमा २३ हजार ५४५ वटा गाडी मात्रै बिक्री गरेको थियो। 

पछिल्लो ३ महिनामा टाटाले ९९ हजार प्यासेन्जर भेहिकल बिक्री गरेको छ। अघिल्लो वर्षको यही अवधिमा ६८ हजार ८०६ वटा गाडी बिक्री गरेको तथ्यांकले देखाएको छ। 

‘टाटा मोटर्सको प्यासेन्जर भेहिकल (कार सेग्मेन्ट) गाडीको व्यापार निरन्तर बढिरहेको छ’, टाटा मोटर्स प्यासेन्जर भेहिकल युनिटका अध्यक्ष शैलेश चन्द्र भन्छन्, ‘सेमिकन्डक्टरको अभावमा पनि व्यवसाय वृद्धिमा नयाँ कोशेढुंगा पार गरेको छ।’

टाटाले सन् २०२१ को डिसेम्बर महिनामा मात्रै मासिक दरमा सबैभन्दा बढी गाडी बिक्री गरेको छ। कम्पनीले अक्टोबरदेखि डिसेम्बरबीचको त्रैमासिकमा समेत धेरै गाडी बिक्री गर्यो।

कम्पनीका कार भारतीय ग्राहकमाझ लोकप्रिय बन्दै गएपछि मार्केट सेयरको हिसाबले तेस्रो नम्बरमा रहँदै आएको टाटा दोस्रो नम्बरमा पुगेको छ। 

टाटाले सन् २०२१ भरिमा ३ लाख ३१ हजार वटा गाडी बिक्री गरेको छ। 

‘टाटा मोटर्सले दशककै उच्च त्रैमासिक र मासिक बिक्री रेकर्ड बनाएको छ। गत आर्थिक वर्षको तुलनामा २०२१ मा कम्पनीको सेल्समा ठूलो परिवर्तन देखिएको छ’, अध्यक्ष शैलेश चन्द्रले भनेका छन्, ‘कम्पनीले सन् २०२१ मा कुल ३ लाख ३१ हजार १ सय ७८ वटा गाडी बिक्री गरेको छ।’

धेरै बिक्छ नेक्सन
भारतीय बजारमा सर्वाधिक बिक्री हुनेमा टाटाको नेक्सन रहेको छ।  कम्प्याक्ट एसयूभीमा उपलब्ध नेक्सन डिसेम्बरमा १२ हजार ८९९ युनिट बिक्री भएको छ। 

अघिल्लो वर्ष नेक्सन ६ हजार ८३५ युनिट बिक्री भएको थियो। नेक्सनको बिक्री करिब ८९ प्रतिशतले बढेको छ। नेक्सनबाहेक टियागो, टिगोर, ह्यारियर, अल्ट्रोज भारतीय बजारमा चर्चित छन्। 

टाटा मोर्टस प्यासेन्जर भेहिकल सेग्मेन्टमा १९९१ मा सियरा लञ्च गर्दै प्रवेश गरेको थियो। त्यसपछि सन् १९९८ मा इन्डिका बजारमा ल्याएसँगै कार सेग्मेन्टमा टाटाको चर्चा सुरु भयो। 

आक्रामक रुपमा उदाएको टाटाले सन् २०१६ मा हचब्याग टियागो, २०१७ मा सेडानमा टिगोर र एसयूभीमा नेक्सन बजारमा ल्याएसंगै आफ्नो बजार हिस्सा ह्वात्तै बढ्यो।  

२०२० मा हचब्याग अल्ट्रोज बजारमा ल्याएको टाटाले २०२१ एसयूभी सब–कम्प्याक्टमा टाटा पञ्च सार्वजनिक गरेको छ। टाटाले कार सेग्मेन्टको व्यवसाय स्थापना सुरू गरेदेखिको २०२१ को डिसेम्बर अहिलेसम्मकै उच्च बिक्री गरेको तथ्यांकले देखाएको छ। 

भारतमा उत्पादित गाडीमा सबैभन्दा बलियामा पर्छन् टाटाका गाडी। ग्लोबल एनक्याप परीक्षणमा ३ वटा कारहरु नेक्सन, अल्ट्रोज र पञ्चले ५ स्टार रेटिङ पाएका छन्। टियागो र टिगोरले ४ स्टार पाएका छन्।    

विद्युतीय गाडीमा पनि नेतृत्व गर्दै 
टाटा मोटर्सले विद्युतीय गाडी पनि सर्वाधिक मात्रामा बिक्री गर्दै आएको छ। कम्पनीले २०२१ अन्तिमसम्ममा मात्रै कुल २२ हजार ५ सय ५५ वटा विद्युतीय गाडी बिक्री गरेको छ। 

अघिल्लो वर्षको त्रैमासिकमा जम्मा १.८ प्रतिशत विद्युतीय गाडी बिक्री गरेको टाटा मोटर्सले यस वर्षको त्रैमासिकसम्ममा मात्रै विद्युतीय गाडीको बिक्री ५.६ प्रतिशतले बढाएको हो।

टाटाले डिसेम्बरमा पहिलो पटक मासिक २ हजारभन्दा बढी विद्युतीय गाडी बिक्री गरेको छ। 

‘बजारमा विद्युतीय नेक्सन र विद्युतीय टिगोरको माग बढ्दो छ। जसले गर्दा विद्युतीय मोडलहरूको बिक्रीमा तीव्रता पाएको छ। समग्रमा विद्युतीय मोडलहरूले राम्रो बजार पाएको छ’, चन्द्र भन्छन्। 

टाटाले पहिलो विद्युतीय गाडीको रुपमा सेडान सेग्मेन्टमा टिगोर २०१९ र एसयूभी सेग्मेन्टमा २०२० मा नेक्सन ईभी भारतीय बजारमा ल्याएको थियो। 

त्यस्तै फेडेरेसन अफ अटोमोबाइल्स डिलर्स एसोसिएसन (फाडा)का अनुसार कमर्सियल भेहिकलमा सन् २०२० को डिसेम्बरमा ३७ प्रतिशत मार्केट सेयर भएको कम्पनीको २०२१ मा ४४ प्रतिशत बजार हिस्सा ओगटेको छ।

२०२१ को डिसेम्बरमा २६ हजार कमर्सियल गाडी बिक्री भएको छ। कमर्सियल भेहिकलमा १ नम्बरमा रहँदै आएको टाटा प्यासेन्जर भेहिकलमा पनि १ नम्बरमा लम्कने प्रयासमा रहेको छ।   

नेपाली बजारमा बलियो उपस्थिति
टाटा मोटर्सको नेपाली बजारमा बलियो उपस्थिति छ। प्यासेन्जर भेहिकलमा टाटाको नेक्सन सर्वाधिक बिक्री भइरहेको छ। 

गत वर्ष सार्वजनिक भएको प्रिमियम हचब्याग अल्ट्रोज पनि राम्रो बजार हिस्सा ओगट्यो। कम्पनीका टियागो र टिगोर रुचाइएका गाडीमा पर्छन्। 

कमर्सियल भेहिकलमा १ नम्बर रहँदै आएको टाटा विद्युतीय गाडी बिक्रीमा पनि १ नम्बर कम्पनी बनेको छ। 

नेपालमा टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले गत साउनमा नेक्सन ईभी सार्वजनिक गरेको थियो। नेपालमा कम्पनीका ६०० बढी नेक्सन ईभी बुकिङ भएका छन्। 

‘विद्युतीय गाडी नेक्सनको माग अत्यधिक छ’, सीईओ श्रेष्ठ भन्छन्, ‘मागअनुसार गाडी नआउँदा ६ महिना कुर्नुपर्ने अवस्था छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .