ad ad

कारोबार


राज्य-निजी क्षेत्रबीच सहकार्य जरुरी छ : ढकाल

राज्य-निजी क्षेत्रबीच सहकार्य जरुरी छ : ढकाल

नेपालखबर
मंसिर १५, २०७८ बुधबार १९:६, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले दक्षिण एशियामा स्टार्टअप इकोसिस्टमलाई बढावा दिन राज्य र निजी क्षेत्रबीच बलियो सहकार्यको जरुरी भएको बताएका छन्। 

बुधबार अन्तर्राष्ट्रिय श्रम संगठनद्वारा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले कमजोर इकोसिस्टमका कारण दक्षिण एशियामा स्टार्टअप व्यवसायले धेरै समस्या झेल्नुपरेको बताउँदै यसको सहजीकरणका लागि राज्य र निजी क्षेत्रबीच बलियाे सहकार्यको जरुरी रहेको बताएका हुन्। 

उनले दक्षिण एशियामा ठूलो बजारका कारण स्टार्टअप व्यवसाय वृद्धिको अपार सम्भावना रहेको र यस क्षेत्रमा स्टार्टअपहरुलाई अनुकूल वातावरण समेत रहेको बताए।

‘विशेषगरी युवा व्यवसायी जोसँग अहिलेको प्रविधि र व्यवसाय गर्ने नयाँ नयाँ तरिकाको बारेमा राम्रो ज्ञान छ, त्यस्ता नवप्रवर्तन व्यवसायी र स्टार्टअप व्यवसायहरुको सम्भावना यस क्षेत्रमा निकै बढ्दो छ’ उनले भने।

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले यस्ता नवप्रवर्तन व्यवसायीहरु र स्टार्टअपलाई सहजीकरण र सहयोग गरेका बताउँदै उनले विशेषगरी महिला र युवाहरुलाई महासंघले सहयोग गरेको बताए।

‘महासंघले आईहब र स्टार्टअप तथा नवप्रवर्तन समितिमार्फत महिला तथा युवा व्यवसायीहरुलाई विशेष सहयोग तथा सहजीकरण गर्ने गरेको छ,’ उनले भने, ‘आईहबमा हामीले व्यवसायमा लाग्न चाहने युवाहरुलाई सूचनामा पहुँच दिइ उनीहरुलाई व्यवसाय, बजार तथा सूचना प्रविधिबारे सिक्ने अवसर प्रदान गर्ने गरेका छौं।’

त्यसैगरी स्टार्टअप तथा नवप्रवर्तन समितिमार्फत नेपाल सरकारसँगको सहकार्यमा स्टार्टअप नीति बनाउने काम भइरहेको छ, उनले बताए। साथै उनले महासंघले स्टार्टअप तथा नवप्रवर्तन व्यवसायीहरुलाई सहयोग तथा सहजीकरणका लागि सात वटै प्रदेशमा नेपाल सरकारसँगको सहकार्यमा इन्क्यूबेटर सेन्टरहरु स्थापना गर्न गइरहेको समेत जानकारी गराए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .