ad ad

कारोबार


त्रिभुवन विमानस्थलमा सटल बस सुरु गर्दै मन्त्री आलेले भने– जहाजभन्दा महँगो भाडा ट्याक्सीले असुल्छन्

त्रिभुवन विमानस्थलमा सटल बस सुरु गर्दै मन्त्री आलेले भने– जहाजभन्दा महँगो भाडा ट्याक्सीले असुल्छन्

नेपालखबर
मंसिर १५, २०७८ बुधबार १४:४७, काठमाडौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल स्टेसनमा सटल बस सेवा सञ्चालनमा ल्याइएको छ। 

नेपाल नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले तीनवटा माइक्रो बसलाई सटल बसका रुपमा सञ्चालनमा ल्याएको हो। बुधबार सो सटल बसको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गरेका छन्। 

त्यस अवसरमा बोल्दै मन्त्री आलेले विमानस्थल प्रहरीलाई बारम्बार निर्देशन दिएर यात्रुलाई मिटरमा मात्रै लैजाने व्यवस्था गरी ट्याक्सीको ठगी नियन्त्रण गर्न भनिएको बताए। 

मन्त्री आलेले पटक पटक आफैले निर्देशन दिँदा समेत यात्रु लुट्ने क्रम जारी नै रहेपछि सटल बसको व्यवस्था गर्नुपरेको स्पष्ट पारे। 

विमानस्थलबाट चढ्ने ट्याक्सी हवाइ भाडाभन्दा पनि महँगो भएको धेरै यात्रुको गुनासो आएकाले बस सञ्चालन गरिएको उनले बताए। 

बस सेवा छोटो समयको लागि नभइै दीर्घकालिन रुपमा नै सञ्चालन गरिरहने मन्त्री आलेले बताए।   

पर्यटनमन्त्री आलेले भने, ‘सटल बस सञ्चालनमा ल्याइनुअघि तीनपटक भन्दा बढी विमानस्थल प्रहरीलाई ट्याक्सीबाट हुने ठगी नियन्त्रण गरी मिटरबाट मात्रै यात्रु बोक्ने व्यवस्था गर्न निर्देशन दिएको थिएँ। तर पनि ठगी रोकिएन।’ 

ठगी नरोकिएपछि सरकारले नै यात्रुको सुविधाको लागि सटल बस सञ्चालनमा ल्याएको उनको भनाइ छ। 

‘यसरी ठगी बढ्दै जाँदा काठमाडौंमा पढ्ने विद्यार्थीहरु घर विदाबाट फर्किंदा रासनपानी बोकेर आएका छन्। जहाजको भाडाभन्दा महँगो ट्याक्सीले असुल्छन्’, उनले भने, ‘म आफैँ पनि विगतमा कोटेश्वरसम्म जाँदा डेढ÷दुई हजार तिर्न बाध्य भएको थिए। यही लुट अन्त्य गर्न सटल बसको थालनी गर्नुपरेको हो।’

पर्यटनमन्त्री आलेले वैदेशिक रोजगारीमा जाने यात्रुले ठगी वा अन्य कुनै समस्या परेमा विमानस्थलले व्यवस्था गरेको हटलाइनमा फोन गर्न यात्रुलाई आग्रह गरे। मन्त्री आलेले विमानस्थलको क्यान्टिन तथा कफी पसलमा रहेको मँहगी १५ प्रतिशत सस्तो भएको तर ट्याक्सीहरुले भने अटेर गरेको बताए।

त्यस्तै, आजबाट नै वैदेशिक श्रम गन्तव्यमा जाने यात्रुका लागि अन्तर्राष्ट्रिय टर्मिनल भवनमा विश्राम घरको पनि पर्यटन मन्त्री आलेले उद्घाटन गरेका छन्। 

विश्राम घरको उद्घाटन गर्दै मन्त्री आलेले गाउँदेखि रोजगार कम्पनीसम्म ठगीमा पर्ने नेपाली श्रमिक तथा कामदारलाई विमानस्थलमा राहतस्वरूप विश्राम घर सञ्चालनमा ल्याइएको बताए। 

नेपाली श्रमिक विदेशी मुलुकको ५० डिग्रीमा श्रम गरेर रेमिट्यान्स पठाउने तर,उनीहरुको लागि राज्यबाट विदेश जानको लागि समेत कुनै सुविधा प्रदान नगरेको बताए। 

मन्त्री आलेले भने, ‘विश्राम घर वैदेशिक रोजगारीमा जाने यात्रु विदेश जानुअघि टर्मिनल बाहिर उभिनुपर्ने बाध्यता हटाउन बनाइएको हो। नेपाली श्रमिक दाजुभाई दिदिबहिनीहरुले विदेशी मुलुकको ४० देखि ५० डिग्रीमा काम गरेर राज्यलाई रेमिट्यान्स पठाउनुहुन्छ। तर, राज्यले कुनै सोव सुविधा दिन नसेको छैन। त्यसैले कम्तीमा विदेशबाट आउँदा र जाँदा सुविधाले विश्राम गरेर जान पाउने व्यवस्थाको लागि यो काम गरिएको हो। तत्कालको लागि २५ जना क्षमता भएको विश्राम घरलाई चाँडै ३ सय व्यक्ति अटाउने क्षमताको बनाउने योजना छ।’

अब विमानस्थलमा आन्तरिक हवाई यात्रा गर्ने यात्रुले हरेक दिन बिहान ६ बजेदेखि राति ११ बजेसम्म सटल बसमा सित्तैमा यात्रा गर्न पाउने छन्। सटल बसले आन्तरिक टर्मिनलदेखि रिङरोडसम्म जोडिएको विमानस्थलको गोल्डन गेटसम्म यात्रुलाई सेवा दिनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .