ad ad

कारोबार


‘एफवान सफ्ट आईसीटी अवार्ड २०२१’ मा उत्कृष्ट पाँच स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन

‘एफवान सफ्ट आईसीटी अवार्ड २०२१’ मा उत्कृष्ट पाँच स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन

नेपालखबर
मंसिर १३, २०७८ सोमबार १८:१, काठमाडौँ

लिभिङ विथ आईसीटीले आयोजना गर्दै आइरहेको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्ड ‘एफवान सफ्ट आईसीटी अवार्ड २०२१’ मा विभिन्न स्टार्टअप, प्रडक्ट तथा इन्नोभेसनहरूको प्रतिस्प्रधा जारी छ।

४० बढी स्टार्टअपहरूबाट विभिन्न ४ चरणको छनौट पश्चात् उत्कृष्ट ५ स्टार्टअपहरू अहिले सर्वोत्कृष्ट क्याटेगोरी विजेताको लागि प्रतिस्पर्धामा छन्। यसैगरी ३५ बढी प्रडक्टहरूबाट छानिएर उत्कृष्ट ५ प्रडक्ट र ६० बढीबाट छानिएका उत्कृष्ट ५ राइजिङ स्टार इन्नोभेसनहरू विजेताको लागि पब्लिक भोेटिङमा सहभागी भएका छन्। 

यी तीन विधाको विजेताका लागि मंसिर २२ गतेसम्म ई–सेवा र एसएमएसमार्फत पब्लिक भोटिङ सञ्चालनमा रहेको छ। यसैगरी उतकृष्ट १० मा पर्न सफल ३ विधाका प्रतिस्पर्धीको लागि पब्लिक च्वाइस आईसीटी अवार्ड विधामा पनि भोटिङ सञ्चालनमा छ। यसैगरी अन्य ८ वटा अवार्ड विधाको लागि विभिन्न चरणका छनौट प्रक्रियाहरू सञ्चालनमा छन्।

अवार्डको ग्राण्ड फिनाले पुस २ गते द सोल्टी होटलमा आयोजना हुनेछ। प्रतिस्पर्धामा रहेका उत्कृष्ट ५ र पब्लिक च्वाइसमा विजेता बनाउनको लागि ई–सेवा र एसएमएस मार्फत भोट गर्न सकिन्छ। भोटिङको लागि विस्तृत जानकारी वेबसाइट आईसीटीअवार्ड डट ओआरजी/भोटमा समावेश छ। 

छैटौं संस्करणको रूपमा आयोजना हुन लागिरहेको आईसीटी अवार्डमा एफवान सफ्टले शीर्ष प्रायोजन गरेको छ। नेपाल टेलिकम, जिनसको इन एसोसिएसन, एनटिए, एनसेल, राष्ट्रिय वाणिज्य बैंक, प्रेसिडेन्सियल बिजनेश स्कुल, डिसहोम फाइबरनेट, इमिनेन्स वेइज, रिसेक्युरिटी, डाइनामिक इआरपी, एप्लाइजब, फ्युज मेसिन्स, टेक्सास कलेज लगायतको सहकार्य तथा सहयोग रहेको छ।  

‘एफवान सफ्ट आईसीटी अवार्ड २०२१’का उत्कृष्ट ५ स्टार्टअपहरू
डुलुवा एक्सपेडिसन प्रा.लि.

सन् २०१९ मा स्थापना भएको डुलुवा एक्सपेडिसन प्राइभेट लिमिटेड एक सामाजिक यात्रा र पर्यटन उद्योगको डिजिटल प्लेटफर्म हो, जसले ट्राभल एजेन्सी र सञ्चालकहरूलाई आफ्नो प्याकेजहरू अन्तर्राष्ट्रिय बजारमा बेच्न र नेपालको पर्यटन उद्योगको डिजिटल उपस्थितिलाई प्रवद्र्धन गर्दछ।

यसको मुख्य उद्देश्य नेपालको प्रकृति, समुदाय, संस्कृति र खानाको प्रवद्र्धन गर्नु हो। डुलुवा डटकमले सन् २०२५ सम्ममा नेपालमा ट्राभल समाधानका लागि ‘वन स्टप सोलुसन’ बन्ने लक्ष्य राखेको छ। कम्पनीमा अहिले ७ जनाको समूह रहेको र अधिकांश कामहरू भर्चुअल रूपमा सञ्चालन गर्दै आइरहेको छ। 

हाउस अफ बुक्स प्रालि
हाउस अफ बुक्स सन् २०२० मा कलेजमा अध्ययनरत विद्यार्थीद्वारा स्थापित भएको कम्पनी हो। हाउस अफ बुक्सबाट आफूलाई आवश्यक पुस्तकहरू खरिद गर्न सकिन्छ। यसले उपन्यास, कथाका पुस्तकहरूसँगै कलेज तथा विद्यालयलाई चाहिने आवश्यक पुस्तकहरू उपलब्ध गराइरहेको छ।

यसबाट सेकेन्ड–ह्यान्ड बुक पनि खरिद गर्न सकिन्छ। यसले गर्दा शिक्षाको लागि उच्च गुणस्तर र कम लागतमा पुस्तकहरू पाइने तथा दिगोपन र हरित व्यापार प्रवद्र्धन गर्न मद्दत पुग्ने कम्पनीको भनाइ छ। हाउस अफ बुक्समा एक हजारभन्दा बढी प्रयोगकर्ताहरू रहेका छन्। मिनभवन काठमाडौंमा रहेको कार्यालयमा ८ जनाको समूह क्रियाशील रहेको छ। 

खेती भेन्चर प्रालि
खेती भेन्चर नेपालको कृषि–फुड–टेक इकोसिस्टम र अन्य विकासोन्मुख अर्थतन्त्रहरूमा अग्रणी परिवर्तन निर्माता बनेर दिगो खाद्य प्रणालीमा योगदान पुर्‍याउने लक्ष्यका साथ स्थापना भएको कम्पनी हो। खेती भेन्चरको खेती फुड डटकमबाट अनलाइन फलफूल तथा फुड अर्डर गर्न सकिन्छ।

कम्पनीले खेती फार्म एप पनि सञ्चालनमा ल्याएको छ, जसले बीउ, मल, कीट जाल, आदि जस्ता कृषि इनपुट आपूर्तिहरूको ट्र्याक गर्ने र पारदर्शी मूल्य निर्धारण गर्ने गर्दछ। यसले कृषक र कृषि विज्ञ तथा वैज्ञानिकहरूलाई जोड्ने काम पनि गरेको छ। हाल काठमाडौं र पोखरामा सेवा दिइरहेको कम्पनीले ३० जनाभन्दा बढीलाई रोजगारी दिएको छ।

निर्माण साथी टेक्नोभेसन प्रालि
निर्माण साथी टेक्नोभेसनले घर, अफिसको लागि चाहिने आवश्यक सेवाहरू अनलाइन तथा फोनमार्फत उपलब्ध गराउँदै आइरहेको छ। कम्पनीले मुख्यगरी सिपेज उपचार र आन्तरिक डिजाइन सेवा दिँदै आएको छ ।

यसका साथै निर्माण साथीले आर्किटेक्ट, इन्जिनियर, प्लम्बरदेखि चित्रकार र इन्टेरियर डिजाइनरसम्मका सेवाहरू पनि प्रदान गर्दछ। निर्माण साथीमा अहिले एक हजारभन्दा बढी ग्राहकहरू रहेका छन्। दैनिक ५ देखि १० जनालाई सेवा प्रदान गर्दै आइरहेको छ।

कम्पनीले काठमाडौंसँगै अन्य शहरहरू र अष्ट्रेलियामा पनि आफ्नो सेवा विस्तार गर्ने योजना अनुरूप काम गरिरहेको छ। पुरानो बानेश्वरमा रहेको कम्पनीले १० जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी र दर्जनौंलाई काम गरेबापतको सेवाशुल्क उपलब्ध गराउँदै आइरहेको छ। 
  
पुर्‍याउ सर्भिसेज प्रालि
पुर्‍याउ सेवा नेपालको एक लोजिस्टिक कम्पनी हो।  कम्पनीले देशका ३५ स्थानमा आफ्नो शाखा स्थापना गर्दै काम गरिरहेको छ। कम्पनीले कुनै साना व्यवसाय, अनलाइन सपिङलाई र अन्य व्यवसायलाई लोजिस्टि सेवा दिने गर्दछ।

अहिले दैनिक ५ सय बढी सामानहरू २४ घन्टाभित्र डेलिभरी सेवा उपलब्ध गराइरहेको कम्पनीको दाबी छ। कम्पनीले अनलाइन र अफलाइनमा लजिस्टिक म्यानेजमेन्ट सिस्टम लगायत विभिन्न सफ्टवेयर तथा टुल्सहरू प्रयोग गरिरहेको छ। कम्पनीले ३५ जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी र सयौंलाई डेलिभरी सेवाको लागि रोजगारीको वातावरण सृजना गरेको छ। 

‘एफवान सफ्ट आईसीटी अवार्ड २०२१’का उत्कृष्ट ५ प्रडक्टहरू

बगभी
बगभी एक बग बाउन्टी प्लेटफर्म हो, जसले विश्वभरका सुरक्षा विशेषज्ञ र अनुसन्धानकर्तालाई व्यवसायसँग जोड्नलाई अवसर प्रदान गर्ने गर्दछ। साइबर सुरक्षा अनुसन्धानकर्ताले बगभीमा आबद्ध भएका कम्पनीको सिस्टममा समस्या पत्ता लगाएर आम्दानी गर्न सक्छन्।

अहिले  दर्जनौं अनलाइन सर्भिस तथा ई–कमर्श कम्पनीहरू यस प्लाटफर्ममा जोडिएका छन्। बगभीले सन् २०२२ सम्म एशियाली बजारमा सेवा विस्तार गर्ने र ए सिरिजको फण्ड जुटाउने योजना बनाएको छ भने सन् २०२५ सम्ममा अमेरिकी बजारमा प्रवेश गर्ने र सिरिज बी कोष प्राप्त गर्ने योजना पनि बनाएको छ।

आईएमएस डिस्ट्रिब्युसन म्यानेजमेन्ट सिस्टम
आईएमएस डिस्ट्रिब्युसन म्यानेजमेन्ट सिस्टम वितरण कार्यहरूको पूर्ण डिजिटल सोलुसन हो। यसमा सेल्स व्यवस्थापन, लेखा व्यवस्थापन, सूची नियन्त्रण, रिपोर्ट विश्लेषण, ग्राहक र आपूर्तिकर्ता व्यवस्थापन र एपिआई एकीकरणको सुविधा समावेश छन्।

यसमा आवश्यकता अनुसार सेवाहरू थप गर्न सकिन्छ। यो एक वेबमा आधारित प्लेटफर्म हो, जसले उत्पादक÷आयातकर्तादेखि खुद्रा विक्रेतासम्म सम्पूर्ण वितरण सामानहरूको ट्र्याकिङ र मर्मतसम्भार सुनिश्चित गर्ने गर्दछ। आईएमएस डिस्ट्रिब्युसन म्यानेजमेन्ट सिस्टम सफ्टवेयर अनलाइन र अफलाइन दुवै मोडमा प्रयोग गर्न सकिन्छ। अहिले भाटभटेनी लगायतका स्टोरहरूमा डिजिटल पेमेन्ट समेत इन्टिग्रेट गरी यसको प्रयोग भइरहेको छ। 

मिखा
मिखा नयाँ पुस्ताको भिडियो कोलाबोरेसन प्रडक्ट हो। यसले भर्चुअल रूपमा ग्राहकहरूसँग सम्पर्कमा रहन फेस–टु–फेस सेवा प्रदान गर्छ। खुला एपीआईको कारण प्रडक्टलाई विएफएसआई आवश्यकताहरू अनुसार कस्टोमाइज गरेर कुनै पनि संख्यामा यसको विस्तार गर्न सकिन्छ।

मिखाले ग्राहकहरूलाई भर्चुअल शाखा अनुभव प्रदान गर्न र अधिकांश सबै बैंकिङ कारोबारहरू भर्चुअल रूपमै सञ्चालन गर्न मद्दत गर्दछ। बहु–सहभागी भिडियो कलहरू, अनुहार पहिचान गर्ने प्रणाली, एकीकरण, हस्ताक्षर प्रमाणीकरण, भौगोलिक स्थान, र क्लाउड÷अन–प्रेम रेकर्डिङ जस्ता केही महत्वपूर्ण सुविधाहरू मिखामा रहेका छन्।

प्लान्टस्याट 
प्लान्टस्याट एक निःशुल्क डिजिटल प्लेटफर्म हो, जसले किसानको उपज र वित्तीय प्रतिफल उल्लेखनीय रूपमा बढाउन सक्छ। कम्पनीले निःशुल्क स्याटेलाइट डेटा प्रयोग गरेर जलवायु र मौसम डेटासँग एकीकृत गरी विश्वव्यापी किसानहरूलाई रंगीन नक्साहरूको रूपमा वास्तविक समय विश्लेषणहरू प्रदान गर्ने गर्दछ।

यो प्रविधिले भविष्यमा देखा पर्न सक्ने कुनै पनि विश्वव्यापी संकटको सामना गर्न प्रणालीको लचिलोपन सुनिश्चित गर्दै कृषि नाफालाई अधिकतम बनाएर तत्कालै संकटबाट मुक्त हुन किसानहरूलाई मद्दत गर्ने गर्दछ।

प्लान्टस्याटले किसान, अनुसन्धानकर्ता र सरोकारवालालाई रंगीन नक्साहरू प्रयोग गरेर बालीनाली निगरानी, नाइट्रोजन उर्वरक दक्षता, पानीको उपयोग दक्षता, जीपीएस रूटिङ, विज्ञसँग कुरा लगायका सुविधा प्रदान गर्दछ। जिपिएस रूटिङमा प्लान्टस्याटले अफलाइन कार्यक्षमता प्रदान गर्छ जसले गर्दा इन्टरनेट जडान नभएका दुर्गम ठाउँहरूमा पनि प्रयोगकर्ताहरूले सेवा लिन सक्छन्।

सायक
सायक एक एकीकृत सफ्टवेयर प्रणाली हो। यसले नेपाली लेखन शैलीलाई सजिलो बनाउने गर्दछ। यसमा नेपाली टाइपिङ, फन्ट रूपान्तरण, हिज्जे जाँच, बृहत् शब्दकोष जस्ता सुविधा यसमा छन्।

यो नेजुरल ल्याङ्वेज प्रोसेसिङ तथा मेशिन लर्निङमा आधारित प्रडक्ट हो। यो सेवा हाल निःशुल्क उपलब्ध रहेको छ। नेपाली बृहत् शब्दकोष र नेपाली ल्याङ्वेज रिसोर्स सेन्टर यस प्रडक्टका महत्वपूर्ण विशेषता हुन्। हाल यस प्लेटफर्ममा कर्पोरेट समाचार एजेन्सी, अनलाइन समाचार मिडिया, प्रकाशन गृह र सरकारी कार्यालय सहित हजारौं नियमित प्रयोगकर्ता छन्।

उत्कृष्ट ५ राइजिङ स्टार इन्नोभेसनहरू
आस्क म्याट्ररब
आस्क म्याट्ररबले नेपालभरका विद्यार्थीहरूका लागि निःशुल्क शैक्षिक स्रोतहरू उपलब्ध गराउने गर्दछ। आस्क म्याट्ररबले विद्यार्थीहरू आफैंले सिर्जना गरेका कन्टेन्टहरू प्रयोग गरेर डिजिटल लर्निङको ग्यापलाई पूरा गर्ने लक्ष्य राखेको छ।

आस्क म्याट्ररबमा आफूले नजानेको विषयमा प्रश्न पनि सोध्न सकिन्छ। आस्क म्याट्ररबमा विद्यार्थीहरूले आफ्नो बारेमा, यात्रा, अनुभवहरू पनि शेयर गर्न सक्छन्। हाल आस्क म्याट्ररबसँग मासिक ३० हजार पाठक र १५ सय पढ्ने सामग्रीहरू छन्। रविनकुमार कालीकोटे, प्रणिश खनाल, इशान पन्त, आकृति कार्की र जुन शाक्यले आस्क म्याट्ररबको स्थापना गरेका हुन्।

आइओटी बेस्स्ड इकोनोमिकल एयर प्युरिफायर फर द ग्लोबल साउथ
यो परियोजना स्वचालित हावा शुद्धीकरण प्रणालीको लागि इन्टरनेट अफ थिंग्स (आईओटी) मा आधारित छ। यसमा जडान गरिएको डिस्प्लेमा हावाको गुणस्तर मापन देखाउँछ र प्रदूषण स्वस्थ स्तरभन्दा बढी हुँदा स्वचालित रूपमा सञ्चालन हुन्छ। यो उपकरण वायुको गुणस्तर स्वस्थ स्तरमा पुगेपछि आफैं बन्द हुने गर्दछ।

परियोजनासँग सर्भरमा आधारित डेटाबेस छ, जुन स्थानीय र क्षेत्रीय स्तरको डेटालाई अनुसन्धान, अध्ययन, सञ्चालन गर्न र प्रभावकारी उपायहरूमा अनुगमन गर्न प्रयोग गर्न सकिन्छ। ग्यास डिटेक्टरहरू जस्तै अन्य मोड्युलहरू थपेर हानिकारक र रासायनिक ग्यासहरू पनि पत्ता लगाउन सकिन्छ भने मानिसहरूलाई सचेत गर्न प्रयोग गर्न सकिन्छ। यस प्रोजेक्टमा मनोज गुरुङ, कुशल भण्डारी, श्रीदीप कैनी, नवनीत सिंह र इशान पन्त संलग्न रहेका छन्।

मशुर
मशुर खाद्यान्न आवश्यकता पूरा नभएको नेपालीहरूलाई पहुँचयोग्य र सस्तो पोषण पुर्‍याउने अभियानमा लागेको छ। मशुर होम हार्भेस्ट सिस्टम हो, जुन एक पूर्ण स्वचालित आईओटी डिभाइस हो। यसले यन्त्र भित्रको मौसमी अवस्थालाई कायम राख्छ।

मशुरले एआई, आईओटी जस्ता नवीन प्रविधिहरू एकीकृत गरेर आवश्यकता अनुसार मशरुम उत्पादन गर्दछ। खाद्य उपभोगको मात्रा र गुणस्तरमा सुधार गर्ने प्रविधि र इकोसिस्टमको विकास गरेर, मशुरले मानिसहरूलाई उत्पादनशील बनाउन, समयको बचत र ऊर्जा कम खर्च गर्न मद्दत गर्नेछ।

यस प्रोजेक्टको समूहमा शिशिर पन्त, प्रशान्त भट्ट, निर्देश भट्टराई, सोनी पोखरेल र निश्चल नेपाल आबद्ध रहेका छन्।

ओपन प्लास्टपेपर
ओपन प्लास्टपेपर एआई प्रविधिमा काम गरिरहेको परीक्षा व्यवस्थापन प्लाटफर्म हो। यसले केही समयमा नै हजारौं प्रश्नहरूबाट महत्वपूर्ण प्रश्नहरू छानेर केही सेकेण्डमा प्रश्नपत्र तयार पार्न सहयोग गर्नेछ।

यसमा अपटुडेट प्रश्नपत्रको संगालो रहनेछ र एआई प्रविधिको मार्फतबाट परीक्षाको लागि आवश्यक र महत्वपूर्ण प्रश्नहरू छानेर हप्तौं लाग्ने कामलाई छाेटो समयमा सम्पन्न गर्नेछ। यसले विद्यार्थीलाई पनि स्पेसिफिक प्रश्नहरूसँग आवश्यक च्याप्टरहरू पढ्न र प्रश्नको उत्तरको लागि सहजता प्रदान गर्दछ। यो प्रोजेक्टमा मनिष गोतामे, प्राश्ना कर्माचार्य र सन्तोष बरालको संलग्नता रहेको छ। 

रेन्ट अ बाइक
रेन्ट अ बाइक एउटा मोबाइल एप हो। यो एप नेपालको बढ्दो साहसिक खेल माउन्टेन बाइकिङलाई प्रवद्र्धन गर्न विकास गरिएको हो। पोखरा माउन्टेन बाइक एड्भेन्चरले प्रस्ताव गरेको केही उत्कृष्ट एक दिने बाइकिङ ट्रेलहरू रेन्ट अ बाइकमा रहेका छन्। यसमा ट्रेल नक्साहरू अन्वेषण गर्न, डाउनलोड गर्न र आफ्नै रूपमा नेभिगेट गर्न निःशुल्क उपलब्ध रहेका छन्।

यसमा डिजिटल नक्सा, लोकप्रिय बाइकिङ यात्राहरूको मार्ग जानकारी, स्थल चिह्नहरूको जानकारी, अफलाइन नक्सा, माउन्टेन बाइकको जानकारी लगायतका सुविधा छन्। बाइक भाडामा लिएर समेत चलाउनको यसले सहजीकरण गर्नेछ। यस प्रोजेक्टको टोलीमा अनुसन्धान पोखरेल, वैभव विष्ट र सृष्टि श्रेष्ठ रहेका छन्। उनीहरूको टोलीको नाम एसफेरा हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .