नबिल बैंकले सामाजिक उद्योगी बनाउन एक अभियान सुरु गरेको छ।
नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि ‘नबिल सामाजिक उद्यमशीलता कार्यक्रम अर्थात् ‘नबिल स्कुल अफ सोसियल इन्ट्राप्रेनरसिप’ सुरु गरेको हो।
समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने नवीन सोचमा आधारित उद्यामलाई प्रवर्द्धन गर्दै आर्थिक सामाजिक रुपान्तरणलाई बढावा दिनका लागि यो कार्यक्रम सुरु गरिएको नबिल बैंकका सीईओ अनिल केशरी शाह बताउँछन्।
‘स्थानीय समुदायको सामाजिक उद्यम क्षमता र नेतृत्व विकासका लागि आवश्यक सीप तथा वित्तीय सहयोग उपलब्ध गराई सामाजिक उद्यमको प्रवद्र्धन गर्ने उद्देश्यका साथ सञ्चालनमा आएको यस कार्यक्रमले हाललाई सामाजिक उद्यमशीलतामा प्रमाणपत्र कार्यक्रम र फेलोशिप कार्यक्रम गरी दुई किसिमका कार्यक्रम तय गरेको छ’, सीईओ शाहले भने, ‘सुरुवाती चरणमा सामाजिक उद्यमशीलतामा प्रमाणपत्र कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन बैंकले सातै प्रदेशका निम्न स्कुल कलेज तथा विश्वविद्यालयसँग सम्झौता गरेको छ।’
प्रदेश १ बाट महेन्द्र मोरङ आदर्श मल्टिपल क्याम्पस, प्रदेश २ बाट वीरगन्ज पब्लिक कलेज, बागमती प्रदेशबाट क्याम्पियन कलेज, गण्डकीबाट पोखरा विश्वविद्यालयको फ्याकल्टी अफ ह्युमानिटिज एन्ड सोसल साइन्स, लुम्बिनीबाट क्षितिज इन्टरनेशनल कलेज, कर्णालीबाट सुर्खेत मोडल कलेज, सुदूरपश्चिम प्रदेशबाट सुदूरपश्चिमाञ्चल एकेडेमी रहेको बैंकले जनाएको छ।
यो कार्यक्रमले सातै प्रदेशलाई समेटने गरी प्रत्येक प्रदेशमा एउटा विश्वविद्यालय वा कलेजसँग सहकार्य गरी वार्षिक ७ सय विद्यार्थीहरुलाई सामाजिक उद्यमी बन्ने अवसर सृजना गर्ने बैंकको भनाइ छ।
बैंकले फेलोशिप कार्यक्रम आवासीय तालिममा आधारित भएको जनाएको छ। जुन काठमाडौंमा त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायको स्कुल अफ म्यानेजमेन्टसँग सम्झौता बैंकले आजै गरेको हो।
यो कार्यक्रम कसरी सञ्चालन हुन्छ?
त्यसैगरी एक वर्षसम्मको आवश्यक सहयोगसहित ४० सहभागीलाई संलग्न गराउन ६ महिने सिकाइमा आधारित यो कार्यक्रमले १८ देखि ५० वर्षभित्रका इच्छुक व्यक्तिलाई उद्यमको सुरुवात गर्न सक्षम बनाउने लक्ष्य बैंकको छ। यो कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले तोकिएको मापदण्डअनुसार निवेदन दिन सक्नेछन् र छनौटमा परेका व्यक्तिहरुलाई उद्यमशीलताको तालिम दिइनेछ।
उनीहरुका लागि तालिम अवधिमा बस्ने, खाने सुविधा उपलब्ध हुनेछ। सम्भाव्य सामाजिक उद्यममा इच्छा भएका, सोच बनाएका र आवश्यक मात्रामा आफ्नो लगानी गर्न तयार भएका व्यक्तिहरु यी दुवैमध्ये कुनै एक कार्यक्रममा सहभागी हुन सक्नेछन्।
बैंकका सीईओ शाह भन्छन्, ‘नबिल स्कुल अफ सोसियल इन्ट्रप्रेनरसिपका दुवै कोर्स पूरा गरेको व्यक्ति उद्यमशीलताको स्पष्ट सोच विकास गरी नयाँ सामाजिक उद्यमको मोडेल गर्दै बैंकबाट ऋण लिएर सामाजिक उद्यम सुरुवात गर्नसक्ने अपेक्षा गरिएको छ।’
उनीहरुले शिक्षा, स्वास्थ्य, पानी तथा सरसफाइ, कृषि, खाद्य, जीविकोपार्जन, ऊर्जा र जलवायु परिवर्तनजस्ता क्षेत्रहरुमा लगानी गरी सामाजिक उद्यमशीलता विकास गर्न सक्नेछन्। सहभागीहरुले सामाजिक उद्यम सञ्चालनको तरिकासँगै आधारभूत कानुनी तथा करसम्बन्धीका ज्ञान पनि पाउनेछन्।
उनीहरुले सामाजिक समस्याको पहिचान तथा त्यसको समाधानको तरिका, सामाजिक सञ्जालमार्फत आफ्नो व्यवसाय प्रवद्र्धन, लेखासम्बन्धी ज्ञान, आवश्यक योजना तथा बजेट व्यवस्थापनजस्ता व्यवसाय सञ्चालनका आधारभूत कुराहरुको समेत व्यावहारिक ज्ञान र सीप पाउनेछन्।
लघुवित्त, संस्था व्यवस्थापन, परियोजना सञ्चालन तथा व्यवस्थापन, प्रस्तुति कला, आफ्ना वस्तु तथा सेवाको बजारीकरण जस्ता विषयलाई समेत तालिममा समावेश गरिएको बैंकले बताएको छ। यसले गर्दा यो तालिम व्यवसाय सुरुवात तथा सञ्चालनमा मात्र सीमित नभएर उद्यमीको व्यक्तित्व नेतत्व र विविध सीप विकाससँग समेत जोडिएको छ।
यसरी व्यवसाय सञ्चालनका लागि आवश्यक सैद्धान्तिक तथा व्यावहारिक ज्ञानका साथै कर्जाका लागि समेत सहयोग गरिने भएकाले यो कार्यक्रमले नयाँ उद्यमीलाई सफल र सक्षम बनाउन रचनात्मक सहयोग पुग्ने बैंकको भनाइ छ।
नेपालको संविधानले परिकल्पना गरेको हरेक नागरिकको आर्थिक, सामाजिक र समावेशी विकासको भावनालाई प्रवर्द्धन गर्न यो कार्यक्रमले निजी, सार्वजनिक, शैक्षिक संस्था र समुदायबीचको रचनात्मक सामूहिकतालाई प्रवर्द्धन गर्ने प्रयास गरेको छ।
दिगो विकास लक्ष्य नेपालको पन्ध्रौँ आवधिक योजनालगायतका दस्तावेजले समेत प्राथमिकतामा राखेको समावेशी विकासलाई साकार पार्न यस्ता कार्यक्रमले सहयोग पुग्ने नबिल बैंकले बताएको छ।
यो कार्यक्रम पूर्ण व्यावसायिक चक्रको प्याकेज भएकोले सामाजिक उद्यमका लागि अवधारणा निर्माण गर्ने त्यसलाई लगानीयोग्य बनाउने तथा साना सीप र रोजगारी गरि जीवन निर्वाह गरिरहेकाहरुलाई पनि उद्यामी बनाउन एक नयाँ सुरुवात रहेको रुपमा नबिल बैंकले व्याख्या गरेको छ।
Shares
प्रतिक्रिया