ad ad

कारोबार


जेनिस सलुसन लिमिटेडले अमेरिकामा खोल्यो आफ्नो कार्यालय

जेनिस सलुसन लिमिटेडले अमेरिकामा खोल्यो आफ्नो कार्यालय

नेपालखबर
मंसिर ९, २०७८ बिहिबार १७:३४, काठमाडौँ

डिजिटल प्रविधि सेवा प्रदान गर्ने कम्पनी, जेनिस सलुसनले संयुक्त राज्य अमेरिकामा आफ्नो पहिलो कार्यालय खोलेको छ। 

ब्रिटेनमा मुख्यालय रहेको उक्त कम्पनीको नेपाल, भारत, पाकिस्तान, बांगलादेश, अष्ट्रेलिया र फिनल्याण्डमा कार्यालयहरु छन्।  

जेनिस सलुसन अमेजन वेब सर्भिसेज, गुगल तथा माइक्रोसफ्टको आधिकारिक सेवा प्रदायक पनि हो।  

जेनिसले यसपहिले नै अमेरिकास्थित केही ठूला बैंकहरुलाई आफ्नो सेवा प्रदान गर्दै आएको छ।  

अमेरिकास्थित नयाँ  कार्यालयबाट जेनिसले सिलिकन भ्याली र फर्चुन ५०० कम्पनीहरु लगायतमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्य लिएको छ।  

यो विस्तार विश्वभरि आफ्नो व्यवसाय तथा सेवाप्रवाह  संजाल पुराउने जेनिसको रणनीतिको एक अंग हो। 

ं‘संयुक्त राज्य अमेरिका सूचना, सञ्चार तथा प्रविधि उद्योगमा संसारकै सबैभन्दा ठूलो बजार हो र त्यहाँ हाम्रो औपचारिक उपस्थिति हाम्रा लागि एउटा उपलब्धि र गौरवको कुरा हो’, कम्पनीका ग्लोबल मुख्य प्रविधि अधिकृत अन्जनी फुयालले भने, ‘हामीले नेपालमा एउटा बलियो कार्यसञ्चालन आधार तयार गरेर अमेरिकास्थित कम्पनीहरुलाई डिजिटल रुपान्तरणको क्षेत्रमा हाम्रा विशिष्ट सेवाहरु उपलब्ध गराउनेछौँ।’ 

एउटा कम्पनीको रुपमा अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थितिलाई बलियो बनाउनुका साथै विश्व सूचना, सञ्चार तथा प्रविधि उद्योगमा नेपाललाई बजार मापदण्ड कायम गर्न सफल एक स्रोत मुलुकको रुपमा स्थापित गर्न चाहेको उनको भनाइ छ।   

जेनिसले एडब्लुएस, गुगल, माइक्रोसफ्ट, अलिबाबा क्लाउड लगायतका विश्वचर्चित क्लाउड सेवा प्रदायक कम्पनीहरुसँगको साझेदारीमा आफ्ना कार्यालयहरुबाट विश्वभरि नै सेवा प्रदान गर्दै जाने लक्ष्य लिएको छ। 

अमेरिकी बजारमा चाहिँ उच्च गुणस्तरका डेभ अप्स,  क्लाउड माइग्रेसन्स, क्लाउड नेटिभ डेभलपमेन्ट्स, एसईओ, व्यवस्थित सूचना प्रविधि तथा सुरक्षा सेवाहरु प्रतिस्पर्धी दरमा उपलब्ध गराइनेछ।   

यसअघि विश्व बैंकको आइएफसीअन्तर्गत बिजनेस अक्सिजन प्रालिले नेपालकै पहिलो क्लाउड कन्सल्टेन्सी कम्पनी, जेनिस सोलुसन प्रालिमा झन्डै साढे पाँच करोड रुपैयाँबराबरको लगानी गरेको थियो। 

बिजनेस अक्सिजन प्रालि विश्व बैंकअन्तर्गत रहेको आइएफसीको लगानी रहेको नेपालकै पहिलो निजी इक्विटी फन्ड हो। 

जेनिस सोलुसनले उक्त लगानी नेपालमा ‘हाइब्रिड क्लाउड’ सुरु गर्न र कम्पनीद्वारा प्रदान गरिने  सेवाहरुमा उल्लेख्य वृद्धि गर्न चालू पुँजीको रुपमा उपयोग गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .