कारोबार


सिद्धार्थ राणाका तीन व्यवसायः जहाँबाट आम्दानी गरेर तिर्छन् सर्वाधिक कर

सिद्धार्थ राणाका तीन व्यवसायः जहाँबाट आम्दानी गरेर तिर्छन् सर्वाधिक कर

सिद्धार्थ राणा।


दीपक भट्ट
मंसिर १, २०७८ बुधबार १८:२६, काठमाडौँ

व्यवसाय धेरैले गर्छन् तर व्यावसायिक इमानदारिता देखाउने कमै हुन्छन्। तिनै कममा पर्नेहरुमध्ये एक हुन्– व्यवसायी सिद्धार्थ शमशेर राणा। 

सिप्रदीका प्रमुख राणा मज्जैले आम्दानी गर्छन् र सरकारलाई सबैभन्दा धेरै कर पनि तिर्छन्। 

नेपाली व्यवसाय क्षेत्रमा उनले कमाएको यो परिचय केवल उदाहरणीय मात्र छैन, अनुकरणीय पनि छ। 

इमानदार व्यवसायीको परिचय बनाएका राणालाई बुधबार दशौँ कर दिवसका अवसरमा सम्मानित गरियो। 

सातौँपटक उत्कृष्ट करदाता
राणाले पाएको यो सम्मान सातौँ पटक हो। एकै व्यक्तिले पटक–पटक सर्वाधिक आयकर तिर्नेमा पहिलो स्थानमा पर्नु चानचुने कुरा होइन। र, राणा यसमा आफूलाई अब्बल दर्जामा राख्न सफल रहँदै आएका छन्।  

यस वर्ष पनि आन्तरिक राजस्व विभागले १५ उत्कृष्ट करदातालाई सम्मान गरेको हो। त्यसमा विभिन्न १४ कम्पनीले उत्कृष्ट करदाताको सम्मान पाउँदा व्यक्तिगत रुपमा सबैभन्दा धेरै आयकर तिर्नेमा सिद्धार्थ उत्कृष्ट भएका हुन्।   

नेपालमा उनीभन्दा धेरै कारोबार गर्ने उद्योग मालिक र व्यावसायिक घरानाहरु नभएका होइनन्, तर कर तिर्नेमा सिद्धार्थले ती सबैलाई पछाडि पार्छन्। 

जसले धेरै आम्दानी गर्छ, उसैले धेरै कर तिर्छ। उनले विगत ७ वर्षयता हालसम्म सबैभन्दा धेरै आम्दानी गरेको र त्यहीअनुसार लाग्ने आयकर पनि दाखिला गरेको बताउँछ आन्तरिक राजस्व विभाग। 

विभागका एक अधिकारीका अनुसार राणाले व्यक्तिगत आयकर लगातार धेरै दाखिला गर्दै आएका छन्। 

यता अन्य व्यावसायिक घरानाले परिवारका सदस्यको नाममा सेयर स्वामित्व बाँडफाँट गरेका छन्। सोही कारण उनीहरुको परिवारको धेरै आम्दानी त देखिन्छ तर व्यक्तिगत आम्दानी भने सिद्धार्थ राणाको नै देखिने विभागका ती अधिकारी बताउँछन्। 

जहाँबाट कमाउँछन् र उत्कृष्ट करदाताको छवि जोगाउँछन् 

सिप्रदी : नेपालको उत्पादन, सेवा र व्यापार क्षेत्र नै सिद्धार्थको मुख्य आयस्रोत हो। उनी आबद्ध रहेको व्यवसायले नेपालमा राम्रै व्यापारिक सफलता पाएको छ। 

उनलाई उत्कृष्ट करदाता बनाउन सिप्रदी ट्रेडिङले अटो क्षेत्रमा गरेको एकछत्र राज त छँदै छ, त्यसमा अन्य कम्पनीको पनि योगदान छ। 

नेपालमा टाटाका गाडीहरुको एकमात्र अधिकृत बिक्रेता सिप्रदी आफैँमा एउटा ‘ग्रुप अफ कम्पनिज’ हो। सिद्धार्थ यसका प्रमुख हुन्। यसले नेपालमा सबैभन्दा बढी अटोजन्य कारोबार गर्छ। बाहिरबाट हेर्दा उनको कारोबार टाटा गाडीको मात्रै आधिकारिक बिक्रेताजस्तो देखिन्छ। 

तर यसभित्रका फरक फरक कम्पनीहरु सिप्रदी ट्रेडिङ, सिप्रदी अटोपार्ट्स, सिप्रदी यसोर्ड, सिप्रदी हायर पर्चेजले फरक–फरक व्यवसाय गर्छन्। जसमा अटो पार्ट, ब्याट्री, हायर पर्चेजलगायतका तज्जन्य वस्तुहरुको किनबेच हुन्छ। 

सूर्य नेपाल : उनको व्यक्तिगत कमाइ धेरै हुनुमा बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालिले पाएको सफलताको पनि हात छ। 

चुरोट उत्पादन गरेर बिक्री गर्दै आएको सूर्य नेपाल आफैँमा उत्कृष्ट करदाताको सम्मान पाउँदै आएको छ। यस वर्ष पनि कम्पनीले आयकर, भ्याट र अन्तःशुल्कमा सबैभन्दा धेरै कर तिरी सरकारबाट सम्मान पाएको छ। 

यही सूर्य नेपालका नेपाली साझेदार रहेका छन् सिद्धार्थ। यो कम्पनीले सन् १९८६ देखि नेपालमा कारोबार गर्दै आएको छ। यसमा सबैभन्दा बढी सेयर स्वामित्व आईटीसी लिमिटेड इन्डियाको ५९ प्रतिशत छ। ३९ प्रतिशत सेयर नेपाली लगानीकर्ताको छ। त्यस्तै, २ प्रतिशत सेयर लगानी भने ब्रिटिश अमेरिकन टोबाको इन्भेष्टमेन्टको रहेको छ। 

नेपाली सेयर लगानीकर्तामध्ये सिद्धार्थकै सबैभन्दा धेरै सेयर छ। सिद्धार्थ कम्पनीमा १ हजार ४ सय ८ कित्ता सेयरका मालिक हुन्। यसबाट हुने आम्दानीमा लाग्ने आयकर उनले दाखिला गर्दै आएका छन्।

सोल्टी होटल : यति मात्रै नभएर सिद्धार्थको अर्को लगानी चर्चित पाँचतारे होटल सोल्टीमा छ। सोल्टी होटलमा विभिन्न कम्पनीको लगानी छ।

यसमा होलिडे इन्स इन्भेस्टमेन्ट लिमिटेडको १० प्रतिशत, सोल्टी इन्टरप्राइजेज प्रालिको ३९ दशमलव ५७, वायुसेवा निगमको १२ दशमलव २६ र सर्वसाधारणको ३८ दशमलव १७ प्रतिशत लगानी छ। 

होलिडे इन्स इन्भेस्टमेन्ट लिमिटेडको १० प्रतिशत सेयर सोल्टी इन्टरप्राइजेजले खरिद गरेको छ। जुन कम्पनी सिद्धार्थ राणा तथा पूर्वराजा ज्ञानेन्द्र शाहको हो। 

नेपालमा यिनै मुख्य क्षेत्रबाट सिद्धार्थले सर्वाधिक आम्दानी गर्दै आएका छन् भने त्यसबापत लाग्ने कर पनि सरकारलाई दाखिला गर्दै आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .