कारोबार


यी तीन कारणले सम्भव भयो नबिलको उच्च लाभांश

यी तीन कारणले सम्भव भयो नबिलको उच्च लाभांश

नबिलले ५ वर्षयता वितरण गरेकाे लाभांश। स्राेत : नबिल बैंक


दीपक भट्ट
कात्तिक २२, २०७८ सोमबार १९:३८, काठमाडौँ

नबिल बैंक लिमिटेडले गत हप्ता उच्च दरको लाभांश दिने प्रस्ताव गर्‍यो। वाणिज्य बैंकहरुमध्ये नै उच्च अर्थात् ३८ प्रतिशत लाभांश वितरण गर्ने नबिलको सञ्चालक समितिको निर्णय थियो। 

यसअनुसार बैंकले गत वर्षको सञ्चित मुनाफाबाट ३३ दशमलव ६० प्रतिशत बोनस सेयर तथा ४ दशमलव ४० प्रतिशत नगद लाभांश वितरण गर्नेछ। 

लाभांश भनेको आफूले कमाएको वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई निश्चित प्रतिशत सेयर र निश्चित रकम नगदै बाँड्ने हो। धेरै लाभांश बाँड्नलाई बैंकले सोहीअनुसार व्यावसायिक सफलता हासिल गरेको हुनुपर्छ।  

त्यही सफलतालाई धेरै लाभांश बाँड्न सक्नुको मुख्य कारण मान्छन् नबिलका महाप्रबन्धक मनोज ज्ञवाली।  

हुन पनि वाणिज्य बैंकहरुमा सबैभन्दा उच्च प्रतिफल दिने बैंकमा अहिले नबिल नै अघि देखिएको छ। 

‘यसरी उच्च प्रतिफल दिनुमा धेरै विषय जोडिएको हुन्छ’, ज्ञवालीले भने, ‘पहिलो कुरा त यो विगतको तुलनामा बढेको नाफा जोडिन्छ। गत वर्ष हामी वाणिज्य बैंकहरुको कुल नाफामा पहिलो नै रह्यौँ।’

नबिल बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ५० करोड ४४ लाख ३७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो।

अहिले ३८ प्रतिशतको लाभांश गर्न सक्नुमा नबिल बैंकको रणनीतिक योजना पनि जोडिने ज्ञवाली बताउँछन्। 

गत वर्षको बैंकको साधारणसभाले एक्विजिसन र मर्जरलाई खुल्ला गर्यो। अहिलेसम्म एक्विजिसन र मर्जरको कुरा कुनै वार्षिक साधारणसभामा उठेको थिएन। 

गत वर्ष एक्विजिसन र मर्जर खुल्ला भएसँगै युनाइटेड फाइनान्सलाई बैंकले एक्विजिसन गरेको थियो। १ अर्ब ४ करोड पुँजी भएको संस्थालाई एक्वायर्ड (प्राप्त) गरेपछि स्वाप रेसियोमा समेत बचेको पुँजी थियो। सो समेत जोडिँदा लाभांश बढेको हो। 

उनले भने, ‘त्यसका साथै सोही फाइनान्सको समेत वितरणयोग्य रकम वितरण भएको थिएन। यसको नै १ अर्ब रकम त्यसमा देखिएको थियो। त्यसले गर्दा पनि लाभांश वितरण रकम बढेको हो।’

यसमा बैंकको आफ्नो सञ्चित पुँजी पनि रहेकाले लाभांश राम्रो दिन सकेको हो। 

लाभांशले तान्दै छ लगानीकर्तालाई 
बैंकको उच्च लाभांशकै कारण नबिलको सेयरप्रति लगानीकर्ता पनि आकर्षित भएका छन्। 

तिहारपछिको पहिलो दिन सोमबार खुलेको सेयर कारोबारमा देखिएको लगानीकर्ताको उत्साहजनक सहभागिताले पनि यही देखाउँछ। 

नेपाल स्टक एक्स्चेन्जका अनुसार सोमबार समग्र सेयरबजार १९ अंकले घटेको दिन समेत नबिल बैंकको ३० करोड ३३ लाखबराबरको कारोबार भएको छ। यो भनेको सोमबारको दोस्रो सर्वाधिक कारोबार हो। 

सोमबार मात्रै बैंकको १ लाख ८६ हजार बढी कित्ता सेयर खरिदबिक्री भएको छ। 

नबिल बैंकको एक कित्ता सेयरको मूल्य सोमबार १ हजार ६ सय रुपैयाँ ७० पैसा पुगेको छ। 

प्रतिसेयर मूल्य उच्च हुँदा लगानीकर्ताहरु नबिल बैंकको सेयर किनिरहेका छन् भने अहिले त उच्च लाभांशले पनि उनीहरुलाई आकर्षित गरिरहेको छ। 

‘पब्लिक ट्रस्ट’ मुख्य कारण 
यसलाई नबिलले आर्जन गरेको विश्वास मान्छन् महाप्रबन्धक ज्ञवाली। 

‘अहिले पनि केही वाणिज्य बैंकको बिजनेस बढी भइसकेको होला तर पब्लिकको नजरमा अहिले पनि सबैभन्दा ठूलो बैंक भनेको चाहिँ नबिल नै हो’, ज्ञवालीको दाबी छ। 

नाफाको हिसाबमा चालू आवको पहिलो त्रैमासिक अवधिमा एनआईसी एसियाले नाफा आर्जनमा नबिललाई जितेको छ। 

चालू आवको पहिलो तीन महिनामा एनआईसी एसियाले १ अर्ब १८ करोड रुपैयाँ मुनाफा आर्जन गर्दा नबिल बैंकले १ अर्ब ११ करोड रुपैयाँ कमाएको छ।  

‘अरुले कारोबारमा जिते पनि बैंक भन्नेबित्तिकै हामीलाई विश्वास गर्छन्’, महाप्रबन्धक ज्ञवाली भन्छन्, ‘त्यसकारण पनि सेयर लगानीकर्ताहरु हामीप्रति आकर्षित भइरहेका छन्। ३७ वर्षको इतिहासमा बैंकले धेरै विश्वास जित्दै आएको छ। जुन बैंकको मिहिनेत पनि हो।’

राष्ट्र बैंकले चिरञ्जीवी नेपाल गभर्नर हुँदा वाणिज्य बैंकको चुक्ता पुँजी ८ अर्ब हुनुपर्ने नीति ल्याएको थियो। 

सोहीअनुसार वाणिज्य बैंकहरुले चुक्ता पुँजी बढाए तर नबिल बैंकले राइट सेयर नै जारी नगरी अहिले १६ अर्ब ८४ करोड चुक्ता पुँजी पु¥याएको छ। 

यो वर्षको बोनस सेयरले अब २० अर्ब चुक्ता पुँजी पुग्नेछ। यसमा बैंकले निरन्तर पस्किएको उत्कृष्ट प्रस्तुतिलाई श्रेय जान्छ। अहिले सेयरबजारमा बलियो अवस्थामा सेयर मूल्य रहनुलाई यसैको प्रतिफल मान्छन् ज्ञवाली। 

विगतमा कस्तो थियो नबिल बैंकको लाभांश? 
नबिल बैंकले अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा आर्जन गरेको नाफाबाट ३५ दशमलव २६ प्रतिशत लाभांश दिएको थियो। 

सो वर्ष बैंकले निजी क्षेत्रका बैंकहरुमध्ये ३ अर्ब ४६ करोडको उच्चतम मुनाफा  हासिल गर्न सफल भएको थियो। 

त्यस्तै आर्थिक वर्ष २०७५/०७६ मा बैंकले सेयरधनीलाई ३४ प्रतिशत लाभांश वितरण गरेको थियो। जसमा १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश समावेश थियो। त्योभन्दा अघिल्लो आव (२०७४/०७५ मा पनि बैंकले १२ प्रतिशत बोनस र २२ प्रतिशत नगद गरी कुल ३४ प्रतिशत नै लाभांश दिएको थियो। 

आव २०७३/०७४ मा भने बैंकले ३० प्रतिशत बोनस र १८ प्रतिशत नगद गरी कुल ४८ प्रतिशत लाभांश बाँडेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .