ad ad

कारोबार


चिडियाखानाको आम्दानी आधा घट्यो

चिडियाखानाको आम्दानी आधा घट्यो

नेपालखबर
असोज ६, २०७८ बुधबार ८:१७, काठमाडौँ

कोरोना भाइरस संक्रमण जोखिमका कारण बन्द रहेको सदर चिडियाखाना गत साउन १ गतेदेखि सञ्चालनमा आएको छ। 

कोरोना महामारीका कारण मानिसहरू घुम्न ननिस्किँदा ललितपुरको जावलाखेलस्थित चिडियाखानाको आम्दानी आधाले घटेको छ। कोभिड–१९ सुरु हुनुभन्दा पहिले वार्षिक १५ करोडसम्म आम्दानी हुने चिडियाखानमा गत वर्ष सात करोड मात्र आम्दानी भएको चिडियाखानाका सूचना अधिकारी लिना चालिसेले जानकारी दिए। 

‘पहिले मानिसहरु उत्साहका साथ अवलोकन गर्न आउथे । हाल त्यो अवस्था छैन,’ चालिसेले भने, ‘अहिले दैनिक ५ सय मानिस मात्र आउँछन् । कोरोना अघिसम्म दैनिक २५ सय सम्म आउने गरेका थिए।’

पहिलो पटक लकडाउन हुँदा आठ महिनापछि स्वास्थ्य मापदण्ड अपनाई चिडियाखाना पुनः खुला गरिएको थियो । लामो समय बन्द रहँदा खर्च व्यवस्थापनमै समस्या भएपछि कोरोनाको जोखिमकै बीच स्वास्थ्य सुरक्षाका उपाय अपनाई चिडियाखाना अवलोकन गर्ने व्यवस्था गरिएको थियो। 

सुरक्षाका मापदण्डमा अवलोकनकर्ताले अनिवार्य मास्क ल्याउनुपर्ने छ भने जनावरलाई खुवाउन, छुन पाइने छैन। अहिले पनि यही मापदण्ड कायम छ। यसअघि झँै हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म अवलोकनका लागि खुला गरिएको छ। 

हाल चिडियाखानामा ११० प्रजातिका एक हजार ६८ जीवजन्तु छन्। त्यहाँका मुख्य आकर्षणको रूपमा बाघ, भालु, चितुवा र रातो हाब्रे छन्।

चिडियाखानामा रहेका प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ प्रकारका जन्तुलाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ। 

चिडियाखाना अवलोकनका गर्न विदेशीको लागि एक हजार तथा सार्क राष्ट्रका नागरिकका लागि ५ सय रुपैयाँ निर्धारण गरिएको छ। नेपालीलाई भने २ सय शुल्क तोकिएको छ। 

यसैगरी चिडियाखानाले नेपाली विद्यार्थीका लागि १३५ र ज्येष्ठ नागरिकका लागि १ सय रुपैयाँ शुल्क निर्धारण गरेको छ। वार्षिक ११ लाख दर्शकसम्म अवलोकन गर्न आउने चिडियाखाना प्रशासनले प्रवेश शुल्कबाट नै वार्षिक १५ करोडसम्म आम्दान गर्दै आएको छ। 

प्रवेश शुल्कबाट आएको आम्दानीले नै कर्मचारी र जनावरलाई खाना खुवाउने कामको व्यवस्थापनमा खर्च हुन्छ।

चिडियाखाना व्यवस्थापनका अनुसार बन्द हुनुअघि हरेक दिन तीन हजार अवलोकनकर्ता चिडियाखाना अवलोकनका लागि आउने गरेका थिए। 

तत्कालीन राणा प्रधानमन्त्री जुद्धशम्शेर जङ्गबहादुर राणाले सन् १९३२ मा यसलाई निजी चिडियाखानाको रूपमा स्थापना गरेका थिए। 

विसं २०११ बाट सर्वसाधारणका लागि खुला गरिएको चिडियाखाना विसं २०५२ बाट यसको व्यवस्थापनको जिम्मेवारी ३० वर्षका लागि सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गरेको थियो । सोहीअनुरुप कोषले व्यवस्थापन गर्दै आएको छ। रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .