ad ad

कारोबार


ऊर्जामन्त्रीको आग्रह: अब भान्सामा एलपी ग्यास होइन, विद्युतीय चुल्हो राखौँ

ऊर्जामन्त्रीको आग्रह: अब भान्सामा एलपी ग्यास होइन, विद्युतीय चुल्हो राखौँ

नेपालखबर
असोज ५, २०७८ मंगलबार २१:५४, काठमाडौँ

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले घरायसी उपभोगमा प्रयोग हुने विद्युत् महसुल दर घट्ने भएकाले भान्सामा विद्युतीय चुल्हो प्रयोग गर्न अपिल गरेकी छन्। 

मन्त्री भुसालले आफ्नै देशको उत्पादन विद्युत् उपभोग गरेर लाभान्वित हुन पनि आग्रह गरेकी छन्। 
 

ऊर्जा क्षेत्रमा उत्कृष्ट व्यावसायिक सीप केन्द्रको आज शुभारम्भ गर्दै उनले यस्तो बताएकी हुन्। 

'घरायसी उपभोगको विद्युत् महसुल दरमा कम गरेको छु । नयाँ महसुल दर लागू भएपछि एलपी ग्यासभन्दा विद्युतीय चुल्हो सस्तो हुन्छ', उनले भनिन्। 

ललितपुरको थेँचोमा स्नाइडर इलेक्ट्रिक फाउन्डेसनले डन बोस्को इन्स्टिच्युटसँगको साझेदारीमा नेपालमा पहिलो पटक त्यस्तो केन्द्र शुभारम्भ गरिएको हो।

आफ्नै देशमा उत्पादित विद्युत् खपत गरे चुलिएको व्यापारघाटा कम हुने विश्वास व्यक्त गर्दै मन्त्री भुसालले समृद्धिका लागि पनि विद्युत् उत्पादन र खपतलाई सरकारले केन्द्रमा राखेको बताइन्। 

नेपाल विद्युत् प्राधिकरणले २० युनिटसम्मको बिजुली निःशुल्क उपलब्ध गराउने बताउँदै उनले कृषि सिँचाइमा प्रयोग हुने विद्युतमा सहुलियत दिने निर्णय गरेको जानकारी दिइन्। 

उक्त निर्णय कार्यान्वयन भएसँगै जनताले राहत पाउने विश्वास उनले जनाइन्। गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले आफ्नो क्षेत्रमा ऊर्जाको उत्कृष्ट केन्द्र सञ्चालन भई दक्ष जनशक्ति उत्पादन हुनु गौरवको विषय भएको भन्दै त्यसका लागि थप सहयोग गर्न नगरपालिका तयार रहेको बताए। 

नेपालका लागि फ्रान्सका राजदूत जिल्लेस बोउडाओले केन्द्रको स्थापनासँगै रोजगारी सिर्जना र सीप विकासका लागि महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) का उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले डन बोस्को इन्स्टिच्युटले तयार पारेको जनशक्तिले देश विकासमा ठूलो मद्दत पुग्ने बताए। 

नेपाल डन बोस्को सोसाइटीका अध्यक्ष फादर अगष्टीले नेपालका ग्रामीण क्षेत्रमा जनशक्ति कम भइरहेको अवस्थामा केन्द्रमा उत्पादित जनशक्तिले गाउँशहरसम्म सेवा दिने बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .