कारोबार


प्रतिस्थापन बजेटलाई स्वागत गर्दै महासंघले भन्यो : हाम्रो माग पुरा भयो

प्रतिस्थापन बजेटलाई स्वागत गर्दै महासंघले भन्यो : हाम्रो माग पुरा भयो

नेपाल सरकारले संसदमा पेश गरेको प्रतिस्थापन विधेयक (बजेट)  निजी क्षेत्रप्रति सकारात्मक रहेको नेपाल उद्योग वाणिज्य महासंघले बताएको छ। बजेटले  अर्थतन्त्रलाई अगाडि बढाउन सहयोग पुर्याउने विश्वास महासंघले गरेको छ।

सरकारले अर्थ सम्बन्धी अध्यायदेशहरुलाई प्रतिस्थापन गर्ने विधेयक (प्रतिस्थापन बजेट) भदौ २५ गते संघीय संसदमा प्रस्तुत गरेको थियो। 

कोभिड–१९ महामारीबाट नागरिकको जीवन रक्षा गर्ने र शिथिल अर्थतन्त्रलाई पुनरुत्थान गरी उच्चदरको आर्थिक वृद्धि हासिल गरि विद्यमान बहुआयामिक गरिवी न्यूनिकरण गर्ने मुख्य उद्देश्य बजेटले लिएको महासंघले जनाएको छ।

निजी क्षेत्रलाई आर्थिक विकासको सम्बाहकको रुपमा परिभाषित गर्दै अनुकुल व्यवसायिक वातावरण सिर्जना गरिने कुराले निजी क्षेत्र उत्साहित भएको महासंघको भनाई छ। 

महासंघले भनेको छ, ‘करको दर भन्दा दायरा बढाउने प्रतिस्थापन बजेटको प्राथमिकतालाई महासंघ स्वागत गर्दछ। आर्थिक अनुशासन कायम गर्दै कोभिड खोप व्यवस्थापन गर्ने सरकारको तयारी सकारात्मक छ।’

निरन्तर बढिरहेको व्यापार घाटालाई क्रमशः घटाउँदै वैदेशिक व्यापार सन्तुलन गर्न तीन महिना भित्र योजना तयार गरिने उल्लेख गरिएको छ, जुन सकारात्मक छ। मुलुक अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा युरोप अमेरिका लगायतका विकसित मुलुकमा निर्यात प्रभावित हुने देखिएको छ। यसबारे महासंघले अध्ययन गरेको छ। यसमा निजी क्षेत्रसँग सहकार्य गर्न महासंघ सरकारसँग आग्रह गरेको छ।

यसैगरि कोभिडबाट सवैभन्दा बढी प्रभावित साना उद्यम एवं पर्यटन क्षेत्रलाई तत्काल तङ्ग्रने कार्यमा थप गृहकार्य आवश्यक छ। साना तथा मझौला उद्यमलाई परियोजनाका आधारमा कर्जा उपलब्ध गराउने सम्भावना सहित महासंघले अध्ययन प्रतिवेदन नेपाल राष्ट्र बैंक समक्ष पेश गरेको छ। बजेटले पनि ५ सय युवालाई विना धितो ऋण उपलब्ध गराउने व्यवस्था गरेको छ। यसको प्रभावकारी कार्यान्वयनका लागि पनि महासंघले तयार पारेको सम्भाव्यता अध्ययन सहयोगी हुने महासंघको विश्वास छ। 

राष्ट्रिय महत्वका जलविद्युत आयोजना, अन्तर्राष्ट्रिय विमानस्थल, भूमिगत मार्ग तथा सडक मार्ग, रेलमार्ग जस्ता पूर्वाधार विकास आयोजना, सिमेन्ट उद्योग, स्टिल उद्योग, कृषिमा आधारित उद्योग, पर्यटन सेवासँग सम्बन्धित उद्योग तथा तीन सय जनाभन्दा बढी स्वदेशी कामदारलाई रोजगारी दिने र पचास प्रतिशत भन्दा बढी स्वदेशी कच्चा पदार्थ उपयोग गर्ने उत्पादनशील उद्योगमा २०८० चैत्र मसान्तसम्म गरिएको लगानीको स्रोत नखोजिने व्यवस्था गरिएको छ। यसले अनौपचारिक क्षेत्रमा रहेको पूँजीलाई औपचारिक क्षेत्रमा प्रवाह हुने वातावरण निर्माण भई  अर्थतन्त्रमा उत्पादन र रोजगारी वृद्धि हुने महासंघको ठहर छ।

सयौं वर्ष पुरानो व्यवसायिक इतिहास भएको हाम्रो मुलुकमा विगतका विभिन्न कानुनी व्यवस्थाका कारण ठूलो धनराशी वैध हुँदाहुँदै पनि औपचारिक अर्थतन्त्रमा आउन सकेको छैन। त्यसैले सम्पत्ति अभिलेखीकरण सुविधा दिन महासंघले माग गर्दै आइरहेको छ। यसले ठूलो रकम वैधानिक अर्थतन्त्रमा आउने र लगानी प्रोत्साहित हुनेछ। विश्वका अन्य मुलुकमा पनि यस्तो प्रचलन रहँदै आएकाले सम्पती अभिलेखीकरणका कारण अन्तर्राष्ट्रिय प्रतिवद्धतामा कुनै असर नपर्ने महासंघको ठहर छ। 

महासंघले लामो समयदेखि औद्योगिक कच्चा पदार्थमा भन्सार दर एक देखि दुई तह कम हुनुपर्ने माग राख्दै आएको छ। यसै सन्दर्भमा स्पन्ज आइरनमा भन्सार दर कम गरिएको छ। यसले आद्योगिकीकरणमा सहयोग पुग्नेछ। 

यो व्यवस्थासँगै एमएस बिलेट आयातमा अन्तःशुल्क थपिएको छ। यस परिवर्तनले एमएस बिलेट ल्याई फलामे छड उत्पादन गर्दै आइरहेका उद्योगहरुको उत्पादन लागत बढ्न गई प्रतिष्पर्धा गर्न कठिन हुने देखिएको छ। त्यसैले फलामे छड उत्पादनको प्रक्रियामा अन्तःशुल्क सम्बन्धी पुरानै व्यवस्था कायम राख्न महासंघले सरकार समक्ष आग्रह हो।

यसैगरि महासंघले दुई सय मेगावाट भन्दा बढी क्षमताका जलविद्युत आयोजनालाई करमा दिइएको सुविधा स्वागत गरेको छ। स्वदेशी लगानीलाई प्रोत्साहन गर्न साना जलविद्युत आयोजनालाई पनि सोही प्रकारको सुविधा प्रदान गर्न माग गरेको छ। साथै सबै पूर्वाधार तयार भएका जलविद्युत आयोजनाको रोकिएको विद्युत खरिद सम्झौता (पिपिए) सुचारु गर्न पनि महासंघ आग्रह गरेको छ।

कृषिलाई उद्योगसँग जोड्ने ससाना प्रशोधन केन्द्रहरुको स्थापना गर्ने, त्यसको केन्द्रमा साना मझौला तथा ठूला उद्योगहरु र स्वदेशी कच्चा पदार्थमा आधारित अन्य उद्योगहरु स्थापनाका लागि विभिन्न किसिमको छुट सुविधा तथा सहुलियतपूर्ण ऋण प्रदान गर्ने व्यवस्थाले कोभिडले कमजोर बनेको अर्थतन्त्रलाई केही त्राण दिने विश्वास निजी क्षेत्रको छ। 

महासंघले भनेको छ, ‘भन्सार विन्दूमा भुक्तानी गर्नुपर्ने सम्पूर्ण कर तथा महसुल विद्युतीय प्रणालीमार्फत गर्न सक्ने व्यवस्था मिलाइने कुरा सकारात्मक छ। नेपालको भन्सार प्रशासनलाई समय अनुुरुप स्वचालित बनाउंदै जानुपर्ने महासंघको सुझावलाई यसले सहयोग पुरयाउने महासंघको विश्वास छ।’ 

कम्पनी ऐन २०६३ तथा प्राइभेट फर्म रजिष्ट्रेशन ऐन २०१४ अनुसार आर्थिक वर्ष २०७५/७६ सम्मको वार्षिक विवरण नबुझाएका तथा नवीकरण नगरेका कम्पनी तथा फर्मले पुस मसान्तभित्र विवरण र शुल्क तथा जरिवानाको ५ प्रतिशत रकम बुझाएमा बाँकी शुल्क तथा जरिवाना मिनाहा दिने घोषणाले धेरै फर्म कम्पनीहरुको नवीकरण सहज हुने महासंघको विश्वास छ। 

खर्च न्यूनिकरणका लागि विशेषगरि चालु खर्चमा गरिएको कटौतीले सकारात्मक सन्देश दिएको जनाइएको छ। यससँगै महासंघ बजारमा देखिएको तरलता अभाव कम गर्न एवं पुर्वाधार निर्माणका लागि महत्वपूर्ण रहेको पूँजीगत खर्च बढाउन विशेष पहल गर्न सरकारसंग महासंघले आग्रह गरेको छ।

असोज ५, २०७८, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .