ad ad

कारोबार


बजेट खर्च गराउने कि बन्दी बनाउने अब राष्ट्रियसभाकै भर

बजेट खर्च गराउने कि बन्दी बनाउने अब राष्ट्रियसभाकै भर

फाइल तस्बिर


नेपालखबर
असोज ४, २०७८ सोमबार १८:५९, काठमाडौँ

प्रतिनिधिसभाबाट सोमबार बजेट पारित भएको छ।  

संसदमा प्रतिपक्षी दल नेकपा एमालेको विरोधकै बीच बजेटसम्बन्धी विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित भएको हो। 

यसमध्ये विशेष व्यवस्थाअनुसार आर्थिक विधेयक सार्वजनिक हुनेबित्तिकै कार्यान्वयनमा आइसकेको छ। 

गत जेठ १५ मा अध्यादेशमार्फत बजेट आएको थियो। त्यसलाई अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत संशोधन गरेका हुन्। 

त्यसका लागि उनले गत भदौ २५ मा संघीय प्रतिनिधिसभामा प्रतिस्थापन विधेयक टेबल गरेका थिए। 

त्यसलाई सभाले स्वीकृत गरी छलफललगायतका कानुनी प्रक्रिया पूरा गरेको थियो। 

त्योसँगै आर्थिक विधेयक सार्वजनिक भई कार्यान्वनयमा आइसकेको छ। करसँग जोडिने भएकाले यसलाई तत्कालै कार्यान्वयनमा ल्याउने विशेष व्यवस्था गरिँदै आएको छ। 

त्यस्तै, राष्ट्र ऋण उठाउने विधेयक सरकारले बजेटको स्रोतको लागि सहयोग लिने विधेयक हो। यो विधेयक केही समय ढिलो वा छिटो हुँदा पनि धेरै फरक पार्दैन। 

यी तीनमध्ये विनियोजन विधेयक महत्वपूर्ण हो। यसमा एक वर्षका सरकारी कार्यक्रम र ती कार्यक्रम कार्यान्वयन गर्न बजेटको व्यवस्था गरिएको हुन्छ। 

यही विधेयक पारित नहुँदा पछिल्ला केही दिन सबै सरकारी खर्च रोकिँदै आएका छन्। यसलाई बजेट होलिडे पनि भनिन्छ। 

बजेट होलिडे हुने भएपछि बैंकहरुले हतार हतार कर्जा र निक्षेपको ब्याजदर बढाए। बजारमा तरलता अभाव भयो। 

तर सोमबार प्रतिनिधिसभाले यो विधेयक पारित गरिसकेको छ। यो सरकारले संसद् बैठकमा नाराबाजी गरिरहेको प्रतिपक्षी दल नेकपा एमालेसँग मिलेर नै बजेट पारित गर्ने बताएको थियो। 

तर खर्च प्रणाली नै तहसनहस हुने भएपछि बजेट खर्चकै लागि सोमबार विरोधकै बीच बजेटसम्बन्धी यी विधेयक पारित गर्नुपरेको अर्थमन्त्री शर्माको भनाइ छ। 

बजेट पारित भएपछि उनले भने, ‘बजेट खर्च तथा निकासा धेरै समय रोकिने भएकाले बजेट तत्काल पास गर्नुपरेको हो।’ 

के हुन्छ साउनदेखि खर्च भएको रकम?
अध्यादेशमार्फत आएको बजेटको कार्यान्वयन साउन १ देखि लागू हुनुपथ्र्यो। तर देउवा सरकारका अर्थमन्त्री शर्माले अघोषित रुपमा बजेट कार्यान्वयन रोक्ने प्रयास गरेका थिए। यद्यपि कतिपय शीर्षकमा बजेट खर्च भएको थियो। 

सर्वोच्च अदालतले संसद् पुनर्स्थापना र प्रधानमन्त्री समेत फेरिने फैसला गरेपछि ओली सरकार ढल्यो। नयाँ बनेको सरकारले नयाँ बजेट नै ल्याउने भन्यो। त्यहीअनुसार अहिले बजेट संशोधन भएको हो। 

तर पनि साउन १ देखि यता केही कार्यक्रममा भएको खर्च के हुने त? 

अहिले ल्याइएको प्रतिस्थापन विधेयक भदौ ३१ गतेदेखि लागू हुने भनिएको छ। 

बजेट विधेयक पारित भइरहँदा सोमबार नै अर्थमन्त्रीले संशोधन प्रस्ताव हालेका छन्। सो संशोधन समेत विनियोजन विधेयकको अंग हुने गरी प्रतिनिधिसभाले पास गरेको छ। 

योसँगै साउन १ यताका सबै खर्च यही संशोधित बजेटले वहन गर्नेछ। 

अर्थमन्त्री शर्माले भने, ‘चालू आर्थिक वर्ष सुरु भएदेखि अहिलेसम्म भएको खर्चलाई मिलाउने गरी बजेटमा संशोधन हालिएको छ। बीचको जुन भ्याकुम छ। त्यसलाई मिलाउने गरी यो संशोधन हालिएको हो।’

यसरी सरकारले बजेटको सबै प्रक्रिया मिलाएको छ। 

आफूअनुकूलको बजेट निर्माण गरेको सरकारले प्रतिनिधिसभाबाट समेत पास गराएसँगै अब राष्ट्रिय सभामा जानेछ। राष्ट्रियसभामा सरकारले मंगलबार बजेटसम्बन्धी तीनवटै विधेयक पेस गर्नेछ। 

राष्ट्रियसभाबाट बजेट पास गराएको खण्डमा बजेट तीनवटै विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गराएर सरकारले बजेटको औपचारिक कार्यान्वयन गर्छ। 

यदि राष्ट्रियसभाले पास गर्न ढिलाइ गर्यो भने बजेट खर्च रोक्का अर्थात् बजेट होलिडे निरन्तर चल्नेछ। 

राष्ट्रियसभाले १५ दिनसम्म पनि बजेट पारित नगरे प्रतिनिधिसभाले स्वतः राष्ट्रपतिसमक्ष बजेट पेस गरी प्रमाणीकरणपछि बजेट कार्यान्वयनमा लैजानेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .