ad ad

कारोबार


कांग्रेसको ‘गरिखाने अभियान’ ७७ वटै जिल्लामा, युवाहरुकाे बढ्याे आकर्षण

कांग्रेसको ‘गरिखाने अभियान’ ७७ वटै जिल्लामा, युवाहरुकाे बढ्याे आकर्षण

अभियानबारे बाेल्दै विनाेद चाैधरी।


नेपालखबर
भदौ ३१, २०७८ बिहिबार १६:१७, काठमाडौँ

काठमाडौँ। नेपाली कांग्रेसको लगानी, पूर्वाधार र रोजगार : दृष्टिकोण एवं दीगो परियोजना केन्द्रित विशेष समितिले अगाडि बढाएको ‘गरिखाने अभियान’मा युवा आकर्षण बढेको छ। 

देशव्यापी बनिसकेको कार्यक्रममा युवाहरुबाट हालसम्म ७ सय ६१ व्यावसायिक प्रस्ताव आएको समिति सचिवालयले जनाएको छ। 

युवाका उद्यमशील सोंचमा लगानी गरी उनीहरूलाई उद्यमी बनाउने उद्देश्यले नेपालका एकमात्र डलर अर्बपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीको संयोजकत्वमा उक्त समिति गठन भएको थियो। 

नवीनतम व्यावसायिक सोच भएका तर पुँजीको अभावमा आफ्ना सोचलाई कार्यान्वयन गर्न नपाएका युवाहरूका लागि यो कार्यक्रम निकै आकर्षक बनेको समितिले जनाएको छ। 

चौधरीको नेतृत्वमा रहेको समितिले गरिखाने अभियानलाई ७७ वटै जिल्लामा विस्तार गरिसकेको छ। 

नेपाली कांग्रेस जिल्ला कार्य समितिसँगको समन्वयमा समितिले देशव्यापी कार्यक्रम कार्यान्वयनमा लगेको हो। यो कार्यक्रममा राजनीतिमा संलग्न नभएका युवाहरूलाई पनि समेटिएको छ । 

यस अभियानले नेपाली कांग्रेस आर्थिक एवं सामाजिक विकासका लागि तल्लो तहदेखि नै रुपान्तरण आवश्यक छ भन्ने बोधका साथ काम गरेको अनुभूति भएको सरोकारवालाहरूले बताएका छन् । यसले नेपाली कांग्रेसको परम्परागत राजनीतिक छविमा समेत सुधार आएको र युवाहरूको आकर्षणको पार्टीका रुपमा स्थापित हुने देखिएको जिल्ला सभापतिहरूको अनुभव छ । 

युवाहरूका व्यावसायिक प्रस्तावहरू सृजनात्मक सोंचबाट अभिप्रेरित रहेको र लगानीका लागि समन्वय भइरहेको छ । यसका अतिरिक्त व्यवसायको स्तरोन्नति (स्केल–अप), विशेष सीप सिक्न चाहानेका लागि सीप विकासका लागि समन्वयको काम पनि गरिखाने अभियानको सचिवालयमार्फत भइरहेको छ । 

गरिखाने अभियानको सचिवालयले व्यवसायिक सोचका आधारमा युवाहरुलाई प्रस्ताव तयार गर्न र त्यसका लागि आवश्यक पर्ने सीप र पुँजीसँग जोडिदिन थालेसँगै उद्यमी बन्दै गरेका युवाबाट उनीहरूको सम्पर्कमा रहेकाहरू समेत उत्प्रेरित बन्दै यो अभियानसँग जोडिन थालेका हुन् । 

कार्यक्रमले उत्साहित छन् जिल्ला सभापति 
कार्यक्रमको विस्तारले जनतासँग प्रत्यक्ष जोडिएर राजनीति गर्ने कांग्रेस जिल्ला सभापतिहरू उत्साहित देखिएका छन् । 

‘मुलुकमा लोकतन्त्र र नागरिक अधिकारको लागि नेपाली कांग्रेसले सबैभन्दा बढी संघर्ष गरेको छ’, नेपाली कांग्रेस सुर्खेत जिल्ला सभापति कमलराज रेग्मीले भने, ‘अब आर्थिक विकासको नेतृत्व पनि कांग्रेसले नै लिनुपर्छ । गरिखाने अभियानलाई यसको तयारीका रूपमा लिन सकिन्छ जसले गाउँगाउँका युवाहरुमा सकारात्मक प्रभाव पारेको छ ।’

गरिखाने अभियानका एक सक्रिय नेतृत्वकर्ता समेत रहेका मकवानपुर कांग्रेसका सभापति इन्द्र बाँनिया यस कार्यक्रमका कारण स्थानीय तहसम्म नेपाली कांग्रेसलाई हेर्ने परम्परागत दृष्टिकोणमै परिवर्तन आएको बताउँछन् । 

‘यस अभियानले काँंग्रेस अब आर्थिक विकासलाई राजनीतिको मूल एजेण्डा बनाउछ भन्ने स्पष्ट सन्देश दिएको छ । आम नागरिकले आर्थिक रुपान्तरणको नेतृत्व कांग्रेसले लिनेछ भनेर विश्वास गर्न थालेका छन्’, बागमती प्रदेशमा प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका बाँनियाले भने, ‘आगामी महाधिवेशनबाट नेपाली कांग्रेस विधिवत रुपमा आर्थिक विकासका एजेण्डालाई बोकेर अगाडि बढ्नेछ भन्ने पूर्व सन्देश यस अभियानले दिएको छ ।’

कांग्रेसको आगामी महाधिवेशनका लागि करिब ४० प्रतिशत युवाहरू महाधिवेशन प्रतिनिधिका रुपमा आउने विश्वास गरिएको छ । यी युवाहरुको मुख्य चासो कांग्रेसले परम्परागत राजनीतिबाट फड्को मार्दै समृद्ध नेपाल निर्माण गर्ने नेतृत्वदायी भुमिकामा प्रवेश गर्नुपर्छ भन्ने छ । 

युवाहरुका लागि उद्यमी बनाउने नविनतम सोचमा आधारित गरिखाने अभियान जस्ता सृजनात्मक कार्यक्रमका नेतृत्वकर्ताहरू कांग्रेसको आगामी नेतृत्व तहमा आउनुपर्ने धारणा उनीहरूको छ । पार्टीले उनीहरूको क्षमता र विज्ञतालाई उपयोग गरी लक्षित उपलब्धिका लागि जिम्मेवारी दिनुपर्नेमा नयाँ पुस्ता प्रष्ट देखिएको छ । 

नेपाली कांग्रेस काभ्रेका जिल्ला सभापति मधु आचार्य बीपी कोइरालाले तत्कालीन समयमा सहकारिताको अवधारणाबाट उद्यमशीलता विकास गर्ने सोच अघि सारे पनि पछि कांग्रेसले कार्यकर्ता र नेताहरूको जनजीविकाको सवाललाई चटक्क बिर्सिएको अवस्थामा गरिखाने अभियानले त्यो खाडल पूर्ति गर्न लागेको भन्दै खुसी व्यक्त गरे । 

‘राजनीतिलाई पेशा बनाउने समूहका कारण राजनीति भ्रष्टीकरणतर्फ अघि बढेको छ, कांग्रेस नै अनुभवी, व्यावहारिक र जनताप्रति प्रतिवद्ध पार्टी भएको हुँदा गरिखान बन्न चाहाने सबैलाई यस अभियानमा समेट्नुपर्छ’, उनले भने, ‘अब कम्तीमा नेपाली कांग्रेस र यसको भ्रातृ संगठनमा क्रियाशीलहरूले व्यवसाय उल्लेख गर्नुपर्ने ठाउँमा राजनीति नलेखून् ।’ 

अभियानको एक वर्ष पूरा
सफल व्यवसायी चौधरीको नेतृत्वमा अघि सारिएको यो अभियानले पछिल्लो एक वर्षमा राष्ट्रियस्तरमा सबैको ध्यानाकर्षण गर्न सफल भएको छ । चालू आर्थिक वर्षका लागि आएको बजेट र मौद्रिक नीतिमा समेत बैंकका प्रत्येक शाखाले युवा उद्यमशीलता विकासमा लगानी गर्नुपर्ने व्यवस्था हुनुमा गरिखाने अभियानको प्रभाव सबैभन्दा बलियो रहेको छ । 

‘यसले हामीलाई पक्कै पनि थप उत्साहित बनाएको छ । अब बैंकले नाफामुखि क्षेत्रमा मात्रै होइन, युवाहरुलाई उद्यमी बनाउनका लागि पनि कार्यक्रम तय गरेर अगाडि बढ्नेछन्’, गरिखाने अभियानका संयोजक एवं नेपाली कांग्रेसका नेता विनोद चौधरीले भने, ‘गाउँगाउँमा उद्यमशीलता जन्माउने हाम्रो प्रयासलाई यसले साथ दिएको छ । र, नेपालको आर्थिक विकासको यात्रा पनि यहिबाट प्रारम्भ हुनेछ भन्ने मेरो विश्वास छ ।’

नेपाली कांग्रेस रसुवा जिल्ला सभापति पेम्बा छिरिङ्ग तामाङ्गले गरिखाने अभियानले स्थानीय तहसम्म नयाँ तरङ्ग उत्पन्न गरेको बताउदै कांग्रेसको नेतृत्वपंक्तिमा अब आर्थिक एजेण्डालाई कार्यान्वयन गर्नेहरुको पनि शसक्त उपस्थिती आवस्यक भएको महसुस भएको बताए । 

पार्टीभित्र मानका खातिर मान÷सम्मानका लागि मात्र नेतृत्वमा आउन खोज्ने परिपाटी रहेको भन्दै नेपाली कांग्रेस धनकुटाका नेता विजयसन्तोषी राईले पार्टीलाई जीवन्त राख्न नेतृत्वले तलैदेखि आर्थिक विकासका एजेण्डालाई जीवन्त बनाउनुपर्ने  बताए । 

नेपाली कांग्रेसभित्रको आर्थिक विकासको अभियानलाई अगाडि बढाउन आगामी महाधिवेशनमा आर्थिक रुपान्तरणको मुद्दालाई प्रमुखतापूर्वक उठाउनुपर्नेमा जोड दिदैं धनकुटामा गरिखाने अभियानको प्रगतिबाट आफू उत्साहीत भएको बताए । 

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीको नेतृत्वमा गरिखाने अभियान अहिले ७७ जिल्लामा पुगेको छ । युवालाई उद्यमी बनाउने यो अभियान नेपाली कांग्रेसको लगानी, पूर्वाधार र रोजगार समितिले अघि बढाएको ‘फ्ल्यागशिप’ कार्यक्रम हो । 

नेपाली कांग्रेसले गत वर्ष जेठमा चौधरीको संयोजकत्वमा उक्त समिति बनाएपछि चौधरीले आफ्नो सोच तथा सीप र कौशल यो अभियानमा लगाएर यो अभियान लिएर धेरै जिल्लाहरूमा आफैं पुगेका छन् । 

कोभिड–१९ महामारीले थलिएको अर्थतन्त्रको पुनरुत्थान तथा रोजगारीका समस्या सम्बोधनका लागि युवालाई उद्यमी बनाउने यो अभियानले देशभर लोकप्रियता प्राप्त गरिरहेको छ । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .