ad ad

कारोबार


‘ब्यान्ड भर्सेस ब्रान्ड’ : ‘कोदोको रक्सीले समृद्धिको मूल फुटाउँछ!’

‘ब्यान्ड भर्सेस ब्रान्ड’ : ‘कोदोको रक्सीले समृद्धिको मूल फुटाउँछ!’

कृष्ण बहाब
भदौ २४, २०७८ बिहिबार १५:३४, काठमाडौँ

मंगलवार प्रदेश १ की पूर्वसामाजिक विकासमन्त्री उषाकला राई आफ्नो जिल्ला खोटाङ फर्किएकी थिइन्। गृह जिल्ला फर्किएसँगै बुधवार उनले पत्रकारहरूसँग लोकल रक्सीको ब्राण्डिङका लागि गरेको प्रगतिको फेहरिस्त लगाइन्। 

मन्त्री हुनुअगाडि देखिनै लोकल रक्सीको ब्रान्डिङ गर्नुपर्ने माग राख्ने राईले आफू मन्त्री भएको बेलाको प्रगति गृह जिल्लाका पत्रकारलाई करिब २ घण्टा सुनाइन्। २ घण्टा लामो कुराको सार थियो ‘लोकल रक्सीलाई बेच्न अवैध रहेको वर्तमान कानुनलाई संशोधन गरेर समृद्धि हासिल गर्नु पर्छ।’

लोकल रक्सीको ऐतिहासिकताको व्याख्या र हालको पुँजीवादी बजारको प्रसङ्ग जोड्दै उनले लोकल रक्सीलाई नेपालको अन्तर्राष्ट्रिय ब्रान्ड बनाउन सकिने दाबी उनको थियो। 

‘हामीले पोख्ने रक्सी विदेशीहरूले टिपेर ब्रान्ड बनाइसके, छ्याङ हाम्रो शब्द हो। तर विदेशको कुनै कम्पनीले त्यसको पेटेन्ट राइट लिई सक्यो।’

नेपालको मौलिक संस्कृति समेत रहेको लोकल रक्सीको औद्योगीकरणले नगरे विदेशी बहुराष्ट्रिय कम्पनीहरूले पेटेन्ट राइट लिन सक्ने सम्भावना रहेको राईले बताइन्। आफ्नो कार्यकालमा पाइलट प्रोजेक्टको रूपमा लोकल कोदोको रक्सीलाई ब्रान्डिङ गर्न कार्यदल बनाएर प्रतिवेदन आएकोले छिट्टै अर्को सरकारले प्रतिवेदन कार्यान्वयनमा लग्नुपर्ने उनको जोड थियो।

‘हाम्रो देशमा कोदोको लोकल रक्सी, गाँजा, रक्त चन्दन जस्ता ब्रान्डिङ गर्नुपर्ने चिज धेरै छन्। त्यसमध्ये लोकल रक्सीबाट ब्रान्डिङ सुरु गर्ने प्रयास सुरु भएको छ’,राईले भनिन्,  ‘कोदोको रक्सीलाई ‘ब्यान्ड होइन ब्रान्ड’ बनाउनुपर्ने अभियान बहुआयामिक छ। यसका कारण कृषि र पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्छ। विदेशिएका युवालाई गाउँमै फर्काउन सकिन्छ। यसलाई जुनसुकै सरकारले पनि निरन्तरता दिन आवश्यक छ।’

‘हरेक रक्सी उत्पादक स्थानीयलाई आर्थिक रूपमा स्वरोजगार बनाउने सकिन्छ, हाल बाझिएका, नाङ्गो भएका डाँडाकाँडालाई कोदोको खेतीको लागि प्रयोग हुन्छ’ उनले भनिन्, ‘डाँडाकाँडा हरियो कोदो बालीले ढाक्ने छन्। त्यो हरियालीले पर्यटक आकर्षण गर्ने छन्।’ 

रक्सी उत्पादनमा प्रयोग हुने कोदोको समेत किसानसँग उत्पादन बढाउन समन्वय गरेर कृषि क्षेत्रमा समेत व्यापक व्यावसायिक परिवर्तन गर्नु पर्ने धारणा राईको छ। 

पूर्वसामाजिक विकासमन्त्री राईले भनिन्, ‘राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानीकर्तालाई लगानीमा आकर्षण गर्न सकिन्छ। विदेशी भूमीमा श्रम बेच्न बाध्य युवालाई स्वदेशमै फर्काउन सकिन्छ भन्ने अवधारणा छ।’

राईले १५६ दिन मन्त्रीका रूपमा गरेका काम र उपलब्धिका बारेमा पनि जानकारी दिएकी छन्।

‘व्याण्ड भर्सेस ब्रान्ड’ अभियानको सफलताका लागि ७० पृष्ठको सम्भाव्यता अध्ययन तथा सुझाव प्रतिवेदन तयार पारि सकिएको तथा आवश्यक कानुन निर्माणका लागि चालु आर्थिक वर्ष एक करोड बजेट विनियोजन भइसकेको राईले जानकारी दिएकी छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .