ad ad

कारोबार


नागढुंगा सुरुङमार्ग दैनिक १० मिटर खनिँदै, हालसम्म १३ सय ७१ मिटर सकियो

नागढुंगा सुरुङमार्ग दैनिक १० मिटर खनिँदै, हालसम्म १३ सय ७१ मिटर सकियो

नेपालखबर
भदौ २३, २०७८ बुधबार १७:३३, काठमाडौँ

नागढुंगा सुरुङमार्गको २१ प्रतिशत काम सम्पन्न भएको छ। मंगलबारसम्म १३ सय ७१ मिटर सुरुङमार्ग सम्पन्न भएको हो। 

मुख्य र सहायक दुवै सुरुङमार्गको काम भइरहेको छ। थानकोट र सिस्नेखोला दुवै पट्टीबाट सुरुङ निर्माणको काम चलिरहेको आयोजनाले जनाएको छ। 

नागढुंगा सुरुङमार्गका आयोजना प्रमुख नरेशमान शाक्यले ६ सय जना कामदारले धमाधम काम गरिरहेको बताए। 

‘करिब २ दर्जन जापानी प्राविधिक रहेका छन् भने बाँकी नेपाली हुन्’, शाक्यले नेपालखबरसँग भने, ‘अहिले लक्ष्यभन्दा १ महिना ढिलो काम भइरहेको छ। त्यसलाई मेकअप गर्छौँ।’

सुरुङमार्गको योजनाअनुसार दैनिक ७ मिटर काम गर्नुपथ्र्यो। अहिले दैनिक १० मिटरको काम भइरहेको छ। महिनामा ३०० मिटर काम भइरहेको आयोजनाले जानकारी दिएको छ। 

शाक्यले स्थानीयको विरोध लगायतको कारण आयोजना निर्माणमा ढिलाइ भएको थियो। कोभिड महामारीको कारण समेत निर्माण काममा अवरोध पुग्यो।  

‘अहिले महिनामा ३०० मिटर काम गरिरहेका छौँ’, उनले भने, ‘अर्को महिनाबाट ३५० मिटर काम गर्नसक्छौँ।’

आयोजनाले मुआब्जा विवादको कारण सुरुङमार्ग र सडक जोड्ने बलम्बुको फ्लाई ओभर निर्माणमा भने ढिलाई भइरहेको छ। मुआब्जा निर्धारण नभएसम्म फ्लाई ओभरको काम अघि बढ्न नसक्ने शाक्य बताउँछन्। 

‘मुआब्जाको लागि जिल्ला प्रशासन कार्यालयसँग छलफल भइरहेको छ’, उनले भने, ‘मुआब्जा निर्धारणको अन्तिम चरणमा रहेको छ। काठमाडौंमा सीडीओ परिवर्तन हुनुभएको छ। अब बैठक बसेर समस्या समाधान गर्छौँ।’

सुरुङमार्ग निर्माणको जिम्मा पाएको निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनले जनाएको छ। यो सुरुङ मार्गको कुल लम्बाइ २.७ किलोमिटर छ।  

सरकारले चालू आर्थिक वर्षको बजेटमा नागढुंगा सुरुङमार्ग २ वर्षभित्र सञ्चालनमा ल्याउने उल्लेख गरेको छ। जसअनुसार आयोजनाका लागि ९ अर्ब ८५ करोड छुट्याइएको छ।

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ४ कात्तिक २०७६ मा गरेका थिए। 

सुरुङमार्ग निर्माणमा जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १६ अर्ब रुपैयाँ सहुलियत ऋण सहयोग गरेको छ। सुरुङ मार्ग निर्माणमा २२ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .