कारोबार


माथिल्लो तामाकोशीले थाल्यो व्यावसायिक उत्पादन, लागत बढेर ८४ अर्ब पुग्यो

माथिल्लो तामाकोशीले थाल्यो व्यावसायिक उत्पादन, लागत बढेर ८४ अर्ब पुग्यो

४५६ मेगावट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आइतवारदेखि पूर्ण रूपमा व्यावसायिक विद्युत् उत्पादन शुरु गरेको छ।

कूल ४५६ मेगावाट क्षमताको आयोजना पूर्ण क्षमताका साथ सञ्चालनमा आएको हो।
 
प्राकृतिक विपद्, सीमा नाकामा भारतले गरेको अवरोध, गोरखा भूकम्प, कोरोना कहरलगायत सबै समस्यालाई छिचोलेर आयोजना सफल भएको हो।

स्वदेशी लगानीमा निर्माण भएको हालसम्मकै ठूलो आयोजनाले सफलताका साथ व्यावसायिक उत्पादन थालेको अप्पर तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए। 
 

दोलखाको बिगु गाँउपालिका-१ स्थित आयोजनाको व्यावसायिक उत्पादन शुरु गरिएको दिन बौद्ध परम्पराअनुसार स्थानीय लामामार्फत स्वस्ति-शान्ति गर्दै आयोजनाको सफलताको कामना गरियो। 

प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सार्वजनिक गरेको भिडियोमा आयोजनाको पूर्ण सफलताको कामना गर्दै लामा गुरुले आयोजनाले देशकै लागि उज्यालो छर्ने कामना गरेका थिए। 

उक्त आयोजनाको गत असार २१ गते उद्घाटन गरिएको थियो। आयोजनावटा उत्पादित बिजुली ४७ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइन हुँदै रामेछापको मन्थली नगरपालिका १३ स्थित साँखेमा नवनिर्मित २२०/१३२ केभी क्षमताको न्यून खिम्ती सवस्टेशनमा जोडिएको छ। 

उक्त सवस्टेशन हुँदै बिजुली ढलकेबरस्थित नेपाल विद्युत् प्राधिकरणको ४०० केभी क्षमताको सवस्टेशनमा जोडिएको छ।
 
२०६८ भदौ १७ गते तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले शिलान्याश गरेका थिए। आयोजना निर्माण सकिन भने ११ वर्ष लाग्यो।

मुख्य सुरुङको संरचना निर्माणको डिजाइनमा भएको परिवर्तन, २०७२ सालको गोरखा भूकम्प, सीमा नाकामा भारतले गरेको अवरोध, लामोसाँघु चरीकोट सडक स्तरोन्नतिका कारण निर्माण सामग्री ढुवानीमा भएको अवरोध, हाइड्रोमेकानिकल कार्यका ठेकेदारको कमजोर कार्यसम्पादन तथा कोरोनाका कारण आयोजना निर्माणमा ढिलाइ भयो।
 
आयोजनाको शुरुआती लागत निर्माण अवधिको ब्याज बाहेक ३५ अर्ब २९ करोड रहे पनि डिजाइनमा परिवर्तन, निर्माण अवधि लम्बिँदा प्रशासनिक र परामर्शदातको खर्चमा भएको बढोत्तरी, बजार मूल्यमा भएको वृद्धिका कारण निर्माण सामग्रीमा परेको प्रभावले लागत बढ्यो। 

आयोजनाका अनुसार विविध कारणले लागत ५२ अर्ब पुगेको छ। शुरुआती चरणमा निर्माण अवधिको व्याज १४ अर्ब लाग्ने अनुमान गरिएको भए पनि निर्माण अवधि बढ्दै जाँदा ब्याज मात्रै ३२ अर्ब पुगेको छ। 

यस आधारमा आयोजनाको कूल लागत ८४ अर्ब पुगेको छ। आयोजनाले वार्षिक रूपमा दुई हजार २८१ गिगावाट घण्टा ऊर्जा उतपादन गर्छ। 

त्यो भनेको कूल दुई अर्ब २८ करोड यूनिट बिजुली हो। आयोजना अर्धजलाशयुक्त प्रकृतिको भएकाले पनि बढी बिजुली माग हुने साँझको समयमा औसतमा चार घण्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ। 
 

सन् १९९९ मा अष्ट्रियन नागरिक डा क्रिश्चियन कल्हरले रोलवालिङ जलविद्युत् आयोजनाको नामबाट पूर्व सम्भाव्यता अध्ययन गरी १२० मेगावाट क्षमता बराबरको बिजुली उत्पादन हुने प्रारम्भिक जानकारी दिएका थिए। 

अत्यन्तै सस्तो र आकर्षक देखिएपछि प्राधिकरणले २०५७ देखि २०६० सम्म आफ्नै आर्थिक, भौतिक र मानवीय स्रोतको प्रयोग गरेर आयोजनाको सम्भाव्यता अध्ययन गरेको थियो।
 
आयोजनामा प्राधिकरणको ४१ प्रतिशत शेयर रहेको छ। आयोजनाबाट उत्पादित बिजुली प्रतियूनिट औसतमा तीन रुपैयाँ ५० पैसा रहेको छ। 

व्यापारिक उत्पादन भएको वर्ष औसतमा चार रुपैयाँ छ पैसा प्रतियूनिटमा खरिद गर्ने सम्झौता भएको छ। 

प्राधिकरण र अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेड कम्पनीबीचको सम्झौताअनुसार आयोजनाबाट उत्पादित बिजुलीको खरिददर हालसम्मकै सस्तो हो।
 
रुग्ण अवस्थामा रहेको आयोजनालाई प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पहिलो कार्यकालमा हरेक महिना आयोजनास्थल पुगेर सहजीकरण गरेका थिए। 

आयोजनाका निर्माण व्यवसायीलाई परिचालन गर्नेदेखि सम्वद्ध कर्मचारीलाई आड भरोसा प्रदान गर्ने काममा समेत उनले विशेष पहल गरे। 

तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले आयोजनाको हरेक काममा उत्तिकै प्रयत्न गरेका थिए। त्यही प्रयत्नका कारण आयोजना पूर्णरूपमा सफल भएर व्यावसायिक रूपमा उत्पादन शुरु भएको हो। 

भदौ २०, २०७८, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .