ad ad

कारोबार


पोखरा- ढाका सिधा हवाइ उडानको तयारी

पोखरा- ढाका सिधा हवाइ उडानको तयारी

नेपालखबर
साउन ८, २०७८ शुक्रबार २१:३५,

पोखरा–ढाका सिधा हवाइ उडान तयारीबारे छलफल भएको छ। नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकीद्वारा आज पोखरामा आयोजित कार्यक्रममा विमान बंगलादेशका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीले सो विषयमा आवश्यक पहलबारे छलफल गरेका हुन्।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएलगत्तै बंगलादेशको राजधानी ढाका र पर्यटकीय सहर पोखरा जोड्न सिधा हवाई उडान प्रभावकारी हुने विमान बंगलादेशका कन्ट्री म्यानेजर असिसुर रहमानले बताए। उनका अनुसार पोखराको मनोरम सुन्दरतामा बंगलादेशीहरू आकर्षित हुने गरेका छन्।

हाल ढाका–काठमाडौँ दैनिक एक उडान मात्रै हुँदै आएको छ। पाँच करोड जनसंख्या रहेको बंगलादेशका १० प्रतिशतमात्र पर्यटक नेपाल भित्र्याउन सकिए यहाँको पर्यटन प्रवर्द्धन हुनसक्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी बहादुर भट्टराईले बताए। 

विमान सञ्चालन गर्न नेपाल सरकारसँग आवश्यक पहल गरिने नाट्टा गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले प्रतिबद्धता व्यक्त गरे। पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले वर्षमा झण्डै ५० हजार हाराहारीमा बंगलादेशी नेपाल आउने गरेकामा २० हजार जति पोखरा घुम्ने बताए।

पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष गणेशबहादुर भट्टराईले कोरोनाले थलिएको पर्यटन क्षेत्रमा छिटोभन्दा छिटो खोप उपलब्ध गराएर चलायनमान बनाउनुपर्नेमा जोड दिए। नाट्टाका पूर्वअध्यक्ष वासु त्रिपाठीले पछिल्लो समय बंगलादेशीको आकर्षण पोखरामा बढ्दै गएको धारणा राखे।

कार्यक्रममा परिषद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठ, नाट्टाका उपाध्यक्ष हरिराज अधिकारी, नाट्टाका सचिव संगीता पौडेल, टानका अध्यक्ष सुशीलराज पौडेल, विमान बंगलादेशका प्रतिनिधिलगायतले ढाका–पोखराबीचको पर्यटकीय साझेदारी सम्बन्धमा बोलेका थिए। रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .