ad ad

कारोबार


निजी क्षेत्रका लागि आवश्यक सहजीकरण गर्न सरकार तयार : प्रधानमन्त्री देउवा

निजी क्षेत्रका लागि आवश्यक सहजीकरण गर्न सरकार तयार : प्रधानमन्त्री देउवा

नेपालखबर
साउन ४, २०७८ सोमबार २०:१४,

प्रधानमन्त्री शेरबहादुर देउवाले निजी क्षेत्रको लगानी अभिवृद्धिमा आफूले सधैँ सहयोग गर्ने बताएका छन्। नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री देउवाले औद्योगिक विकासका लागि निजी क्षेत्रले लगानी वृद्धि गर्नुपर्ने भन्दै त्यसको सहजीकरणका लागि आफू तयार रहेको  बताए। 

‘हाम्रो पार्टीले निजी क्षेत्रलाई सधैं प्रवर्द्धन गरेको छ’ प्रधानमन्त्री देउवाले भने, ‘तपाईंहरूलाई आवश्यक पर्ने नीतिगत सहजीकरणका लागि हामी तयार छौँ।’ 

प्रधानमन्त्री देउवाले परिसंघले अघि बढाएको ‘मेक इन नेपाल-स्वदेशी’ अभियान नेपालको अर्थतन्त्रमा गुणात्मक परिवर्तन ल्याउने औजार बन्ने बताए। उनले नेपाली वस्तुको उत्पादन र उपभोग बढाउन यस अभियानले महत्तवपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे। 

प्रधानमन्त्री देउवाले कोभिडले निम्त्याएको संकटसँग जुध्न सरकारले सबै संयन्त्रको प्रयोग गरिरहेको पनि बताए। 

‘कोभिडले निम्त्याएको जटिलता नै सबैभन्दा ठूलो चुनौति हो’ उनले भने।

भेटमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले प्रधानमन्त्री देउवालाई बधाई ज्ञापन गर्दै निजी क्षेत्रले सरकारबाट ठूलो अपेक्षा गरेको बताए। उनले नीतिगत सहजीकरण मार्फत् लगानी अभिवृद्धिको वातावरण बनाउन पनि आग्रह गरे। 

‘आयातमुखी नेपाली अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन हामी प्रयासरत छौँ’ उनले भने, ‘यसका लागि सरकारले नीतिगत र प्रक्रियागत सहजीकरण गरिदिनुपर्छ।’

अध्यक्ष मोरले नीतिगत स्थिरताले लगानी बढाउन सहयोग गर्ने भन्दै सरकारले त्यसमा ध्यान दिनुपर्ने उल्लेख गरे।

परिसंघका निवर्तमान् अध्यक्ष हरिभक्त शर्माले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन र यसको नेतृत्व गर्न निजी क्षेत्र सक्षम रहेको भन्दै त्यसमा सरकारले साथ दिनुपर्ने बताए। 

यसैगरी परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले विद्यमान संकटसँग जुध्न कोभिड विरुद्धको भ्याक्सिन आवश्यक भएको भन्दै त्यसको उपलब्धतामा सरकारले ध्यान दिनुपर्ने उल्लेख गरे।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको भेटमा परिसंघका उपाध्यक्षहरू निर्वाण चौधरी, कृष्णप्रसाद अधिकारी, राजेशकुमार अग्रवाल, सुलभ अग्रवाल र वीरेन्द्रराज पाण्डे एवं महानिर्देशक यादवप्रसाद पौड्याल र निर्देशक सविन मिश्रको उपस्थिति थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .