प्रवास


बेलायतमा नेपालीको डेभिस कप र गाला डिनर (तस्बिरहरू)

बेलायतमा नेपालीको डेभिस कप र गाला डिनर (तस्बिरहरू)

मगेन्द्र राई
चैत ७, २०८१ बिहिबार १७:२, बेलायत

बेलायतमा नेपालीहरूद्वारा स्थापना गरिएको गोर्खा नेप्लिज टेनिस क्लबले डेभिस कप खेलाउँदै वार्षिक गाला डिनर नाइट सम्पन्न गरेको छ।

शनिबार (१६ मार्च) अल्डरसटस्थित आर्मी टेनिस सेन्टरमा सम्पन उक्त प्रतियोगितामा अल्डरसट/फान्बोरो/केम्बर्लीलाई पराजित गर्दै रिडिङ/स्विन्डन टोलीले ट्रफी उचाल्यो।

प्रतियोगितामा रिडिङसहित केन्ट, अल्डरसट केम्बर्ली र रेस्ट अफ द युके लगायत ८० भन्दा बढी नेपाली टेनिस खेलाडीको सहभागिता रहेको थियो।

महिला सिङ्गल्स पनि समावेश गरिएको प्रतियोगितामा धावा गुरुङले सपना पुनलाई पराजित गरिन्।

प्रतियोगितापश्चात् साँझमा अल्डरसटस्थित इम्पायर बैँक्वेट हलमा ‘च्यारिटी डिनर नाइट’ सम्पन्न गरिएको थियो।

कार्यक्रमलाई क्लबका अध्यक्ष हर्कराज गुरुङ र धार्मिक गुरुहरू (लामा, पण्डित) द्वारा मन्त्रोच्चारण गरी संयुक्त रूपमा पानस द्वीप बालेर उद्घाटन गरिएको थियो।

नेपालको राष्ट्रिय गीत बजाएर औपचारिक रूपमा उद्घाटन गरिएको कार्यक्रममा अध्यक्ष गुरुङले स्वागत मन्तव्य दिएका थिए भने क्लबका महासचिव मेजर सरोज राईले क्लबको इतिहास र वर्तमानबारे जानकारी गराएका थिए।

अध्यक्ष हर्कराज गुरुङ

क्लबका सचिव क्याप्टेन मोहन गुरुङले विजेता टिमको घोषणा गरेका थिए भने अध्यक्षको बाहुलीबाट मेडल तथा ट्रफीहरू हस्तान्तरण गरिएको थियो।

यसैगरी, आर्थिक सहयोग गर्ने दाता तथा प्रायोजकहरूलाई अध्यक्ष गुरुङले सम्मान पत्र र क्लबका प्लेग हस्तान्तरण गरका थिए।

कार्यक्रमलाई नेपालबाट आएका लोकगायिका देवी आले, खेलाडी वारोक राई, सपना पुन, कल्पना पुन लगायतले थप मनोरञ्जक बनाएका थिए। खेलाडी रितु गुरुङको नृत्यले उपस्थित सबैलाई नाच्न बाध्य बनाएको थियो।

कार्यक्रममा राफल ड्र समेत सञ्चालन गरिएको थियो।

क्लबका सदस्य तथा परिवारबीच सम्बन्ध थप सुमधुर बनाउँदै स्थानीय नेपालीबीच टेनिस खेल्ने वातावरण तयार गर्नु उक्त कार्यक्रमको उद्देश्य रहेको थियो।

बेलायतवासी नेपालीलाई टेनिस खेल्न उत्प्रेरणा जगाउन तथा विशेषत: नेपाली युवायुवती र बालबालिकालाई टेनिसमा संलग्न गराई बेलायत जस्तो खेलको जननी देशमा कुशल खेलाडी उत्पादन गर्ने वातावरण सिर्जना गर्नका लागि उक्त कार्यक्रमको आयोजना गरिएको अध्यक्ष गुरुङले नेपालखबरलाई बताए।

 कार्यक्रममा क्लबका लागि राम्रै आर्थिक संकलन समेत भएको थियो।

किरण चाम्लिङ, जानुका पुन र दिनेश रोकाले संयुक्त रूपमा होस्ट गरेको यस कार्यक्रममा सचिव क्या गुरुङले धन्यवाद ज्ञापन गरेका थिए।

डिनर नाइटमा खेलाडी, परिवार, पाहुनाहरूलगायत सय जनाभन्दा बढीको उपस्थिति रहेको थियो।

क्लबले हरेक वर्ष चार वटा मुख्य प्रतियोगिता सञ्चालन गर्दै आएको छ।

क्लबले हालसालै दार्जिलिङको टेनिस क्लबलाई भारु १ लाख प्रतियोगिताका निम्ति प्रायोजन समेत गरेको थियो।

निकट भविष्यमा नेपालमा अवस्थित टेनिस संस्थाहरूसँग सहकार्य गर्ने योजना रहेको अध्यक्ष गुरुङले नेपालखबरलाई जानकारी गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad