अपराध


अमृताको हत्या श्रीमानबाटै, आरोपी वीरेन्द्र पक्राउ

अमृताको हत्या श्रीमानबाटै, आरोपी वीरेन्द्र पक्राउ

नेपालखबर
मंसिर २६, २०७९ सोमबार १७:९, जनकपुरधाम

धनुषामा काढा बनाउने विषयमा विवाद हुँदा श्रीमानले श्रीमतीको हत्या गरेको खुलेको छ।

धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर ५ शान्तिपुरका २८ वर्षीया रिता देवी भन्ने अमृता कुमारी यादवको हत्या श्रीमान विरेन्द्र यादवले नै गरेको खुलेको हो। हत्या आरोपमा वीरेन्द्रलाई प्रहरीले पक्राउ समेत गरिसकेको छ। 

प्रारम्भिक अनुसन्धान अनुसार श्रीमानले घरायसी विवादमा श्रीमतीको हत्या गरेको पाइएको प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

श्रीमान र श्रीमतीबीच घरायसी विषयमा पटक पटक विवाद हुँदै आएको र हत्या भएको रात पनि विवाद भएको क्षेत्रीले बताए। बिहान ४ बजे रितालाई काढा बनाई दिन भन्दा उनले इन्कार गरेपछि सोही विषयमा दुवै जनाबीच विवाद भएको थियो। विवाद बढ्दै गएपछि वीरेन्द्रले सानो बन्चरोले रिताको टाउको तथा अनुहारमा प्रहार गरी हत्या गरेका हुन्। 

आफू बच्न वीरेन्द्रले छिमेकीहरुको सहयोगमा श्रीमतीलाई उपचारका लागि जनकपुरधामस्थित काव्या अस्पतालमा ल्याएका थिए। 

‘वीरेन्द्रले गाउँमा चोरहरु घरमा पसेर रितामाथि बञ्चरो प्रहार गरी गम्भीर घाइते बनाएको हल्ला फैलाएका थिए’ प्रहरी नायव उपरीक्षक क्षेत्रीले भने ‘छिमेकीहरुको सहयोगमा गम्भीर घाइते भएकी रितालाई जनकपुरधामको काव्या अस्पतालमा उपचारका लागि ल्याइए पनि मृत्यु भएको थियो।’

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानको क्रममा वीरेन्द्रले नै श्रीमतीको हत्या गरेको स्वीकार गरि सकेको जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .