ad ad

अपराध


मध्यराति युवतीको कोठामा पुगेका सुन व्यवसायी हनिट्रयापमा, ४ युवतीसहित ५ जना पक्राउ

मध्यराति युवतीको कोठामा पुगेका सुन व्यवसायी हनिट्रयापमा, ४ युवतीसहित ५ जना पक्राउ

नेपालखबर
भदौ २, २०७९ बिहिबार १८:२५, काठमाडौँ

दाङको घोराहीका एक सुनचाँदी व्यवसायी हनिट्रयापमा परेका छन्। साउन २६ गते राति युवतीले आफ्नो कोठामा बोलाएर उनलाई ट्रयापमा पारेको दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए। 

उनलाई फसाउने ४ युवतीसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। साउन २६ गते राति ११ बजे रोल्पाको परिवर्तन गाउँपालिका ५ का ४० वर्षीय दिलीपकुमार वलीसहित चार युवतीले योजना बनाएर घोराही उपमहानगरपालिका १० नारायणपुरमा सुनचाँदी पसल सञ्चालन गर्ने दिनेश घर्ती मगरलाई फसाएका थिए। 

सोही समूहकी प्रमिला नेपाली सुनको तिलहरी बेच्ने बहानामा उनको पसलमा पुगेकी थिइन्। त्यही क्रममा उनले चिनजान गरेर फोन नम्बर समेत लिएकी थिइन्। 

साउन २६ गते राति फोन गरेर उनले आफ्नो कोठामा बोलाएकी थिइन्।

प्रमिलाको कोठामा राति ११ बजे पुगेका दिनेश त्यहीँ ट्रयापमा परेका थिए। दुवै जना कोठामा भएको अवस्थामा प्रमिलाका साथीहरु पुगेर दिनेशलाई पक्राउ गरेका थिए। 

प्रहरीका अनुसार उनीहरुले दिनेशलाई पक्राउ गरेर हाम्रो चेलीबेटीलाई के गरेको भन्दै धम्क्याएका थिए। आफूहरुले भनेको नमाने जिल्ला प्रहरी कार्यालय दाङमा बलात्कारको मुद्दा लगाउने धम्की दिएका थिए। 

उनीहरुले सुरुमा प्रमिलालाई एउटा घडेरी पास गरिदिनु पर्ने बताएका थिए। तर दिनेशले घडेरी छैन भनेपछि उनीहरुले धम्क्याएर एक लाख रुपैयाँ नगद लगेका थिए। बाँकी २/२ लाख रुपैयाँको चेक काटिदिएका थिए। अर्को चेक ७ लाख २० हजार रुपैयाँको गरेर १२ लाख २० हजार रुपैयाँ लगेका थिए।

उनीहरुले बेनीमानीपूर्वक आपराधिक लाभ लिएको भन्दै प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा रोल्पाको परिवर्तन गाउँपालिका ५ का ४० वर्षीय दिलिप कुमार वली, दाङको घोराही उपमहानगरपालिका १० नारायणपुरकी ३२ वर्षीया पवित्रा डाँगी, सोही ठाउँकी ३२ वर्षीया बिमला डाँगी, २९ वर्षीया शान्ता नेपाली र २२ वर्षीया प्रमिला नेपाली रहेका छन्। 

आपराधिक लाभसम्बन्धी कसुरमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .