ad ad

अपराध


डिभोर्सको अघिल्लो रात अंश विवादले गयो श्रीमान–श्रीमतीको प्राण

डिभोर्सको अघिल्लो रात अंश विवादले गयो श्रीमान–श्रीमतीको प्राण

उजिर कार्की
साउन ९, २०७९ सोमबार २२:४२, काठमाडौँ

चितवनको भरतपुर महानगरपालिका १० का कृष्णप्रसाद आचार्य र रुस्मा घिमिरेले सोमबार छोडपत्र गर्ने मिति तय गरिसकेका थिए। तर, छोडपत्र गर्न जाने अघिल्लो रात २० मिनेटको अन्तरमा दुवैको प्राण गयो।

असार ३१ गते जिल्ला प्रहरी कार्यालय चितवनमा छोडपत्र गर्ने सहमति गरेर रुस्मा र कृष्ण घर फर्किएका थिए। उनीहरुका बीचमा जायजेथाको भागबण्डामा कुरा मिलेको थिएन। अन्ततः मन नमिल्दा सम्बन्ध टुटाउने सहमति गरेका उनीहरुका लागि सम्पत्तिको यही विमति नै बन्यो प्राण छुटाउने कारण।

चितवन प्रहरी कार्यालयका डीएसपी नरहरि अधिकारीका अनुसार रुस्माको हत्या गरेर कृष्ण चारतल्ले घरबाट हामफालेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

आइतबार रातको करिव १० बजेको थियो। स्थानीयले जिल्ला प्रहरी कार्यालयमा फोन गरेर एकजना मान्छे सडकमा लडिरहेको जानकारी दिए।

जिल्ला प्रहरी कार्यालयको टोली पुग्दा स्थानीय जम्मा भइसकेका थिए। घर अगाडि सडकमा लडिरहेका ४३ वर्षीय कृष्णप्रसाद आचार्य भएको खुलिसकेको थियो। टाउकोमा गम्भीर चोड लागेर बेहोस भएका उनलाई प्रहरीले हत्तपत्त चितवन मेडिकल कलेज पठायो।

घरमा आमालाई बाबुले खुकुरी हानेको तर, ११ वर्षीया छोरीले प्रहरीलाई सुनाइन्। प्रहरी घरभित्र पस्यो। घरको दोस्रो तलामा रुस्मा बेहोस अवस्थामा ढलिरहेकी थिइन्। बैठक कक्ष रगताम्य थियो।

दोस्रो तलामा रगताम्य ढलेकी ३५ वर्षीया रुस्मालाई प्रहरीले पुरानो मेडिकल कलेजमा पठायो। तर, १० बजेर ४० मिनेटमा रुस्माको मृत्यु भएको अस्पतालले घोषणा ग¥यो।

त्यसको २० मिनेटपछि ११ बजे कृष्णप्रसाद पनि मृत घोषित भए।

छोरीले मागिन् गुहार
चारतले घरको भुईँतला र पहिलो तलामा भाडामा लगाइएको थियो।  भाडामा बस्नेहरुले घटनाबारे प्रहरी पुगेपछि मात्रै थाहा पाए।

वडा नं १० का वडाध्यक्ष परमेश्वर खनाल घटनाबारे सुनाउँदै भन्छन्, ‘सांसद कृष्णभक्त पोखरेल, म र प्रहरी सँगैजसो घरभित्र पसेका थियौं। तल्लो तलामा बस्नेले पनि थाहै पाएका रहेनछन्।’

त्यो घर नजिकै छ सांसद पोखरेलको घर। घटनापछि उनैले वडाध्यक्ष खनाललाई बोलाएका हुन्। सांसद पोखरेललगायतलाई ११ वर्षीया छोरीले गुहार मागेकी थिइन्। शायद सधैंजसोको झगडाले छोरी दिक्दार हुँदै आएकी थिइन् ।

बुबाले आमालाई काटेको उनले देखेकी थिइन्। तर, आमालाई काटेर बुबा कहाँ गए भन्ने उनलाई पत्तो थिएन।​ 

विदेशबाट आएकै रात कुटपिट
कृष्णप्रसाद करिव दुईमहिना पहिले साउदीबाट फर्किएका थिए। श्रीमान ६ वर्ष साउदी बसेर फर्किँदा पनि रुस्मालाई पूर्वजानकारी थिएन। उनी श्रीमतीलाई जानकारी नै नदिई आइपुगेका थिए।

घर आइपुगेकै रात उनले रुस्मालाई अर्कै पुरुषसँग नाम जोडेर कृष्णले कुटपिट गरे।

विदेशबाट आएर कुटपिट गर्न र घर छाडेर जान चेतावनी दिएपछि रुस्मा जिल्ला प्रहरी कार्यालय पुगिन्। असार ३ गते उनी पहिलो पटक श्रीमानविरुद्ध उजुरी लिएर प्रहरी कार्यालय पुगेकी थिइन्।

प्रहरीले कृष्णलाई पनि प्रहरी कार्यालयमा बोलायो। दुबैलाई मिलेर बस्न सम्झायो। आइन्दा झगडा नगर्न सहमति गराउने प्रयास ग¥यो। तर उनीहरुले सँगै बस्न नसक्ने बताए।

दुबैतर्फका आफन्तलाई समेत झिकाएर गरिएको त्यस दिनको छलफल निचोडमा पुगेन। फेरि १७ गते छलफल गरेर टुंगोमा पुग्ने र त्यतिञ्जेल छुट्टाछुट्टै फ्ल्याटमा बस्ने सहमति गरेर उनीहरु फर्किए।

दोस्रो तलामा छोरीसँगै रुस्मा बसिन् । तेश्रो तलामा कृष्ण बसे।

फेरि प्रहरीमा हारगुहार
छुट्टाछुट्टै बसे पनि कृष्णले श्रीमतीलाई यातना दिन छाडेनन्। रुस्मा फेरि आफूमाथि कुटपिट भएको गुनासो गर्दै प्रहरी कार्यालय पुगिन्। तर, प्रहरीले अब असार १७ गते नै छलफल हुन्छ भन्दै त्यतिन्जेल बस्न सल्लाह दिएर पठायो।

सुरुबाटै दुबैजना डिभोर्स गर्ने कुरामा सहमत थिए। दुवै सँगै बस्न तयार थिएनन्।

प्रहरीले दिएको असार १७ गतेको समयमा दुवैजना फेरि जिल्ला प्रहरी कार्यालयमा पुगे।

त्यसदिन रुस्माका आफन्तहरु जान सकेनन्। अर्को छलफलको मिति असार ३१ गतेलाई तोकियो। त्यसदिन भने दुवैका परिवारजनसहित जम्मा भए।

त्यसदिनको छलफलमा डिभोर्स गर्ने सहमति भयो। दुवैका परिवारको रोहवरमा उनीहरु अब प्रक्रिया मिलाएर जायजेथा भागबण्डा गरेर छोडपत्र गर्न अदालत जाने सहमति गरेर फर्किए।

अंशबण्डामा विवाद
मृतकका छिमेकीसमेत रहेका वडा सदस्य निरबहादुर लामा भन्छन्, ‘सोमबार (आज) डिभोर्स गर्न अदालत जाने तय गरेका रहेछन्। तर, उनीहरुका बीचमा सम्पत्तिमा कुरै मिलेनछ।’

कृष्णले श्रीमतीलाई १० लाख रुपैयाँ र जय मंगलामा रहेको घडेरी दिने कुरा गरेका थिए। रुस्माले भने अहिले बस्दै आएको घर दाबी गरेकी थिइन्।

घर दिन कृष्ण तयार भएनन्। १० लाख रुपैयाँ र घडेरीमा रुस्मा मानिनन्। घर नदिए अदालतमा दाबीसहित निवेदन दिने उनले तयारी गरेकी थिइन्। तर, त्यसअघि नै कृष्णले खुकुरी प्रहार गरेर श्रीमतीको प्राण लिए।

रुस्मा स्थानीय विद्यालयमा पढाउने शिक्षिका हुन् ।

कृष्ण भागेका थिए कि, आत्महत्या ?
रुस्मालाई खुकुरी प्रहार गरेपछि कृष्णले आफू बस्दै आएको तेस्रो तलाबाट हामफालेको स्थानीयको भनाइ छ। आमालाई काटेर बाबु माथ्लो तलामा चढेको छोरीले पनि देखेकी थिइन्।

तर, एकैछिनमा तल हल्लाखल्ला मच्चियो। कृष्ण घर अगाडि सडकमा खसे।

प्रहरी र स्थानीय उनले आत्महत्या नै गरेको भन्ने शंका गर्छन्। चितवनका प्रहरी प्रवक्तासमेत रहेका डीएसपी अधिकारी कृष्णले आत्महत्या नै गरेको हुन सक्ने प्रारम्भिक अनुमान लगाउँछन्।

अधिकारीले नेपालखबरसँग भने, ‘अहिले नै यही हो भन्ने अवस्था त छैन। दुवैको मृत्यु भइसकेको छ। आत्महत्या भएको अनुमान पनि गर्न सकिन्छ, भाग्न खोजेको पनि हुन सक्ने भो। तर उसलाई खेद्ने, पक्राउ गर्ने कोही पनि मान्छे नभएकाले आत्महत्या हो जस्तो देखिन्छ।’

डीएसपी अधिकारी अगाडि भन्छन्, ‘श्रीमतीलाई खुकुरी प्रहार गरेर भ¥याङबाटै तल जान सक्ने अवस्था पनि थियो। तर, त्यसो नगरी माथि चढेर हामफालेका छन्। भुईँमा सिधै टाउको बजारिएको छ, यस हिसावले हेर्दा आत्महत्या हो भन्ने देखिन्छ।’

वडाध्यक्ष खनाल पनि भाग्दा दुर्घटनामा परेको नभएर आत्महत्या नै गरेको हुनसक्ने अनुमान लगाउँछन् ।

‘भागेको होइन, हामफालेकै हो। भाग्नैपर्ने ठाउँ नै छैन । मैले पनि घर सबै हेरेँ’ वडाध्यक्ष खनालले भने, ‘माथिबाट सरर मुनिसम्म निस्कन सक्ने ठाउँ खुल्ला छ। म त राति नै त्यहाँ पुगेको हुँ। मुनिका डेरावाल मान्छे पनि हामी गएपछि उठेका हुन् ।’

यसैवीच, घटनाबारे निस्पक्ष अनुसन्धान गर्न रुस्माका माइती पक्षले प्रहरीलाई आग्रह गरेका छन्। सोमबार जिल्ला प्रहरी कार्यालयमा पुगेका उनीहरुले घटनामा अरु कसैको संलग्नता रहे नरहेको पनि बुझिदिन आग्रह गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .