निर्माण


म्याद सकिन तीन साता बाँकी, काम ४० प्रतिशत अधूरै

म्याद सकिन तीन साता बाँकी, काम ४० प्रतिशत अधूरै

नेपालखबर
मंसिर ५, २०८२ शुक्रबार १५:५०, काठमाडौँ

अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक-धुलिखेल सडकखण्डमा स्तरोन्नति कार्यअन्तर्गत पहिलो खण्ड साँगा-धुलिखेल सडक विस्तारमा ढिलाइ भएको छ। 

सडक विस्तार गरिसक्नुपर्ने समय तीन हप्ता मात्रै बाँकी छ। तर, सडक विस्तारको काम भने अझै ४० प्रतिशत बाँकी नै छ। तीन वर्षमा विस्तार कार्य सक्नेगरी भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेल सडकखण्डमा स्तरोन्नति कार्यअन्तर्गत पहिलो खण्ड साँगा-धुलिखेल आठ किलोमिटर सडकको विस्तार कार्यका लागि २०७९ मंसिर २७ गते सम्झौता भएको थियो। त्यो समयसीमा सकिन अब २१ दिन मात्रै बाँकी छ। 

सडकखण्ड विस्तार कार्यका लागि लामा कन्स्ट्रक्सन कम्पनी प्रालिले तीन वर्षभित्र सक्न चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा ठेक्का लिएको थियो। करीब तीन वर्षको अवधिमा ६० प्रतिशत मात्रै काम भएको सूर्यविनायक-धुलिखेल, धुलिखेल-सिन्धुली-बर्दिबास सडक आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले जानकारी दिए। यही मंसिर २६ गते पहिलो खण्डको विस्तार कार्यको ठेक्का म्याद सकिनेछ। 

सडकखण्ड विस्तारको ठेक्का म्याद सकिनै लाग्दा भने केही स्थानमा तीव्र गतिमा काम भइरहेको छ। केही स्थानमा अवरोधका कारण काम रोकिएको महिनौँ भइसकेको छ। हालसम्म धुलिखेल क्षेत्रमा करीब एक किलोमिटर सडक कालोपत्र भएको छ भने बनेपाको पुलबजार-जनागाल क्षेत्रमा कालेपत्र गर्ने काम भइरहेको छ। 

जनागाल, बाँसघारी-बुडोल, साँगा-भैँसेपाटी, बनेपा बजारलगायतका क्षेत्रमा हाल कामलाई तीव्रता दिइएको आयोजनाका इन्जिनियर खनालले जानकारी दिए। उनका अनुसार पुलबजार-जनागाल क्षेत्रको बनेपातर्फ दायाँतर्फ लम्बाई आठ सय मिटर र चौडाइ १० मिटर कालोपत्र सम्पन्न भइसकेको छ। बनेपाबाट साँगातर्फ बायाँ लेनको कालोपत्रको तयारी भइरहेको छ। 

यस्तै बाँसघारी-बुडोल क्षेत्रमा मेन लेनमा कटिङ र सर्भिस लेनमा ग्राभेल राख्ने काम भइरहेको छ। बनेपाको चाँदनी चोकमा कल्भर्ट राख्ने तयारी भइरहेको छ भने बनेपाको चण्डेश्वरी खोला क्षेत्रमा अहिले पर्खाल लगाउने, फिलिङ गर्ने काम चलिरहेको छ। साँगा-भैँसेपाटी क्षेत्रको ढुङ्गेधारामा अहिले कटिङको काम भइरहेको आयोजनाले जनाएको छ। 

पछिल्लो समय राजमार्गको पहिलो खण्डको विभिन्न स्थानमा विस्तार कार्यलाई तीव्रता दिइए पनि बनेपा-पुलबजार क्षेत्रमा भने करीब दश महिनादेखि दुई सय मिटर सडकखण्डको काममा भने सेन्टर लाइनको विषयलाई लिएर स्थानीय बासिन्दाले अवरोध गरेका छन्। अवरोधबारे नापी विभाग, स्थानीय जनप्रतिनिधि र स्थानीयबीच समन्वय गरी अवरोध हटाउन धेरै पटक छलफल भए पनि कुनै समाधनको विकल्प ननिस्किएपछि विवादित क्षेत्र छाडेर अन्यत्रको कामलाई तीव्रता दिएको आयोजनाका इन्जिनियर खनालले बताए। 

आयोजनाले सूर्यविनायकदेखि धुलिखेलसम्मको दुई खण्डमा करीब ५० प्रतिशत काम भएको जनाएको छ। साँगा-धुलिखेल पहिलो खण्डमा ६० प्रतिशत र सूर्यविनायक-साँगा खण्डमा भने ४२ प्रतिशत काम सकिएको आयोजना प्रमुख विजयकुमार महतोले जानकारी दिए। उनका अनुसार सूर्यविनायक-साँगा खण्डमा केही स्थानका ६ घर भत्काउन बाँकी रहेकाले भत्काउने प्रक्रियामा छ। 

सूर्यविनायक-धुलिखेल सडक विस्तार कार्यअन्तर्गत दोस्रो खण्ड सूर्यविनायक-साँगा ७.५ किलोमिटर विस्तारका लागि तीन अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा ठेक्का लगाइएको थियो। सडकखण्डको ठेक्का अवधि पनि आउँदो पुस १८ गते म्याद सकिँदै छ। ‘दुवै खण्डमा विस्तार कार्य सक्न म्याद थपेर आउँदो असार मसान्तसम्ममा काम सम्पन्न गर्नेबारे निर्माण व्यवसायीसँग छलफल भइरहेको छ,’ प्रमुख महतोले भने। 
साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि ६ लेनमा विस्तार थालिएको हो। (रासस)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad